विप्लवको दौडधुप : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाडौं । ​खुला राजनीतिमा आएपछि पनि झण्डै पाँच महिनासम्म ‘गुमनाम’ बनेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्ला केही दिनयता राजनीतिक भेटघाटलाई तीव्र पारेका छन्।

असार ३० : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता।

असार ३१ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता।

साउन १ :  जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता।

साउन २ : आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग भेटघाट।

साउन ३ : एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साहसँग भेटवार्ता।

साउन ५ : एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सम्झौता गरेर भूमिगत राजनीति परित्याग गर्नुभएका चन्दको ओली सत्ताबाट बाहिरिएसँगै भइरहेको राजनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

पछिल्ला एक साताभित्र चन्दले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराई, आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साह, एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

राजनीतिक भेटवार्ता मूलतः सरकार र नेकपाबीच गत फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयनको अवस्था र वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रित रहेको प्रस्ट देखिएको छ।

विशेषतः प्रचण्डसँगको भेटमा चन्दले ओली नेतृत्वको सरकारसँग भएका सहमति शेरबहादुर देउवा नेतृत्वको सरकारले कुन ढङ्गले ग्रहण गर्छ भन्ने विषयमा कुराकानी गरेको बुझिएको छ।

नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले मुख्यतः दुई बुँदामा केन्द्रित रहेर राजनीतिक भेटवार्ता भएको बताए। सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन र वर्तमान राजनीतिक जटिलताको निकासका बारेमा महासचिव चन्दले छलफल गरेको बताए।

‘भेटवार्ताका क्रममा हामीले तीनबुँदे सहमति कार्यान्वयनमा भइरहेको ढिलाइबारे जिज्ञासा राख्यौँ, सहमतिको कार्यान्वयन गरौँ भन्ने विषयलाई जोड दियौँ’, उनले भने, ‘विभिन्न पार्टीका नेतासँग भएका भेटमा वर्तमान राजनीतिक घटनाक्रमबारे पनि छलफल भए।’

नेकपाले सरकारसँग प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवाद निर्माणका लागि बहस र छलफल चलाउने तीनबुँदे सहमति गरेको थियो। सोही सहमतिका आधारमा सरकारले नेकपाको गतिविधिमाथि लगाइएको प्रतिबन्ध हटाएको थियो।

सरकारसँग भएको सहमतिअनुसार पक्राउ परेका कार्यकर्ता रिहा नभएको भन्दै नेकपाले सहमतिको कार्यान्वयनमा आशंका व्यक्त गर्दै आएको छ। अझै पनि नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा थुनामा छन्।

‘अझै १२० भन्दा बढी हाम्रा कार्यकर्ता कारागारमा छन्’, नेता बाँस्तोलाले भने, ‘कार्यकर्ता रिहाइमा भएको ढिलाइ विषयमा पनि भेटमा छलफल भएको हो।’

मोहन वैद्यसँगै तत्कालीन नेकपा (एकीकृत माओवादी) फुटाएर अलग्गै पार्टीमा लाग्नुभएका चन्दको वैद्यसँगको सहकार्य पनि लामो समय जान सकेन। वैद्यको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न हुन नसक्ने भन्दै छुट्टै पार्टी बनाएर अगाडि बढे।

ओली नेतृत्वको सरकारले चन्द नेतृत्वको नेकपाको गतिविधि गैरराजनीतिक प्रकृतिको भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो।

वामपन्थी विश्लेषक श्याम श्रेष्ठ चन्दको भेटवार्ताको शृङ्खलालाई दुई कोणबाट हेर्नुपर्ने बताए। सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन र कार्यकर्ता रिहाइसँगै वामपन्थी एकताको सम्भावनाका विषयमा चन्दले छलफल गरेको हुनसक्ने उनको ठम्याइ छ।

‘विप्लव खुला राजनीतिमा आएपछि अब उहाँको बाटो के त?’ उनले भने, ‘डा भट्टराई, माधव नेपाल, प्रचण्डसँगको भेटवार्तामा के वामपन्थी मिल्न सक्छन् भन्ने विषयमा छलफल भएको हुनसक्छ।’

वामपन्थी एकताका लागि दाहाल, नेपाल र चन्दबीच कुराकानी भए पनि त्यसले मूर्त रुपमा पाउन कठिन देखिएको उनको भनाइ छ।

‘वैचारिक र सैद्धान्तिक छलफल गहिरोसँग गरेर, मिलनविन्दु पहिल्याएर, कामकारबाहीमा एकरुपता ल्याएर गरेको एकता टिकेको देखिन्छ, सैद्धान्तिक विषय नटुंगी भएका एकता टुटेका छन्’, श्रेष्ठले भने।

वामहरूको एकता तत्काल सम्भव नभए पनि गठबन्धन लामो समयसम्म टिक्न सक्ने उनको बुझाइ छ। विश्लेषक श्रेष्ठ माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र चन्द नेतृत्वको नेकपा बीचको ‘एलायन्स’ सम्भव देख्छन्।

‘चन्द सशस्त्र सङ्घर्षको बाटोमा हुनुहुन्थ्यो, सशस्त्र सङ्घर्ष त्यागेपछि उहाँको बाटो के त अब? त्यसो भएकाले यी तीन पक्षबीच गठबन्धन हुन सक्छ’, उनले भने, ‘तर पार्टी एकता हुन सक्दैन।’ रासस

विप्लवको दौडधुप : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

एमालेले पठायो एमालेकै २२ सांसदलाई स्पष्टीकरण पत्र

विप्लवको दौडधुप : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

राज कुन्द्रालाई हिरासतमा राख्न अदालतको आदेश, शिल्पा

Leave a comment

Your email address will not be published. Required fields are marked *