‘एउटै घरमा बस्थ्यौं माया बसेको पत्तै भएन’

भनिन्छ नी, भाग्यमा लेखेपछि टार्न सकिदैन । अनि जन्म, मृत्यु र विहे मानिसको नियन्त्रणमा हुँदैनन् । जे हुन्छ, त्यही भोग्नुपर्छ । रोजेरै पनि जीवनसाथी सबैले पाउँदैन् । जीवन यात्राको क्रममा जम्काभेट भएकाहरुसँग पनि लगन जुर्न पुग्छ । यस्तै भयो दैलेखका नवराज विसी र कञ्चनपुरमा जन्मिएकी मैमिसरा चन्दको जीवनमा पनि । कलेज जीवनमा भेट भयो । सँगै पढ्न थालेपछि साथी बने । अनि माया बस्यो । एकअर्कासँग छुट्न नसक्ने भएपछि विहे गरे । अनि सँगै जीउन कसम खाए । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश :

कलेजमा चिनजान

नवराज दैलेखबाट पढाइको लागि सुर्खेत झरे । मैमिसरा पनि पढाइको लागि कञ्चनपुरबाट सुर्खेतमा आएकी थिइन् । उनीहरु एउटै कलेजमा पढ्ने साथी बने । वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतमा पढ्दै गर्दा उनीहरु दुबै जनाको चिनजान भयो । नवराज मानविकी संकायमा पढ्थेभने मैमिसरा व्यवस्थापन संकायमा पढ्थिन् ।

२०५३ सालमा नवराज र उनकी माइली दिदी डेरामा बस्थे । मैमिसरा पनि त्यही घरमा बस्थिन् । उनीहरु एकअर्कामा परिचित हुँदै गए । नवराजको दिदीसँग कुराकानी गर्नको लागि मैमिसरा कोठामा आउने गर्थिन् । दिदीसँगै कुरा गर्ने क्रममा उनीहरुबिचमा निकट भए । उनीहरुबिच नियमित कुराकानी हुन थाल्यो । शुरुमा नवराजले नै मैमिसरालाई बोलाएका थिए ।

प्रेम प्रस्ताव राखेको त्यो दिन

उनीहरुबिचमा नियमित कुराकानी र पढाइका विषयमा पनि कुराकानी हुन्थ्यो । उनीहरु एउटै घरमा बस्ने भएको हुँदा सधै कुराकानी भइरहन्थ्यो । एकअर्कामा सहयोग पनि गर्थे । नवराजले मैमिसरालाई विस्तारै मन पराउन थाले । मन पराएको कुरा भने उनले भन्न सकेका थिएनन् ।

आफुले मन पराएको कुरा भन्ने उनले मौका छोपेका थिए । उनले एकदिन बाटोमा हिँड्दै गर्दा प्रेम प्रस्तावको आशयको कुरा गरेको सुनेर मैमिसरा हेरेको हेर्यै भइन् । उनले पनि नवराजलाई मन पराएकी रहेछिन् । तर नवराजले भित्रि कुरा गरुन् भन्ने उनले चाहेकी थिइन् । अनि नवराजले ढुक्कले आफुले मन पराएको कुरा गर्दै प्रेम प्रस्ताव राखे । मैमिसराले पनि आफुले पनि मन पराएको बताइन् । उनीहरु प्रेमी प्रेमीकाको रुपमा व्यवहार गर्न थाले ।

परिवारलाई थाहा नदिएर विहे

उनीहरु एउटै घरमा बस्ने, एउटै कलेजमा पढ्ने भएको हुँदा नियमित भेटघाट र कुराकानी भइरहन्थ्यो । उनीहरु प्रत्येक दिन सँगै क्याम्पस जाने र आउने गर्थे । उनीहरुबिचमा सबै भविस्यका योजनाहरु बनाइसकेका थिए । एकदिन दुबै जनाले बिवाह गर्ने निधो गरे । यो कुरा दुबैको घरपरिवारमा जानकारी थिएन ।

घरपरिवारसँग जानकारी नै नदिएर उनीहरुले २०५४ साल साउन ५ गते भागेर बिवाह गरे । बिवाह हुँदा दुबै जना २० बर्षका थिए । उमेरले पनि करिब परिपक्क भइसकेका उनीहरु भागी बिवाह गरि दैलेख गए । उनीहरुले पिसिएल दोश्रो बर्षको अन्तिम परीक्षाको दिन नै बिवाह गरेका हुन् ।

विवाह पछिको संघर्ष

अन्तरजातीय बिवाह गरेकाले उनीहरुले संघर्ष धेरै गर्नुपर्यो । मैमिसराको परिवारले बिवाहलाई स्वीकार गरेनन् । त्यतीबेला टेलिफोनको सुविधा पनि राम्रो थिएन । बिवाह गरेर आएकी मैमिसरालाई माइतीमा पनि राम्रो नगर्ने र अर्काको ठाउँमा उनलाई बिरानो लाग्थ्यो । तर नवराज र नवराजको परिवारले धेरै मायाँ गर्थे ।

अनि सबैले नवराजको ससुरालीसँग कुराकानी गरेपछि त्यसपछि यो जोडीलाई सबैतर्फबाट सहयोग प्राप्त हुन थाल्यो । उता उनीहरुको क्याम्पसको परिणाम पनि आयो । २०५५ सालमा पुनः स्नातक तहमा पढ्न उनीहरु सुर्खेत झरे । क्याम्पस पढ्दापढ्दै २०५५ को माघमा उनीहरुको छोराको जन्म भयो । त्यसपछि घरको जिम्मेवारी, छोराको स्याहार सुसार गर्नुपर्ने मैमिसराको पढाइमा ब्रेक लाग्यो ।

नवराजको बुवाको जागिर हुँदा उनीहरुलाई धेरै आर्थिक संकट भने थिएन । तर छोराछोरी स्याहार सुसार अर्कोतिर आफ्नो पढाईसँगै पढाउने काम उनिहरुले धेरै संघर्ष गर्नुपर्यो । स्नातक तहको परिणाम नआउँदै २०५८ चैत्र २६ गते नवराजका बुवाको निधन भएपछिसंघर्षका जटिल दिनहरु सुरु भए । उनीहरु घरमै फर्किनु पर्यो । २०५९ साल तिर नवराज कालापहाड तिर गए ।

घर फर्किएपछि पढाउन थाले । २०६२ मा मैमिसराले भगवती प्राविमा राहत शिक्षकको रुपमा नियुक्ति पाएपछि सहज भयो । नवराज पनि झन्डै १२ वर्ष अध्यापन गरेर संघर्ष गर्दै अध्ययन कार्यलाई पनि अगाडी बढाए । अहिले उनी सामाजिक संस्थामा कार्यरत छन् । लामो संघर्षपछि उनीहरु अहिले भने सन्तुष्ट छन् । जीवनलाई सहज बनाएका छन् । उनिहरु दुबै जनाले उच्च शिक्षा हासिल गरेका छन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा जंगबहादुर विसी र विष्णुदेवी बुढाको कोखबाट विस २०३५ साल जेठ ९ गते दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर ४ तुर्सुमा नजराजको जन्म भएको हो । घरको काम गरेर उनी विद्यालयमा पढ्न जान्थे । उनी मिलनसार थिए । गाउँमा उनलाई असाध्यै अध्ययनशिल र मेहनती भनेर भन्ने गर्थे । गम्भिर स्वभावका उनी सबै काम गर्न जानेका थिए । सानो कक्षा भने उनले गाउँमै पढेका हुन । उनको बाल्यकाल सुखमय वित्यो ।

यता रतु चन्द ठकुरी र आमा धनादेवी चन्दको कोखबाट २०३४ कात्तिक १४ गते बेलौरी नगरपालिका कञ्चनपुमा मैमिसरा चन्दको जन्म भएको हो । उनको बाल्यकाल पनि सुखमयमै वित्यो । उनले पनि सानो कक्षा गाउँमै पढेकी हुन् । गम्भिर र सहयोगी स्वभावकी उनी मेहनती पनि थिइन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् ।

सानो सानो कुराहरु पनि सरसल्लाह गरेर काम गर्छन । अन्तरजातीय विवाह भएकै कारण दुवै जना केहि न केहि प्रेसर घर पट्टि र ससुराली पट्टि बाट भोगिरहेकै कारण हरेक काम गर्दा दुवै जना एक अर्काको सहकार्य र सहयोग विना कुनै काम गर्दैनन् ।

 

‘एउटै घरमा बस्थ्यौं माया बसेको पत्तै भएन’

YUGAAWHAN NATIONAL DAILY (2078-04-02)

‘एउटै घरमा बस्थ्यौं माया बसेको पत्तै भएन’

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *