तोकिएको मितिमै होला त नेकपाको महाधिवेशन ?

काठमाडौं, ३० भदौ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता महाधिवेशन तयारी थालेको छ । यही भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने गत माघको केन्द्रीय कमिटीको निर्णय अनुमोदन गरेको हो । स्थायी कमिटी बैठकले मंसिरभित्र कार्यकर्ता सदस्यता नवीकरणको काम सक्ने निर्णय गरेपछि संगठन विभाग आफ्नो काममा तातेको छ ।
नेकपाका नेताहरूले ८ लाख पार्टी सदस्य रहेको बताउने गरेका छन् । यद्यपि, सदस्यहरुको अभिलेख चुस्त–दुरुस्त नभएकाले नेकपालाई सदस्यतासम्बन्धी विषय टुङ्ग्याउन सकस पर्ने देखिन्छ । स्थायी कमिटीको म्यान्डेटअनुसार आइतबार (भदौ २८) बसेको संगठन विभाग बैठकले असोज मसान्तभित्र सदस्यहरूको विवरण संकलन गर्ने, कात्तिकभित्र अद्यावधिक र मंसिरभित्र नवीकरण गर्ने निर्णय गरेको छ ।
संगठन विभाग सदस्य खगराज भट्टले पार्टीले निर्णय गरिसकेपछि महाधिवेशन हुनेमा शंका गर्नुपर्ने स्थिति नरहेको बताए । पार्टीको विवाद पूर्णरुपमा अन्त्य भएको र २ अध्यक्षलाई विश्वास गरेर बढ्नुपर्ने उनीको भनाइ छ । कोरोनाकालमा पनि प्रविधि अनुसारको मोडालिटी बनाएर महाधिवेशन हुने उनले तर्क गरे ।
समय उपयुक्त होइन : रघुजी
भट्टले भनेजस्तो तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न त्यति सजिलो भने छैन । यसबीचमा पार्टीका विभागलाई पूर्णता दिनुका साथै एकताका कामलाई समेत टुंग्याउनुपर्ने चुनौती छ । कोरोना महामारी तीव्र गतिमा फैलिइरहेका बेला पार्टीले तयारी गरिरहेको महाधिवेशन तोकिएकै मितिमा हुनेमा पार्टीभित्रैका केही नेताले समेत आशंका व्यक्त गरिरहेका छन् ।
नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेता रघुजी पन्त महाधिवेशनका लागि अहिलेको समय उपर्युक्त नरहेको तर्क गर्छन् । कोरोना महामारीका बेला जनतालाई ’घरमा बस’ भन्ने र सत्तारुढ पार्टीले नै महाधिवेशन जस्ता गतिविधि गरे आमजनतामा राम्रो सन्देश नजाने उनको बुझाइ छ । तोकिएको मितिमा गर्न सके राम्रो हुने, तर डेढ–२ महिना अरु सबै काम छोडेर जनताको जीउधनको रक्षा गर्नतर्फ लाग्नुपर्ने उनको धारणा छ। उनले भने, ‘ अहिलेको परिस्थितिमा महाधिवेशन गर्नु उपर्युक्त हो जस्तो लाग्दैन ।’
विश्लेषकले देखेका समस्या
राजनीतिक विश्लेषकहरूले हाल दुई अध्यक्षबीच युद्धविराम गर्ने सहमति मात्र भएकाले तोकिएकै मितिमा महाधिवेशन हुनेमा आशंका गरेका छन् । पार्टी उपाध्यक्ष वामदेव गौतमबारे निर्णय र मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्रीले पार्टीसँग समन्वयमा गर्ने भन्ने दुई अध्यक्षबीच सहमति भएपनि यो अहिलेसम्म कार्यान्वयन नभएकाले फेरी उस्तै अवस्था आउनसक्ने उनीहरू बताउँछन् ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नेकपाको महाधिवेशन कोभिड–१९ को स्थितिमा भर पर्ने बताउँछन् । साथै, विभिन्न कारणले महाधिवेशन नहुने र नेकपामा साम्य भएको भनिएको विवाद केही समयपछि फेरि उनले आंकलन गरे । ‘पहिलो त, कोरोना भाइरसकै कारण असर पर्छ, वामदेव गौतमको व्यवस्थापन मात्रै राम्रोसँग भएन भने पनि बबण्डर हुनेवाला छ ।
माधवकुमार नेपालले उठाएका विषयहरूका कारण अझ ठूलो विवाद निम्तन सक्छ।’ नेता नेपाल पार्टीको निर्णायक स्थितिमा रहेका र उनी जहाँ जान्छन्, त्यहीँ बहुमत हुने श्रेष्ठ तर्क गर्छन् । भन्छन्, ‘माधव नेपाललाई उपेक्षा गर्नु घातक सिद्ध हुनेछ। उनको कुरा मान्नुको विकल्प पनि छैन । पार्टी अझै पनि प्रणालीमा चलिरहेको छैन् ।’







