एमालेले पठायो एमालेकै २२ सांसदलाई स्पष्टीकरण पत्र

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएको छ ।
एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले स्पष्टीकरण पत्र पठाइसकेको जानकारी दिए । ‘पार्टी अनुशासन उल्लंघन गरेकोले २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको छ,’ उनले भने, ‘पत्र उहाँहरुको हातमै चाहिँ परिसकेको छैन होला । पत्र लैजाने मान्छे कार्यालयबाट हिँडिसक्नु भएको छ ।’
यसअघि नै माधवकुमार नेपाल समूहमा खुल्दै आएका १४ सांसद र ओली समूहमा रहेका ८ सांसदले देउवालाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।
सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र सोध्ने निर्णय गरेको थियो । ओली समूहले कारबाही गर्ने तयारी गरेपछि नेपाल समूहले पनि आज छलफल गर्दैछ ।






