ढुवानीमा लापरबाही हुँदा गोदाममै थन्कियो दुर्गममा पठाउनुपर्ने चामल


सुर्खेत : हिजोआज हिमाली जिल्ला हुम्लामा खाद्यान्न संकट परेको छ । खाद्यान्न नपाएर स्थानीहरु चामल माग गर्दै काठमाडौंसम्म पुगेका छन् । प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा र नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङसहितको टोली काठमाडौं पुगेको छ ।
तर खाद्य तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाका लागि छुट्याएको झण्डै २० हजार क्वीन्टल चामल भने गोदाममै थन्किएको छ । चालु आर्थिक बर्षमा हुम्लामा मात्रै २० हजार ५० सय क्वीन्टल चामल ढुवानी गर्नुपर्ने छ ।
हुम्लाका विभिन्न क्षेत्रमा खाद्यान्न संकट हुन नदिन सुर्खेत, धनगढी र नेपालगञ्जबाट २० हजार क्वीन्टलभन्दा बढी चालम ढुवानी गर्नुपर्ने छ । तर चालु आर्थिक बर्षको चार महिना पुगिसक्दा पनि खाद्यान्न ढुवानी हुन सकेको छैन। खाद्यान्न ढुवानी हुन नसक्दा हुम्ला पु¥याउनुपर्ने झण्डै २० हजार क्वीन्टल अर्थात १९ हजार नौसय ५० क्वीन्टल चालम सुर्खेत, नेपालगञ्ज र धनगढीमै थन्किएको छ ।
चालु आर्थिक बर्षमा नेपालगञ्जबाट हुम्लामा हवाइ मार्गबाट चार हजार क्वीन्टल, स्थलमार्गबाट सातसय क्वीन्टल, बिक्री केन्द्र खार्पुनाथमा पाँचसय क्वीन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने छ । तर नेपालगञ्जबाट हुम्ला पुग्नुपर्ने एक किलो चामल पनि ढुवानी वर्षः २१ अंकः २१४ वि.सं. २०७८ मंसिर १२ आइतवार नेपाल संवत्ः ११४१, नवमी पृष्ठः ४ मूल्यः भएको छैन।
सुर्खेतबाट हुम्ला शाखामा हवाइ मार्गबाट ६ हजार क्वीन्टल र स्थलमार्गबाट सात सय, सर्केगाड डिपोमा एक हजार, बालुवा डिपोमा एक हजार, देउली बिक्री केन्द्रमा पाँचसय र छप्रेला विक्री केन्द्रमा एक हजार क्वीन्टल चामल ढुवानी गर्नुपर्ने छ । तर सुर्खेतबाट पाँचसय ५० क्वीन्टल खाद्यान्न मात्रै ढुवानी भएको छ ।
बाजुराको कोल्टीबाट श्रीनगर डिपोमा सातसय, धनगढीबाट श्रीनगर डिपोमा सातसय, बाजुराको मार्तडीबाट श्रीनगर डिपोमा पाँचसय गरेर कुल २० हजार पाँचसय क्वीन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने छ । तर चालु आर्थिक बर्षको चार महिनामा सुर्खेतबाट पाँचसय ५० क्वीन्टल चामल मात्रै ढुवानी भएको छ ।
जसमध्ये हुम्ला शाखाका एकसय ५० क्वीन्टल र श्रीनगर डिपोमा चारसय क्वीन्टल चामल मात्र पुगेको छ । बाँकी चामल भने खाद्य व्यवस्था, तथा व्यापार कम्पनी लिमिटेडका विभिन्न डिपोमा थन्किएका छन् । हुम्लामा मात्रै होइन, कर्णालीका अन्य जिल्लामा पनि खाद्यान्न ढुवानी हुन सकेको छैन ।
साविक कर्णालीका पाँच जिल्लामा बर्नेनि ४० देखि ५० हजार क्वीन्टल चामल आवश्यक पर्ने गर्दछ । ती जिल्लाहरुमा खाद्य संकट पर्न नदिन सुर्खेत सहित, नेपालगञ्ज, दाङ, धनगढी लगायतका स्थानबाट खाद्यान्न पु¥याइन्छ ।
तर कहिल्यै पनि समयमा खाद्यान्न ढुवानी हुँदैन । ढुवानीको जिम्मा लिएका कम्पनीले नै समयमै खाद्यान्न ढुवानी गर्दैनन् । यहीकारण हिमाली जिल्लामा खाद्यान्नको अभाव हुने गरेको हो ।
ठेकेदारले सम्झौता तोड्दा थप अन्यौल
हिमाली जिल्लामा खाद्यान्न संकट पर्ने खतरा छ । तर खाद्यान्न ढुवानी भने सहज रुपमा हुन सकेको छैन । हिमाली जिल्लामा ढुवानीको भरपर्दाे माध्यम हवाइजहाज हो । तर हवाइ उडान नहुँदा दश हजार क्वीन्टल खाद्यान्न सुर्खेत र नेपालगञ्जमा थन्किएको छ ।
‘मौसम खरावीका कारण हवाइ सेवा प्रभावकारी हुन सकेको छैन, यसले चामल ढुवानी हुन नसकेको हो’ सूचना अधिकारी रिजालले भने, ‘ढुवानीका लागि ताकेता गरिरहेका छौं, तर मौसम खराव र ठेकेदारले सम्झौता तोडिदिँदा ढुवानीमा समस्या भएको छ ।’ हुम्लामा ढुवानीको जिम्मा पाएका चार वटा ढुवानी कम्पनीले सम्झौता तोडेका छन् । सकेगाड , बालकना , देउली र छप्रेला बिक्री केन्द्रमा चामल ढुवानीको जिम्मा पाएका कम्पनीले सम्झौता तोडेका हुन् ।
ढुवानीकर्ताले सम्झौता तोडेपछि पुनः टेन्डर प्रक्रिया सुरु गरिएको छ । यस्तै जाजरकोटको रजुतार विक्री केन्द्र, हुम्लाको सर्केगाड डिपो, छप्रेला विक्री केन्द्र र बावुवा बिक्री केन्द्रमा ढुवानीको जिम्मा लिएका ठेकेदारलाई तत्काल ढुवानीका लागि ताकेता गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
रित्तिदै दुर्गमका गोदाम
समयमै चामल ढुवानी हुन नसक्दा खाद्यान्नका गोदामहरु रित्तिन थालेका छन् । हिमाली जिल्लामा अहिले थोरै मात्र खाद्यान्न स्टक रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका अनुसार सुर्खेत बाहेक कर्णालीका कुनै पनि जिल्लामा पर्याप्त खाद्यान्न छैन ।
खाद्य संकटमा रहेको हुम्लामा पनि दुई सय ५० क्वीन्टल र हुम्लाको श्रीनगर डिपोमा एक सय ६१ क्वीन्टल चामल मात्रै स्टक छ । त्यस्तै डोल्पा शाखामा चार सय क्वीन्टल, मुगु शाखामा तीनसय १३ क्वीन्टल, मुगुकै श्रीकोटमा चार सय ८५ क्वीन्टल, सोरुकोटमा एक सय क्वीन्टल र डोल्पाको साल्दाङमा एक सय ७० क्वीन्टल चामल मात्रै स्टक छ ।
त्यस्तै जुम्ला शाखामा नौसय ८७ क्वीन्टल, जाजरकोट शाखामा एक हजार सात सय १२ क्वीन्टल, दैलेखमा ६ सय ६५ क्वीन्टल र कालीकोटमा सातसय २३ क्वीन्टल चामल मौज्दात छ । खाद्यान्नको चरम संकट पर्ने जिल्लाका गोदामहरु रित्तिदै जाँदा सुर्खेत शाखामा भने पर्याप्त चामल छ ।
सुर्खेतमा रहेको गोदामामा हाल ११ हजार क्वीन्टल चामल रहेको कार्यालयका सूचना अधिकारी बासुदेव रिजालले जानकारी दिए ।






