भारतमा अक्सिजन अभाव : आन्ध्र प्रदेशमा फेरि ११ जनाको मृत्यु

एजेन्सी | भारतको आन्ध्र प्रदेशस्थित एक अस्पतालमा अक्सिजन अभाव हुँदा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना महामारी फैलिएर भयावह स्थिति निम्तिएको भारतमा यतिखेर संक्रमित बचाउन अत्यावश्यक औषधि र अक्सिजन अभाव भइरहेको छ।

तिरुपतिस्थित रूइया अस्पतालमा गएराति अक्सिजन सकिएको थियो। अस्पतालभित्र अक्सिजनको सहायतामा उपचार लिइरहेका संक्रमितहरूको ज्यान गएको हो। ती सबै संक्रमित अस्पतालको आइसीयू वार्डमा थिए।

अस्पतालका सुपरिटेन्डेन्ट डा.भारतीले अक्सिजन सकिँदै गएपछि भेन्टिलेटरमा राखिएका संक्रमितको ज्यान गएको जानकारी दिएकी छिन्‌।

​अक्सिजन सिलिण्डर भर्न पाँच मिनेट ढिलाइ हुँदा संक्रमितको ज्यान गएको चित्तूर जिल्लाका अधिकारी हरि नारायणनले बताएका छन्‌। अस्पतालमा अक्सिजन कमी नभएको, तर व्यवस्थापन नमिलाउँदा समस्या भएको उनले जानकारी दिएका छन्‌।

​ट्यांकरबाट सिलिण्डरमा अक्सिजन भर्दासम्म ११ जना संक्रमितको ज्यान गएको अस्पतालका चिकित्सकहरूले बताएका छन्‌ । आन्ध्र प्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले अक्सिजन अभावमा संक्रमितको ज्यान गएको घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका छन्‌ । ​यसअघि पनि भारतका विभिन्न अस्पतालहरूमा अक्सिजन अभाव हुँदा सयौं संक्रमितले ज्यान गुमाइसकेका छन्‌ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *