कार्यान्वयन भएन वीरेन्द्रनगरका सडकलाई ‘वान वे’ बनाउने योजना

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा जनघनत्व बढेपछि अव्यवस्थित बनेका सडक, बढ्दो सवारी साधनको चाप, सडकमा हुने दुर्घटना र ट्राफिक व्यवस्थापनलाई सहज गर्ने उद्देश्यले एक बर्षअघि नै मुख्य सडकलाई वान वे बनाउने योजना बनाइएको थियो । तर उक्त योजना हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन ।
असोज, २० सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर । सरकारी सेवा र भौतिक पूर्वाधारको सुविधा उपलब्ध हुने आशमा जनघनत्व बढ्दो छ । बाहिरबाट बस्ती आउनेको संख्या बढेपछि वीरेन्द्रनगरमा मानिसहरुको संख्या मात्र बढेको छैन, सवारी साधनको चाप पनि थेग्न नसक्ने अवस्थामा पुगेको छ ।
सवारी साधनको संख्या बढेका कारण नगरभित्र सवारी साधनको व्यवस्थापन र सडकमा हुने दुर्घटनाको जोखिम पनि बढ्दो छ ।
नगरको मुख्य बजार क्षेत्रमा पनि वीरेन्द्रनगरको मंगलगढीचोकदेखि– गणेशचोकसम्म सवारी साधनको आवतजातमा सबैभन्दा बढी सास्ती हुन्छ । यस्तै पछिल्लो समय बजार क्षेत्रका भित्री सडकहरु यरिचोक– वीरेन्द्रनचोक, नेताचोक–वुद्धपथ लाइन र हटिया लाइनमा सवारी साधनका कारण पटक–पटक सडक नै जाम हुने समस्या बढेको छ । ठूला सवारी साधन (बस र ट्रक) हरु भित्री सडकमा पास हुनसक्ने अवस्था छैन ।
यही समस्या समाधान गर्नका लागि वीरेन्द्रनगरका व्यस्त सडकलाई वान वे अर्थात एकतर्फी मात्र सवारी साधन चलाउन पाउने व्यवस्था गर्ने योजना अगाडि सारिएको थियो । तर हाल उक्त योजना नै अलपत्र परेको छ । नगरका व्यस्त र दुर्घटनाको जोखिम भएका सडकमा वान वे बनाउने योजना कार्यान्वयन नहुँदा सवारी साधनको व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा चुनौती थपिएको हो ।
नगरभित्र रहेका साँघुरो सडकका कारण सवारी साधनको दुर्घटना पनि बढ् दो छ । मुख्य सडकहरुमै पैदय यात्रीलाई आवाज–जावत गर्दा सास्ती भोग्नुपर्छ । ट्राफिक लाइट र जेब्राक्रस पनि व्यवस्थित छैनन् । प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा सवारी साधनको चाप बढिरहँदा नगरका सडक भने अस्तव्यस्त बनेका छन् । सडकमा रहेका फुटपाथ अतिक्रमण भएका छन् । पार्किगं नहुँदा साँघुरा सडकमै सवारी साधन रोक्ने गरिएको छ ।
यसले पनि नगभित्र र मुख्यगरी मानिसहरुको भीड हुने बजार क्षेत्रको ट्राफिक व्यवस्थामा चुनौती थपिएको हो । अव्यवस्थित सडक, बढ्दो सवारी दुर्घटना र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले एक बर्षअघि नै वीरेन्द्रनगरका मुख्य सडकलाई (वान वे अर्थात एकतर्फी मात्र गाडी संचालन गर्ने योजना बनाइएको थियो । तत्कालिन ट्राफिक प्रहरी प्रमुख उदयसिंह सिजापति, यातायात व्यवसायी, वीरेन्द्रनगरन नगरपालिका र जिल्ला चरणमा मंगलगढी चोकदेखि वीरेन्द्रचोकसम्म एकतर्फी (वान वे आवागमन गराउने योजना अगाडि सारेका थिए ।
उक्त योजना अनुसार हटियालाइन, सिर्जना मेडिकल हलदेखि दक्षिणतर्फको बाटो, शनिहललाइन, वुद्धपथबाट नेताचोक हुँदै बिचबजार भएर मंगलगढीतर्फ फर्कन नपाउने र बजारबाट मंगलगढी चोक जान वीरेन्द्रचोकबाट घुमेर यरिचोक वा पिपल चौतारी, वुद्धपथ, गोदामलाइन भएर जानुपर्ने रणनीति थियो । तर एक बर्षअघि तयार भएको मुख्य सडकलाई वान वे बनाउने त्यो योजना भने अहिले अलपत्र परेको छ ।
ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना बढिरहँदा साँघुरा सडकलाई वान वे बनाउन नसक्दा वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ । यसतर्फ भने कसैलो चासो दिएका छैनन् । बरु यसअघि बनेको योजना नै अहिले आएर अलपत्र परेको छ ।
सडकको स्तरोन्नतिले गर्दा योजना लागू गर्न ढिलाइ
उपेन्द्रप्रसाद आचार्य
प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय
जिल्लामा सवारी साधनको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले भने वीरेन्द्रनगरका सडकहरुको स्तरोन्नतिका कारण मुख्य सडकहरुलाई वान वे बनाउन नसकिएको जनाएको छ ।‘फोरलेन बाहेकका सबै सडकहरु वान वे बनाउने कार्यायोजना बनेको छ’ सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले भने, ‘तर मुख्य बजारका सडकहरु नै कालोपत्रे र स्तरोन्नति हुने भएपछि तत्काल हामीले वान वेको योजना लागू गर्न सकेनौं ।’
बजार क्षेत्रका सडक स्तरोन्नति भएमात्रै वान वे बनाउने योजना लागु गर्ने प्रहरीको तयारी छ । योजना कार्यान्वयन गर्नुअघि प्रहरीलाई जनशक्ती र जेब्राक्रसिङको व्यवस्थित मापदण्ड बनाउनुपर्ने हुन्छ । वान वे बनाएर मात्रै दुर्घटना न्यूनिकरण नहुने भन्दै फोरलेन सडकमा व्यवस्थित जेव्राक्रस र चोकचोकमा आकाशे पुल आवश्यक पर्ने ट्राफिक प्रहरीको बताउँछ । वान वे बनाएर मात्र नहुने भन्दै प्रहरीले अब व्यस्त चोकहरुमा आकाशेपुल पनि आवश्यक रहेको जनाएको छ ।
मुख्य बजार क्षेत्रको दुई ठाउँमा पार्किङस्थल बनाउँछौं
देवकुमार सुवेदी
मेयर, वीरेन्द्रनगर नगरपालिका
नगरको समग्र विकासको ने तृत्व लिएको वीरेन्द्रनगर नगरपालिका भने मुख्य बजार क्षेत्रका दुई ठाउँमा पार्किङस्थल बनाउने तयारी भइरहे को जानकारी दिएको छ । ‘सुरुवातमा मंगलगढी चौक र घण्टाघर नजिक पार्किङस्थल बनाउने तयारी छ’ मेयर देवकुमार सुवेदीले भने, ‘तर पहिला हामी नगरका सडकहरु स्तरोन्नति गर्दै छौं, सडकको स्तरोन्नति भएपछि मात्रै पार्किङस्थल बन्छन् ।’
ट्राफिक प्रहरीले भने जन माध्यमिक विद्यालय नजिक, एमाले पार्टी कार्यालय अगाडि, पुर ानो बसपार्क र घण्टाघर क्षेत्रमा पार्किङस्थल आवश्यक पर्ने बताउँदै आएको छ । वान वे सडकलाई लक्षितगरी पार्किङस्थल तोक्नुपर्ने प्रहरी बताउँछ । बजार क्षेत्रमा हालसम्म व्यवस्थित पार्किङस्थल छैनन् । अव्यवस्थित पार्किङका कारण पनि बजार क्षेत्रमा सवारी साधनको जाम हुने र दुर्घटना समेत बढ्दो छ ।






