सिएमए पढ्ने रहर अधुरै

सफलता सबै चाहन्छन् । तर जो मेहनत गर्दछ, उही सफल पनि हुन्छ । आजको प्रतिस्पर्धाको समयमा त झन् सफलता हात पार्न सहज छैन । यसका लागि हरेक व्यक्तिले मेहनत र निरन्तर परिश्रम गर्नुपर्ने हुन्छ । जीवनमा धेरै असफलता पनि हुन्छन् । तर तिनै असफलतालाई छिचोल्दै चुनौतीको सामना गर्नेहरु नै आज समाजमा सफल बनेका छन् । अरुका लागि उदारण पनि बनेको छन् । जो आफ्नो कर्ममा विश्वास गर्दछन् । त्यस्तै जीवनमा संघर्ष गरेका व्यक्ति हुन् धर्मराज शाही । आजको जम्काभेटमा उनै शाहीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
धर्मराज शाही
लेखा अधिकृत, सुर्खेत क्याम्पस शिक्षा
बाल्यकालमा जिज्ञासु
बुवा हर्कबहादुर शाही र आमा देउकला शाहीको कोखबाट विसं २०३३ साल बैशाख ८ गते दैलेखको साविक काँशिकाँध गाविस र अहिलेको महाबु गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका हुन् । उनी घरको कान्छो छोरा हुन् ।
उनका पाँच भाइबिहिनी छन् । उनको बाल्यकाल मध्यम खालको थियो । उनको बुवाले कृषि कर्म गर्थे । साथै गाउँमा आयुर्वेधिक उपचार पनि जानेका थिए । कक्षा ३ सम्म गाउँकै भगवती माविमा पढेका उनले ४ कक्षादेखि भने सुर्खेतको उषा बालबाटिकामा पढेका हुन् । उनी सानोमा जिज्ञासु र चन्चले स्वभावका थिए । उनी सानै उमेरदेखि बुवा आमाभन्दा टाढा बसेर पढेका हुन् ।
आफूलाई कमजोर ठानेनन्
उनको लक्ष्य भनेको पढेर ठुृलो मानिस बन्ने थियो । उनले पढाइमा धेरै मेहेनत गर्थे । उनले सानैदेखि आफुलाई कहिले पनि कमजोर ठानेनन् । साथीहरुको नजरमा पनि उनको स्वभाव राम्रो थियो । पढेर ठुलो मानिस बन्ने लक्ष्यका साथ उनले पढे ।
एसएलसी २०५० मा भगवती मावि डाँडीमाडीबाट गरेका उनले उतिबेला वीरेन्द्रनगर .बहुमुखि क्याम्पसबाट २०५५ सालमा प्लस टु पास गरे । उनले पढाइलाई निरन्तरता दिए । २०५८ मा त्रिभुवन विश्वविद्यालयबाट व्याचलर गरे । २०६१ सालमा स्नातकोत्तर तह सके । उनले पढाइमा धेरै मेहेनत गर्थे ।
सिएमए पढ्ने रहर अधुरै
एसएलसी सकेर उनलाई एउटा रहर पलायो सिएमए पढ्ने । उनी त्यसको लागि इन्टान्सको परीक्षा पनि दिए । उनको वैकल्पिकमा नाम निस्कियो । उनले धेरै रहर गरेको सिएमएमा पढ्न नपाएपछि उनलाई अत्यन्तै पीडा भयो ।
उनले त्यसपछि अब शिक्षा क्षेत्रमै लागेर सेवा गर्छु भन्ने सोच बनाए अनि उनी सफल भए । उनी २०४३ सालमा दैलेखबाट सुर्खेत झरेका हुन् । उतिबेला गाडी घोडा त्यति थिएनन् । गाढा मात्रै चल्थ्यो । बरु एउटा ललन साइकल भन्ने पाइन्थ्यो । कतै घुम्न जानुपर्दा पाँच रुपैयाँ तिरेर साइकलमा जान्थे ।
जीवनमा संघर्ष
सानैदेखि मेहनती र संघर्षशिल उनले सफलता प्राप्त गर्न जीवनमा धेरै संघर्ष गर्नुपर्यो । पढाइमा मेहनती उनी सानैदेखि संघर्षशिल थिए । उनी पढेर ठुलो मानिस बन्ने लक्ष्य लिएका थिए । धेरैजसो संघर्ष उनले पढाइमा गर्नुपर्यो ।
त्यतिबेला सुर्खेतमासमेत गाडीहरु थिएनन् । उनी घर जानुपर्दा हिँडेरै जान्थे । आउँदा पनि हिँडेर आउँथे । त्यती धेरै संघर्ष गरेका उनको बिवाह २०६१ सालमा भयो । बिवाह गरेपछि अझै धेरै संघर्ष गर्नुपर्यो । उनका छोराछोरी जन्मिए । एकातिर छोराछोरीको स्याहार गर्नुपर्ने, अर्कोतिर घर चलाउनुपर्ने अवस्था थियो ।
साथै व्यापार व्यवसायसँगै पढाइलाई र जागिरलाई पनि सँगैसँगै लैजानुपर्ने अवस्था थियो । उनको श्रीमती पनि यी सबै कुरामा उनलाई धेरै साथ दिन्थिन् । उनी संघर्षबाट कहिले पनि पछाडी हटेनन् । आफ्नो करियर बनाउनुपर्छ भन्ने लक्ष्यका साथ अगाडी बढ्ने क्रममा उनले धेरै बाधा अड्चन भोग्नुपर्यो । लामो संघर्षपछि उनले आफ्नो लक्ष्यलाई सफलतामा लिन सके । अहिले उनी सुर्खेत क्याम्पस शिक्षाको लेखा अधिकृतको रुपमा काम गर्छन् । जीवनलाई सहज र सफल बनाउन संघर्ष गर्नुपर्ने उनी बताउँछन् ।
आगामी योजना
लामो संघर्षपछि सफलता प्राप्त गरेका उनले अझै धेरै काम गर्नुपर्ने योजना बनाएका छन् । उनको आगामी योजना भनेको कर्णाली प्रदेशमा प्रसस्त स्रोत र साधन छ । त्यसको भरपुर प्रयोग गरी कर्णालीलाई समृद्ध बनाउन सहयोग गर्ने उनको योजना छ । उनले समाजमा रहेको कोही धनी, कोही गरिबीको रेखामुनी रहन नदिने गरी समाजिक क्षेत्रमा काम काम गर्ने बताउँछन् ।
अहिलेको अवस्थाले समाज रुपान्तरण हुन नसक्ने उनको भनाइ छ । त्यसको लागि अहिले पनि आफुहरुले योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान संचालन गरेर दुखि गरिब र जनजातीहरुलाई प्राविधिक शिक्षा र सीपमुलक शिक्षा दिइरहेको उनको भनाइ छ ।
विभिन्न क्षेत्रबाट यो अभियानलाई शुरुवात गरि सकेको भन्दै उनले समाजवादी मोडेलको समाज निर्माणका लागि अभियान चलाउने र समृद्ध समाज निर्माण गर्ने उनको योजना छ । हिमकमला मल्ल छात्रावृत्ति अक्षय कोष स्थापनाको संरक्षक पनि हुन् । शिक्षा क्षेत्रमा योगदान गरेवापत २०७४ सालमा उनी राष्टिय शिक्षा अवार्डबाट पनि सम्मानित भइसकेका छन् ।






