लिमीवासीलाई कर्णाली सरकारको दुई सय क्वीन्टल खाद्यान्न


हुम्ला : खाद्यान्न समस्या देखिएको हुम्लाको लिमीवासीलाई कर्णाली प्रदेश सरकारले दुई सय क्वीन्टल खाद्यान्न उपलब्ध गराउने भएको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले तत्काललाई खाद्यान्न समस्या समाधान गर्न लिमीवासीलाई उक्त सहयोग उपलब्ध गराउने बताएका हुन् ।
मुख्यमन्त्री शाहीले नेपाली सेनाको हेलिकोप्टरबाट उक्त खाद्यान्न पठाउन लागिएको जानकारी दिए ।
उनका अनुसार सो खाद्यान्न प्रदेश सरकारले आफ्नै लगानीमा खरिद गरेर लिमीमा ढुवानी गर्नेछ । उनले खाद्यान्न ढुवानीका लागि नेपाली सेनासँग कुरा भएको र सेनाको हेलिकोप्टर मर्मत भई सञ्चालनमा आएलगत्तै लिमीमा खाद्यान्न ढुवानी हुने बताए । सोमबारसम्ममा सेनाको हेलिकोप्टर मर्मत भएर सञ्चालनमा आउने बताइएको छ ।
खाद्यान्न समस्या हुने देखिएपछि हिउँ छिचोल्दै सिमकोट पुगेका लिमीवासीले प्रदेश र संघीय सरकारलाई यो समस्या तत्काल समाधान गर्न आग्रह गरेका थिए । केही दिनअगाडि २७ सदस्यीय लिमीवासीको टोली चार हजार ६ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेक पार गरेर सिमकोट आइपुगेको थियो ।






