कांग्रेस महाधिवेशन : निधि, कोइराला र सिंह फेरि छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको दाबेदार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच छलफल जारी छ । निधिनिवास बानेश्वरमा भेटवार्ता जारी रहेको नेता सिंहका स्वकीय युपी लामिछानेले बताए । आसन्न महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल जारी रहेको उनले बताए ।

तीनै नेताहरू सभापतिको दाबी गर्दै आइरहेका छन्। तर, संस्थापन पक्षबाट शेरबहादुर देउवाले नै सभापतिमा उठ्ने अडान राखेपछि संस्थापनइतर पक्षबाट एक जना मात्र उम्मेदवार बनाउने प्रयास गरिरहेका छन् ।
तर, सभापतिको आकांक्षी धेरै भएकाले कुरा मिल्न सकिरहेका छैन। संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि उठ्ने इच्छा व्यक्त गरिरहेका छन् ।
तर, यी तीन नेताहरू भने देउवा र पौडेलले अब विश्राम लिएर दोस्रो पुस्तालाई अगाडि सार्नुपर्ने बताउँदै आइरहेका छन् ।
यसअघि पनि यी तीन नेताबीच छलफल भएको थियो । तर, कुनै सहमति हुन सकेको थिएन ।






