कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन निर्देशन

काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ।
मंगलबार बसेको समितिकाे बैठकले परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप व्यवस्था गरी भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। समितिकी सभापति जयपुरी घर्तीले स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरी भौतिक रुपमै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको बताइन्।
उनले भनिन, ‘इन्जिनियरिङ कलेजले ट्युसन शुल्कबाहेक अरु शुल्क पनि लिएको पाइएकाे छ, ती कलेजलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका छौं, ट्युसन शुल्क मात्रै लिन पाउनुपर्छ भनी सरकारलाई निर्देशन दिएका छौँ।’
गत साउन ३१ गतेदेखि शुरू गर्ने भनिएको कक्षा १२ को परीक्षा कोभिड संक्रमण दर पुनः बढेको भन्दै स्थगित गरिएको हो।






