कोरोनाले घर फर्किएका युवाहरु श्रमदानमा जुट्दै

सल्यान, २३ कार्तिक ।
कोरोना भाइरस (कोभिड १९) महामारीका कारण धेरै युवायुवतीहरु आफ्नो जन्मथलो फर्किएका छन। वर्षौंसम्म घर नफर्किएकाहरु पनि अहिले आफ्नै गाउँघर आइपुगेका छन् । कुनै बेला युवाविहीन गाउँबस्ती अहिले युवाहरुले भरिएको छ ।

वृद्धवृद्धा र बालबालिकाहरु मात्र रहेको गाउँबस्तीको अहिले रुप पनि परिवर्तन हुँदै गएको छ । युवाहरुको गाउँघरमा आगनसँगै बस्तीहरुको स्वरुप पनि बदलिएको छ । वर्षौदेखि बाँझिएका खेतबारी अहिले हरियाली भएका छन् । विदेश तथा अन्तरजिल्लाबाट घर फर्किएका युवाहरु सामाजिक कार्यमा समेत सामेल हुँदै आइरहेका छन् । गाउँघरमा हुने अर्मपर्मा, जनश्रमदानजस्ता कार्यमा युवाहरु लागिपरेका छन् ।
गारेटो बाटो निर्माण, मर्मतका साथै सामाजिक कार्यहरु गर्दै आइरहेको बागचौर नगरपालिका–४ का शेरबहादुर घर्ती बताउँछन् । धेरै युवाहरुलाई आफू जन्मिएको गाउँघर नै अन्तिममा काम लाग्छ भन्ने चेतनाको विकास कोरोनाले दिलाएको उनको भनाइ छ । कोरोना महामारीका कारण भारत, तेस्रो मुलुकबाट आएका धेरै युवाहरु सामाजिक काममा लागेको बागचौर नगरपालिका–४ का वडा सदस्य जनक घर्तीले बताउँछन् ।






