डोल्पोबुद्ध गाउँपालिकामा सकियो वार्षिक परीक्षा

डोल्पा, २३ कार्तिक ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका ६ विद्यालयमध्ये ५ विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् । पेमा गुरुङ २ र ४ नम्बर वडाका बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, टसी गोमाङ बाल विकास केन्द्र र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन् ।

३ नम्बर वडाको क्रिष्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ । एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने विद्यालयको योजना छ । गाउँपालिकाका सामुदायिक विद्यालयमा हरेक वर्ष कात्तिकमै वार्षिक परीक्षा सञ्चालन हुन्छ । अत्यधिक चिसो हुने भएकाले माथिल्लो डोल्पाका ३ स्थानीय तहका सबै विद्यालयमा फागुनमा शैक्षिक शत्र सुरु भएर कात्तिकमा सकिने गरेको छ । स्थानीय पेमा गुरुङले नतिजा सार्वजनिक गरेका विद्यालय बन्द भइसकेको बताए ।

उनका अनुसार यस वर्ष सरकारी निकायले परीक्षा सञ्चालनमा सहयोग नगरेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकको सक्रियतामा परीक्षा सञ्चालन गरिएको हो । कोरोनाको प्रभाव गाउँमा खासै नपरेकाले सामुदायिक विद्यालयले पठनपाठन गरेर परीक्षासमेत सकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले बताए । ‘पठनपाठन र परीक्षा नियमित तालिकाअनुसार नै भयो,’ उनले भने, ‘नतिजा प्रकाशन गरेर ५ विद्यालय बन्द भइसकेका छन् ।’ यही समयमा वार्षिक परीक्षा सक्नुपर्ने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका ४ विद्यालयले पनि वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिसकेका छन् । ३ विद्यालयको पठनपाठन भने बन्द रहेको शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी भक्तबहादुर बुढाले बताए ।

उनका अनुसार कोरोनाका कारण ३ विद्यालयमा पठनपाठन भएन । शेफोक्सुण्डो गाउँपालिकाका विद्यालय पनि वार्षिक परीक्षाको तयारीमा छन् । विद्यार्थीहरु परीक्षाको तयारीमा जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए । ‘कोरोनाको संक्रमण नभएपछि विद्यालयहरु नियमित चलिरहेकाले तालिकाअनुसार नै परीक्षा हुनेछ,’ उनले भने, ‘१२ वटै विद्यालयले हिमपातअघि नै नतिजा प्रकाशन गरिसक्नेछन् ।’

डोल्पोबुद्ध गाउँपालिकामा सकियो वार्षिक परीक्षा

कोरोनाले घर फर्किएका युवाहरु श्रमदानमा जुट्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *