सल्यानमा एक पुरूष मृत फेला

सल्यान : दार्मा गाउँपालिका–५ मा एक पुरुष मृत फेला परेका छन्। करिब ५० वर्षीय बमबहादुर खत्री शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बिहीबार बैंकमा पैसा निकाल्न भनी फारुला गएका खत्री अबेरसम्म घर नआएपछि रातिदेखि नै परिवारले खोजी गरेका थिए। शुक्रबार बिहान वडा नम्बर ५ कै साउनेखोलामा मृत फेला परेका हुन्।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। घटनाको विषयमा छानविन सुरु गरिएको उनको भनाइ छ।
गत असार १ मा पनि बैंकमा रकम झिक्न गएकी वडा नम्बर ५ गौतकी ३० वर्षीया खीमा खत्री पनि मृत फेला परेकी थिइन्। बैंकबाट रकम लिएर घर फर्किने क्रममा हराएकी उनी मृत फेला परेकी थिइन्। परिवारले बलात्कारपछि खीमाको हत्या भनी प्रहरीमा उजुरी दिएको छ। तर घटना भएको दुई महिना बित्दा समेत वास्तविकता सार्वजनिक हुन सकेको छैन।






