सम्पादकीय : रगतको सम्मान

सहिदको बलिदानका कारण आज देशमा गणतन्त्र स्थापना भएको छ । पछिल्लो राजनीतिक परिवर्तन अन्तर्गत प्रादेशीक संरचनामा जाँदै गर्दा देशमा धेरै आन्दोलन भए । संविधान सभाबाट २०७२ सालमा नयाँ संविधान जारी हुने तरखर भइरहेको थियो । त्यतिबेलाको शिर्ष नेतृत्वले प्रादेशिक संरचनाको खाका तयार पार्दै थियो । तत्कालिन शिर्ष नेतृत्वले मध्यपश्चिमका केही जिल्लालाई सुदूरपश्चिममा गाभेर देशमा ६ वटा प्रदेश कायम गर्ने सहमति गरे । यो समाचार बाहिरिएपछि सुर्खेतमा आन्दोलन चर्कियो । २०७२ साउन २४ गतेबाट अखण्ड मध्यपश्चिम अर्थात यस क्षेत्रका जिल्लाहरु सुदूरपश्चिममा गाभ्न नहुने माग गर्दै स्वतन्त्र अर्थात राजनीतिक दलको नेतृत्व विनाको आन्दोलन उग्र बन्यो । २०७२ साउन २५ गते सुर्खेतमा तीन जना सहिद बने । यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारले भौगोलिक पहिचान र अलग प्रदेश घोषणा हुनुपर्ने माग गर्दै बलिदानी नै दिए । आन्दोनल चर्किदै सुर्खेतसहित अन्य जिल्लामा पनि फैलियो । जुम्लामा पनि स्वायत्त कर्णाली हुनुपर्ने भन्दै सडकमा होमिएका हरिबहादुर कुवँर सहिद बने ।

चार जना सहिद भएको सो आन्दोलन १३ दिनसम्म चल्यो । अन्ततः त्यतिबेलाका शिर्ष नेताहरुले सुदुरपश्चिममा गाभिएका जिल्लाहरु फिर्ता गर्ने सहमति गरे । १० वटा जिल्लालाई समेटेर छैठौं प्रदेश घोषणा गरे । आज त्यही छैठौं प्रदेशको नाम कर्णाली राखिएको छ । प्रदेश सरकार र संसद गठन भएका छन् । प्रदेश प्राप्त भएको पाँच वर्ष विते । तर जसको रगतको बलमा प्रदेश प्राप्त भयो, उनीहरुको सम्मान हुन नसकेको गुनासो सुनिन थालेको छ । सहिदले देखेको विकास र समृद्धिको सपना मात्र होइन, नेतृत्वले सहिद परिवारका कतिपय अपेक्षाहरु पनि पूरा गर्न सकेको छैन । यदि चार जना सहिद नबनेको भए के अलग्गै प्रदेश घोषणा हुन्थ्यो त ? नहुन सक्थ्यो । किनकी देशभर आफ्नो अनुकुलको संविधान जारी गराउन दर्जनौं समूह र क्षेत्रबाट आन्दोलनहरु भइरहेको थिए । यस्तो अवस्थामा शिर्ष नेतृत्वले बल्लतल्ल ६ वटा प्रदेशमा सहमति जुटाएको थियो । त्यसकारण पनि कमजोर आवाज वा आन्दोलनको सुनुवाइ हुने अवस्था त्यसबेला थिएन ।

तर चार जनाको ज्यान नै गएपछि आन्दोलन थप चर्कियो । यसैको बलमा नयाँ प्रदेश घोषणा गर्न तत्कालिन शिर्ष नेतृत्व (राजनीतक दलहरु) बाध्य भए । तर आज जसको रगतसँग साटेर प्रदेश प्राप्त भयो, उनीहरुको सम्मान हुन सकेको छैन । न त सहिदको सपना अनुसार विकासले नै गति लिएको छ, न त प्रदेश सरकारले त्यसलाई सम्बोधनगर्ने गरी कुनै कार्यक्रम नै ल्याउन सकेको छ । अर्कोतर्फ प्रदेश प्राप्त गर्नका लागि चार जना सहिदका परिवारले आफन्त गुमाएका छन् । आफन्तको रगतमा जन्मिएको प्रदेश भएका कारण पनि सहिद परिवारका केही अपेक्षाहरु छन् । तर तिनको सुनुवाइ भएको छैन । सहिदको शालिक, सहिद गेट, परिवारका सदस्यलाई रोजगारी, चोकको नामाकरण लगायतका मागहरु पूरा गर्नेतर्फ नेतृत्वले आनाकानी गर्नु हुँदैन । कुनै पनि हालतमा सहिदको रगतको सम्मान गर्नेतर्फ प्रदेश सरकारले ध्यान दिनु पर्दछ । (२०७७ साउन २७ गते मंगलबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

याे पनि पढ्नुहाेस :

‘भौगोलिक रुपमा प्रदेश त पायौं, तर समृद्धिको सपना अधुरै छ’

सम्पादकीय : रगतको सम्मान

पतनको चौबाटोमा हराएको मानवता !

सम्पादकीय : रगतको सम्मान

YUGAAWHAN NATIONAL DAILY (2077-04-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *