नौ हजारले लगाए कोरोनाविरुद्धको खोप

सुर्खेत २६ माघ, कर्णालीमा नौ हजार चारसय २० जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात दुई हजार तीनसय ४० जनाले यो खोप लगाएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै पहिलो चरणमा दैलेखमा एक हजार चारसय ८३ जना, जुम्लामा एक हजार ४० जना, सल्यानका एक हजार दुई जनाले खोप लगाएका छन् । त्यस्तै रुकुमपश्चिममा आठ सय ५०, कालिकोटमा आठसय जना, जाजरकोटका ६ सय ७३ जना, हुम्लामा चारसय ८५ जना, मुगुका चारसय १७ र डोल्पाका तीनसय ३० जनाले खोप लगाएका हुन् । 
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणको खोप लगाएकालाई अबको चार हप्तापछि दोस्रो चरणको खोप दिने तयारी गरिएको छ । पहिलो चरणमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारीहरू, एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइमा संलग्न कर्मचारीहरू, वृद्धाश्रममा रहेका तथा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई लगाइएको थियो । पहिलो चरणको खोप अभियान सकिएसँगै अब दोस्रो चरणका लागि तथ्याङक संकलन थालिएको निमित्त स्वास्थ्य निर्देशक डाक्टर रविन खड्काले जनाए ।
पहिलो चरणका लागि कर्णालीमा ११ हजार सातसय ८१ जनामा खोप लगाउने लक्ष्य राखिएको थियो । तर लक्ष्यभन्दा झडै दुई हजार कमलाई खोप लगाइएको छ । कोरोनाको अन्त्यका लागि खोप अनिवार्य भए पनि भौगोलिक विकटता, प्रचार–प्रसारको अभाव र केही व्यक्तिलाई खोप दिन नमिल्ने भएका कारण शतप्रतिशतलाई खोप लगाउन नसकिएको प्रदेश अस्पताल सुर्खेतका डाक्टर प्रदीप न्यौपानेले बताएका छन ।






