विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाडौं । तत्कालिन सरकारको सिफारिसमा जारी गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन्।
मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्तिको बाटो खुलाउन तत्कालिन सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुने व्यवस्था छ।
यसअघि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख विपक्षी दलको नेता तथा सभामुख उपस्थित नभएपछि सरकारले प्रमुख विपक्षी दलको नेता अनुपस्थित रहे पनि बैठकले निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेको थियो।







