महाकाली तुइन प्रकरण : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी

बैतडी : महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीलाई बैतडीमा पनि खोजी कार्य चलिरहेको छ। गत साउन १५ व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए।
मा भारतको बाटो भएर दार्चुला सदरमुकाम खलंगा आउने क्रममा महाकालीमा बेपत्ता रहेका जयसिंहको खोजीका लागि बैतडीमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। महाकाली नदी दार्चुला‚ बैतडी‚ डडेल्धुरा हुँदै कञ्चनपुर भएर बग्ने गर्दछ। बगेर बेपत्ता भएका जयसिंह बैतडीस्थित महाकाली नदी तटीय क्षेत्रमा पनि भेट्टिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको हो।
निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले भने, ‘महाकाली नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर खोजी गरिरहेका छौं।’
यसअघि घटनाको छानविन गर्न सरकारले गठन गरेको समितिले गत साउन २६ गते बैतडीमा जिल्ला सुरक्षा समितिको टोलीसंग छलफल समेत गरेको थियो। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित उक्त समितिले बेपत्ता रहेका जयसिंहको खोजतलासमा तीव्रता दिने विषयमा छलफल गरेको हो। साथै‚ उक्त समितिले सोही दिन बैतडीको महाकाली नदी किनारमा रहेको झुलाघाट क्षेत्रमा खोजतलास गर्न पनि पुगेको थियो।
बैतडीमा दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका महाकाली नदीसँग जोडिएका छन्। भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ। उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियमित रुपमा खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
बेपत्ता भएको २२ दिनसम्म पनि जयसिंहको अवस्था अज्ञात रहेको छ। घरपरिवारले भने जयसिंहको कुशको शव बनाएर अन्त्येष्टि गरिसकेका छन्। भारतको बाटो भएर सदरमुकाम खलंगा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुईन काट्दा जयसिंह बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन्। बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ड्रोन क्यामेरा प्रयोग गरिएको छ।
सरकारले घटनाको छानबिनका लागि साउन १७ गते सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी रहेका छन्।
साउन १९ गते दार्चुला पुगेको उक्त छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो। टोलीले घटनास्थलको नेपाल–भारत दुबैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो।






