भारतमा ६५ नेपाली डाक्टर १ वर्षदेखि बिना तलब काम गर्दै, तलब दिलाइदिन मोदीलाई पत्र
काठमाडौं । भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)का प्रशिक्षार्थीको रुपमा कार्यरतसहित ६५ जना नेपाली डाक्टरहरुले १ वर्षदेखि तलब पाएका छैनन् । अब ती डाक्टरहरुलाई पारिश्रमिक दिलाइदिन आग्रहसहित संस्थानको आवासीय डाक्टर संघ (आरडीए) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेको छ ।
‘एम्स नयाँ दिल्लीमा कार्यरत यी सबै ६५ जना विदेशी डाक्टरहरुले आफ्नो क्लिनिकल ड्युटीभन्दा धेरै र माथि उठेर २०२० को मार्चदेखि कोभिड ड्युटी पनि गरिरहेका छन् । उनीहरुले यी जिम्मेवारीहरु पूरा गर्ने क्रममा आफ्नो ज्यान जोखिममा पारिरहेका छन्’ आरडीएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रमा लेखिएको छ ‘जुलाइ २०१८ मा दिइएको प्रस्ट निर्देशनपछि पनि उनीहरुलाई एक पैसा पनि दिइएको छैन ।’
आरडिएले पत्रमार्फत २०१८ मा लेखिएको एक पत्रको स्मरण गराएको छ जुन पत्रमा प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीलाई नेपाली डाक्टरहरुको पारिश्रमिक निकासीका सम्बन्धमा सबै समस्याहरु भारत सरकारले हेर्ने विश्वास दिलाएका थिए । संघले २०१८ को मध्यमा विदेश मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई यस विषयमा ठोस प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशनसहितको सूचना दिएको पनि उल्लेख गरेको छ ।
हिन्दुस्तान टाइम्स मिडिया ग्रुपको आर्थिक अखबार मिन्टका अनुसार एम्स नयाँ दिल्ली, पोस्ट ग्रयाजुएट इन्स्टिच्युट (पीजीआइ) चण्डिगढ र जवाहरलाल इन्स्टिच्युट अफ पोस्टग्रयाजुएट मेडिकल एजुकेसन एण्ड रिसर्च (जेआइपीएमइआर) पुडुचेरीमा रहेका १ सय ५१ नेपाली डाक्टरहरुमध्ये र्एम्समा काम गरिरहेका ६५ नेपाली डाक्टरहरुले अझै पारिश्रमिक पाएका छैनन् ।