मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाद्वारा स्वीकृत

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री देउवाले हमालको राजीनामा स्वीकृत गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि हमालले आज विहान प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ । ‘’ सचिवालयका एक सदस्यले भने, ‘अब रिक्त मन्त्रालयको सूचना राष्ट्रपति कार्यालयमा पठाउने तयारी छ ।’ रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राख्ने सचिवालय सदस्यले जानकारी दिए ।
आइर्तबार विहान प्रधानमन्त्री देउवालाई पत्र बुझाउँदै हमालले चरित्र हत्या गर्न लागेकाले राजीनामा दिएको बताएका थिए । हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।






