म झ्यालबाट होइन, असाधारण जनमतसहित फेरि प्रवेश गर्छु : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि असाधारण जनमत सहित आफू सत्तामा प्रवेश गर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले भने, ‘फेरि पनि असाधारण जनमत सहित प्रवेश गर्छु। जालझेलबाट होइन। मलाई राम्रो ग्रहदशामा बनाएको होइन। मेरो काम हेरेर जनताले मत दिएर बनेको हो। म विभिन्न पार्टीका नेताहरुको ईर्ष्या, जलन कुण्ठाले प्रधानमन्त्री भएको होइन।’
प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गर्दै जाली मुद्धा र परमादेशबाट नभएकाले आफू जनमतबाट प्रधानमन्त्री बनेको बताए।
पहिलो कार्यकालबाट बाहिरिँदै गर्दा पनि आफूले फेरि असाधारण जनमतसहित फर्कन्छु भनेको स्मरण गर्दै ओलीले फेरि त्यहि परिस्थितिबाट आउन सक्ने जिकिर गरे। अलोकतान्त्रिक गठबन्धनको सरकारले एक महिना बितिसक्दा समेत बधाईको रोइलो गरिरहेका उनकाे आरोप थियो।
प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीको नभएर अलोकतान्त्रिक गठबन्धनतर्फ देश जान थालेको बताए। देउवाले एक महिना खेर फालि सकेकाले अझै १४/१५ महिना बधाई र शुभकामनाको लहर चल्ने भन्दै उनले व्यंग्य गरे।
उनले व्यङ्ग्यात्मक रुपमा भने, ‘प्रतिपक्षलाई गाली गरेर नबस्नुहोस्, तपाईंहरुको कार्यकाल भोटोको फेर समातेर नाच्दानाच्दै सकिने भयो।’






