‘यमपञ्चक’ र बेहाल देश !

तिहार लागिसकेको छ । अझ यो लेख पोष्ट भइसक्दा झन् मध्यतिहारले छोएको हुनेछ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । तिहार दिदीबहिनी र दाजुभाइहरूको हार्दिक मिलनको चाड हो । यो चाडमा माइती र चेलीबेटीको विशेष भेटघाट र टिकोटालो हुन्छ । तिहारको पहिलो दिन काग तिहार हो । यो दिन कागको पूजा हुन्छ । कागले अजम्मरी बुटी खाएको भनिन्छ । कागलाई देवदूतरूपमा समेत लिइन्छ । त्यसैले हिन्दू शास्त्रले कागपूजा गरेको हो ।

दोस्रो दिन कुकुर तिहार हो । यो दिन कुकुरको पूजा हुन्छ । कुकुर मानिसले सबैभन्दा पहिले घरमा ल्याएर पालेको जङ्गली जनावर हो । कुकुरसँग मानिसको सम्बन्ध करिब १० हजार वर्ष पुरानो छ । पाँच पाण्डवले महाभारत युद्ध जितेपछि कुकुर साथै लागेर स्वर्ग गएको थियो तर अन्त्यमा पाँच पाण्डवमध्ये जेठा धर्मराज युद्धिष्ठिर र कुकुर मात्रै स्वर्ग पुगेको कथा पुराणमा हालिन्छ ।

तेस्रो दिन गाई तिहार र लक्ष्मीपूजा गरिन्छ । औँसीमा बिहान गाई पूजा गरेर मात्रै बेलुकी लक्ष्मीपूजा गरिन्छ । लक्ष्मी पूजामा रूपैयाँपैसा, हाँडाभाँडो, घर, भण्डार र खेत खलियानसमेत पूजा गर्ने परम्परा पाइन्छ । यो दिन किसानहरू आफूले खेती लगाएका जग्गा टेक्ने गर्छन् । लक्ष्मीपूजा गरेपछि साँझमा नारी जातिले सामूहिकरूपमा भैलिनी गाउँदै भैलो खेल्ने चलन छ । यो रातलाई सुखरात्री भनिन्छ । थारू जातिका मानिसहरूले सुखरात्री भनेर विशेष पूजाआजा गर्छन् ।

भोलिपल्ट बिहान गाउँघरमा गोबरको पहाड बनाएर गोवद्र्धन पूजा गरिन्छ । कसैकसैले हली तिहाररूपमा हलगोरु, हलो र जूवाको समेत पूजा गर्छन् । सहरमा यो दिन हलीतिहार÷गोवद्र्धन पूजाको चलन मेटिइसक्यो । नेवारी संस्कृतिअनुसार यो दिन आफूले आफूलाई म्ह पूजा गरिन्छ । यसको छुट्टै वैदिक र धार्मिक महत्व रहेको छ ।

यम पञ्चकको पाँचौ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयामा भाइटीका पर्दछ । यो दिन दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिन्छन् । दाजुभाइहरूले दिदीबहिनीहरूलाई दक्षिणा, लुगाफाटो र उपहारहरू दिन्छन् भने दिदीबहिनीहरूले टीकापछि भाइ मसला र सेल, अनर्सा र विविधि फलफूलहरू दिने गर्छन् । तिहारमा सयपत्री र मखमलीका माला विशेष शोभादायक हुन्छन् ।

यो चाडमा ज्वाइँहरू ससुराल जानु हुँदैन र आआफ्ना चेलीबेटीका घर गएर टीका लगाउनुपर्छ भन्ने चलन दैविक युगमा यमुना र यमराजको कथाबाट प्रष्टिन्छ । हिजो आजका ज्वाँइहरूले लत्तो छाडेर ससुराल जान्छन् तर पुरानो चलनले त्यस्तो भन्दैन । ‘सराद्धेको सालो, तिहारको ज्वाइँ, पुसको लौरो, लाटी छोरीको म्वाइँ’ भन्ने उखानै छ ।

त्यसैले ज्वाइँहरू ससुराल जानुहुन्न । विगत् समयमा पञ्चक लागेपछि उर्दी लाएरै तासजूवा फुकाइन्थ्यो । सबै रामरौशपूर्वक खेलबाडमा ध्यान दिन्थे । नखेल्नेहरू च्याँखे बस्थे । कुकुरले विष्टा पारेको हुन्छ भनेर पञ्चक लागेपछि मुला खाँदैनथे तर अहिले यो हुन्छ र हुँदैन भन्ने कुनै थिति छैन ।

सबै सहरीकरणमा अन्दाधुन्दसँग लागेका छन् । त्यसैले हिजोको संस्कृतिलाई बँचाएर राख्ने र सन्ततीलाई देखाउने हाम्रो दायित्व रहेको छ ।
सहरमा चौबीसै घन्टा जूवा खेलाउन क्यासिनो नामक आधुनिक जूवाघरहरू खोलिन्छन् । पुलिस, कर अधिकृत र सरकारी एजेन्टलाई घुस खुवाएर क्यासिनोहरू चलेकाले अहिले पञ्चकभित्र खेलिने तासजूवामा कुनै रौनक नै हुँदैनन् । हामीले हाम्रा चालचलनहरू सबै पोलेर खाइसक्या छौं । सन्तानहरू अङ्ग्रेजी पढेर पूरै पश्चिमाकरण गर्ने भैसकेका छन् । हामी बाउआमाहरूसमेत शनैःशनैः त्यही उल्टो बाटामा नहिँडे खैराँत छैन भनेर घिस्सिरहेका छौं । यो दुःखलाग्दो कुरा र सन्दर्भ हो ।

अब वर्तमान राजनीतिका केही कुरा गरौं । तिहारका मुखमासमेत न्यायलय पूरै ठप्प छ । बारको नेतृत्वमा कानुन व्यावसायीहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नहटाई नछाड्ने मनस्थितिमा छन् । चोलेन्द्रका पक्ष विपक्षमा वकिलहरू विभाजित हुँदा मारपिटको स्थिति देखियो । विराट न्यौपाने र भूमिनन्दन चुडालजस्ता वकिलहरूले समग्र वकालत पेसा र वकिलहरूकै कन्धनी खोलिदिने काम गरे ।

अझ तिनीहरू अन्तर्वार्तामा यति हल्कासँग प्रस्तुत भएकि सारा जगत्ै हाँस्यो । वर्तमान समयमा हाम्रो सबै क्षेत्र धराशायी भैसकेको रहेछ भन्ने कुरा बारको आँगनमा मल्ल युद्ध गर्ने वकिलद्वयले गरेको ‘भालेजुधाइ’ र पत्रकार ऋषि धमलासँग गरेको अन्तर्वार्ताले बतायो ।

हुन त खुला समाजमा त्यति पनि बाहिर नआएको भए जनतालाई सुसूचित हुने अवसरै मिल्ने थिएन । तर जे भयो त्यो राम्रो भने भएन । प्रधानन्यायाधीशले हिजो केपी वलीसँग गरेको डिल र लिएको काम सबै बाहिर आयो भने राजनीतिक पार्टीको धोती थप फुस्किने सम्भावना छ।

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले अदालत विवादमा आएको बेला अदालतको समस्या निराकरण गर्ने बेलामा देशका प्रमुख कार्यकारी तथा प्रधानमन्त्री शेरबहादुर देउवा जयवायु सम्मेलनका नामममा टण्डेली गर्न विदेश गएको कामलाई गैरजिम्मेवारीपन भने । यति खस्रोगरी डा.यादवले काँग्रेसलाई भनेको यो पहिलोपटक हो जसबाट उनी रिसाएको भान हुन्छ ।

हुन पनि काँग्रेसले अहिले जति पनि कामहरू सत्तामा गएर गरिरहेको छ त्यसले विस्तारैविस्तारै उसको आगामी चुनावमा प्राप्त हुने क्रेडिट नै माइनस गर्दैछ । यो कुरालाई बेलैमा नोपाली काँग्रेसले सच्याएन भने अहिले पाँचदलहरू गठबन्धन गरेर चुनावमा जाने जून हौवा पिटिरहेका छन् कथम् त्यो हुन सकेन भने काँग्रेस नराम्रोसँग बर्खाको पाहा पच्छारिएझैँ पाखामा नपच्छारिएला भन्न सकिन्नँ ।

यतिखेर संसदको प्रतिपक्ष नेकपा एमाले हद नाघेर राजनीतिकरूपमा असहिष्णु भाषा प्रयोग गरिरहेको छ । त्यसको सिङ्गल नेतृत्व पूर्व प्रम केपी ओलीले गरिरहेका छन् । उनी माधव, प्रचण्ड र देउवालाई खुइल्याउन नाति देखिको बल निकालेर लागिरहेका छन् ।

रमाइलो कुरा अहिले मुलुकका सातै प्रदेश र संघीय सरकारको नेतृत्वबाट नेकपा एमाले बढारिएको स्थिति छ । उसले यो बेलामा जनताको हृदय जित्नेगरी कार्यशैली अख्तियार गर्नुपर्नेमा नेता ओली जनतालाई हप्काइरहेका छन् । जुन उनको पार्टीका लागि भोलि चुनावमा प्रत्युत्पादक हुन सक्छ ।(ईखबर)

‘यमपञ्चक’ र बेहाल देश !

अर्थमन्त्री शर्मा : अरुण करिडोर आयोजना सरकारले

‘यमपञ्चक’ र बेहाल देश !

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस-२

Leave a comment

Your email address will not be published. Required fields are marked *