जातीय विभेद कुलिनतन्त्रको अहंकार

राजाराम बर्तौला । आजभन्दा करिब दुई हजार वर्षअघि भारद्वाज ऋषिले जातप्रथाका समर्थक भृगु ऋषिलाई प्रश्न गरेका थिए्, ‘हामी सबै आरिस, डर, दुःख, चाहना, तृष्णा, भोक, चिन्ता र परिश्रमवाट प्रभावित छौं भने फेरि यो जातीय भिन्नता किन ?’ त्यसैगरी कियो विश्वविद्यालयका प्रध्यापक युकिची फुकुजावा भन्छन् कि इश्वरले व्यक्तिको सिर्जना गर्दा कोही पनि अरु कसैभन्दा तल या माथि हुने गरी गरेका छैनन् ।

यो विवाद आज पर्यन्त जारी छ । र नेपालमा यदाकदा घटित हुने घटनाले यो विवादलाई जीवन्त वनाएर सतहमा ल्याइदिन्छ । अहिले फेरि एकजना घरबेटीले दलित भन्दै घर भाडामा दिन नचाहेको कारणले हाम्रो सामाजिक विशेषता उदाङ्गिएको छ ।

आजसम्म पनि जातीय विषयमा विद्वान–विदुषीबीचको वादविवादले कुनै एउटा ठोस निष्कर्ष पाउन सकेको छैन । राज्यले कानुन निर्माण गरेर नियन्त्रण गर्न कोसिस गर्न सक्छ । तर मानिसको दिमागमा रहेको विभेदको प्रभावलाई हटाउन सक्दैन । यसको लागि विशेष प्रयास गरिनुपर्छ । मानिसहरूलाई भित्र मनैवाट छूवाछूत, उचनीच, र जातीय विभेद आधुनिक मानवीय सभ्यतामा एउटा कलंक हो भन्ने भाव सिर्जना हुनुपर्दछ । तब मात्र यस किसिमको मानसिक सोचबाट मुक्ति पाइन्छ ।

हिजो जात जानी विशेष पानी चल्ने नचल्ने, भात भान्सा, छोइछिटोको प्राधान्यता थियो भने ती आजका पुस्ताको लागि किंवदन्ति जस्तै बनिसकेका छन् । अतः समाज परिवर्तनको संघारमा छ भनेर अड्कल काट्न कठिन छैन । बाहिरी विश्वसँगको सम्पर्क, सम्बन्ध र अन्तक्र्रियाले गर्दा नेपालीहरूको चेतनास्तर बढेको छ । तर समाज अर्धसामन्ती युगमा नै रहेको हुँदा पश्चिमा समाजसँगको तुलनात्मक रुपमा पछौटे समाजका अवशेषहरू देखिएका हुन् ।

त्यसैले रुपा सुनारहरू आफ्नो अधिकार रक्षाको लागि, सभ्य र मानवोचित व्यवहारको लागि अड्डा अदालत धाउनु परेको हो । लोकतन्त्रमा मुलुकको संविधान नै धार्मिक ग्रन्थ हो । संविधान प्रदत्त नागरिकको मौलिक हक र अधिकारप्रति जनता आफंै पनि सजग हुनु आवश्यक छ । जातको कारणले घर भाडामा दिन अस्वीकार गरेको विषयलाई कानुनी उपचारको आधार बनाएकी रुपा सुनार, यो सजगताकी उदाहरण हुन् ।

रुपा सुनारले कुनै कुनै मिडियाले उनको थर ‘सुनुवार’ लेखेकोमा समेत आपत्ति प्रकट गर्दै आफू सुनार भएकोमा गर्व गरेकी छिन् । यसबाट के देखिन्छ भने संविधान प्रदत्त अधिकार लिन सचेत हुन जरुरी छ र सक्रिय हुन पनि । रुपालाई थाहा छ ‘सुनुवार’ जनजातिको थर हो, दलितको होइन । यो लडाइँ दलित हुनुको कारणबाट सिर्जित भएको हुँदा आफ्नो परिचय सगर्व स्थापित भएको हेर्न चाहन्छिन्, उनी ।

यहाँ‘निर गहन संकेत लुकेको छ जस्तो लाग्छ मलाई । त्यो के भने नेपालका दलितहरू आफ्नो नामसँग आउने थरको परिचयमा गर्व गर्दा रहेछन् । सनातनी संस्कारसँगको लगाव र संलग्नतामा यिनीहरूको विकर्षण नदेखिनु र आफ्नो संस्कारमा अटल रहनु एउटा प्रशंसनीय विशेषता हो ।

सनातनी रुपमा आएको समाजमा जरा गाडेर बसेको यस किसिमको सामाजिक विभेदको अन्त्य गर्न सामूहिक अभियानको आवश्यकता पर्दछ र यस काममा समाजका दलितहरूले कथित उपल्लो वर्ग भनिने ब्राम्हण क्षेत्रीको समेत समर्थन, सद्भाव र सहयोग लिन आवश्यक देखिन्छ । यसै पनि यो वैश्य युगमा ब्राम्हणहरूले न त धर्म शास्त्रको रक्षा गर्न समर्थ देखिएका छन् न त क्षेत्रीहरूले राजा, राज्य र जनताको रक्षा गर्न सामथ्र्य राखेका छन् । नेपालका ब्राम्हणहरू भारद्वाज ऋषिको भनाइ जस्तो लोभ, भोक, र तृष्णाको वशीकृत भएर फिरंगीको पैसाको चमकमा आफ्नो संस्कार, जात र धर्म बिक्री गर्दै धर्म परिवतर्न गरिरहेका छन् ।

अहिलेको यथास्थितिमा छिमेकी मुलुक भारतको सामाजिक अवस्था र नेपालको सामाजिक अवस्थालाई तुलनात्मक रूपमा हेर्दा जातीयताको आधारमा जति भेदभाव र छूवाछूतको चलन भारतमा छ, त्यसको तुलनामा नेपालमा मात्रात्मक रुपमा केही कम छ तर पूर्णरुपमा उन्मुलन भएको अवस्था छैन । अर्थात् अन्यत्र जे जस्तो अवस्था रहे पनि यो अमानवीय सामाजिक रीतिस्थितिको अवस्थामा तात्विक रुपमा फरक आएको भने छैन ।

जातीय भेदभावको जति नै ठूलो नारा दिएपनि संविधान र कानुनमा सजायको व्यवस्था गरे पनि समाजमा कुनै न कुनै रुपमा यो विद्यमान रहेको छ । जन्मको आधारमा जातीय वर्गीकरण, सामाजिक भेदभाव र सामाजिक वहिष्करणको विरुद्ध नेपालका राजनीतिक दलहरू नेपाली कांग्रेस र नेपाल कम्यूनिष्ट पार्टीहरूले २००७ साल देखि नै सामाजिक जागरणको अभियान चलाउँदै आएका हुन् ।

राजनीतिक व्यवस्थामा ठूल्ठूला परिवर्तन भए पनि सामाजिक विभेदको अवस्थामा भने खासै परिवतर्न आउन सकेको छैन । केही परिवर्तहरू देखिएको भएतापनि गर्व गर्न लायक परिवर्तनका सूचकांकहरू देखा पर्न सकेका छैनन् । समाजमा जातीय विभेद जडवत रहनुमा लोकतन्त्रको असल अभ्यास हुन नसक्नु प्रमुख कारण हो भने कुलिन वर्गीय अहंकार, सामन्ती सोचको प्रार्चुयता र राज्यको अधिनायकवादी चरित्र हाबी रहनु अरु सहायक कारणहरू हुन् ।

लोकतान्त्रिक गणतन्त्रको आगमनसँगै समाजमा विद्यमान बेथिति र कुरीतिहरू समूल नष्ट हुनेछन् र समानता र सामाजिक न्यायमा आधिकारिक एउटा सबल र धवल नवयुगको थालनी हुने जनविश्वासमा ठेस लागेको छ । त्यो पनि चार्वाक प्रवृति भएका जनवादी भन्न रुचाउने, द्वन्द्वात्मक भौतिकवादमा आस्था राख्ने साम्यवादी पार्टीको शासन सत्ता भएको अवस्थामा जातीय विभेदलाई प्रश्रय दिइएको घटनाहरू देखिनु दुःखद छ ।

भन्नु परेन साम्यवादको रटान गर्ने, जनवर्गीयहितको वकालत गर्ने, जनसत्ताका पक्षपोषक सत्ता आरोही माननीय मन्त्रीबाट सामाजिक विभेदको आरोपमा कानुनी कारबाहीको लागि गिरफ्तारीमा रहेको व्यक्तिलाई शासकीय शक्तिको रोहबरमा प्रहरी हिरासतवाट मुक्त गरी आफ्नै संरक्षणमा राखिन्छ तब भन्नुपर्ने हुन्छ, हात्तिको देखाउने दाँत र चपाउने दाँत फरक हुनेरहेछ । जातीय उत्पीडनमा मुकदर्शक भएर बस्ने अनि पशुपतिमा सुन चढाउने र रामको मन्दिर निर्माण गर्न उद्यत हुनेहरूको शासकीय कलाकारिता मौसमी बाजा सरह भएको छ ।

हाम्रो समाजले सार्वजनिक स्थानमा गरिने विभेदलाई हदसम्म न्यूनीकरण गरेको भए पनि व्यवहारमा यदाकदा देखिन्छन् । विभेदको घाउ कति गहिरो हुन्छ र यस्ले व्यक्तिको आत्मसम्मान, र विकासमा कत्रो चोट पार्दछ भन्ने कुरो सदियौंदेखि समाजको वहिष्करणमा परेका दलितलाई सोध्दा थाहा हुन्छ । सामाजिक विभेदको सिकार भएकाहरूले सदियौंदेखि अनन्त चोटको पीडा भोगेर–सहेर आएका छन् । यही पछौटेपनबाट समाजलाई अगाडि ल्याउन सकारात्मक प्रयत्नहरू गरिनु आवश्यक छ ।

लोकतन्त्रले मात्र व्यक्तिभित्र रहेको असीमित उर्जाको सम्भावनालाई फक्रने र फुल्ने अवसर प्रदान गर्न सक्छ । तसर्थ राज्यले दलितहरूको क्षमता विस्तारको लागि कार्यक्रमहरू ल्याएर सक्षम बनाउनु पर्दछ । आर्थिकरुपमा र वौद्धिकरुपमा सक्षम भएपछि व्यक्तिले आफ्नो प्रतिभा खुलेर देखाउन सक्षम हुन्छ । हामीलाई आजको खाँचो भनेको आर्थिक, सामाजिक र वौद्धिकरुपमा सवल राष्ट्र हो, जुन नागरिकहरूबीचको आपसी भाइचारा, सद्भाव, सदाचार र सम्यक व्यवहारले प्रदान गर्न सक्दछ । संस्कारले मात्र द्विज भइन्छ । जन्मले त सवै शुद्र हुन् भनेर हाम्रो शास्त्रले नै भनेपछि सनातनी हामीले, र हाम्रो सरकारले नागरिकहरूलाई सभ्य, शिष्ट, शालिन र संस्कारी बनाउनको लागि शिक्षा क्षेत्रमा ठूलो लगानी गर्न आवश्यक छ ।

जातीय विभेद कुलिनतन्त्रको अहंकार

शिक्षकको लोभलाग्दो फलफुल खेती

Leave a comment

Your email address will not be published. Required fields are marked *