जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा, फेडेरर पराजित

काठमाडौं । नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता जोकोभिचले हंगेरीका मार्टन फुक्सोविसलाई पराजित गरेरअन्तिम चारमा स्थान बनाएका हुन् ।
जोकोविचले मार्टनलाई ६–३, ६–४ र ६–४ को सेटमा पराजित गरेका हुन्। सर्बियन जोकोभिचले १० औँ वरियताका डेनिस शापोभालोभसँग शुक्रबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
क्यानडियन डेनिसले २५ औँ वरियताका रुसी खेलाडी करेन खचानोभलाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । फाइनल जितेमा उनले रोजर फेडेरर र राफायल नाडालको सर्वाधिक ग्राण्डसलामको कीर्तिमानमा बराबरी गर्ने छन् ।
बुधबार नै भएको खेलमा रोजर फेडेरर भने पराजित भएका छन्। स्विस खेलाडी क्वाटरफाइनलमा हुबर्ट हुरकाजको हातबातसँग सिधा सेटमा पराजित भएसँगै नवौँपल्ट विम्बल्डन जित्ने रोजर फेडेररको सपना समाप्त भएको छ ।
सेमिफाइनल प्रवेशका लागि भएको खेलमा हुरकाज ६–३, ७–६ र ६–० ले विजयी बने। २० पटकका ग्रान्डस्लाम विजेता फेडेररले अल इंग्ल्यान्ड क्लबमा कुनै सेट शून्यमा गुमाएको यो पहिलो पल्ट हो ।






