उपभोक्ता समितिका अध्यक्षले किर्ते गरेपछि …

तुलराज पाण्डे
कालिकोट, २४ साउन ।
कालिकोट जिल्ला प्रहरी कार्यालय कालिकोटले बिल भरपाई किर्ते गरी रकम भुक्तानी लिने उपभोक्ता समितिका अध्यक्षलाई पक्राउ गरेको छ । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–५ मा रहेको कालिका प्रारम्भिक उत्पादन कृषक समूहका अध्यक्ष ललिजन बमलाई प्रहरीले पक्राउ गरेको हो ।
कर्णाली प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त २२ लाख ८ हजार रकमको बिना काम किर्ते कागजात बनाएर भुक्तानी लिएको आरोपमा समूहका अध्यक्ष बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले बताए । सान्नित्रिवेणी गाउँपालिकालाई अर्गानिक नमुना गाउँ कार्यक्रम अन्तरगत कृषि विकास कार्यालयको कुल २२ लाख ४२ हजारको योजनामा समुहका अध्यक्ष बमले किर्ते काम गरी कृषि विकास कार्यालयबाट २ लाख ८ हजार ३ सय ७० रुपैयाँ भुक्तानी लिएका छन् ।
कार्यालयले उनको रकम भुक्तानी लिएको खाता र व्यक्तिगत खाता समेत रोक्का गरेको जनाएको छ । सान्नित्रिवेणी गाउँपालिका–५ का वडा अध्यक्षको किर्ते हस्ताक्षेर गरेर अनुगमनसमेत गरेको प्रतिवेदन बनाएर रकम भुक्तानी लिएको वडा अध्यक्षले प्रहरीमा उजुरी दिएपछि समुहका अध्यक्षलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ गरिएका बमलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ । सरकारी रकठ ठगी किर्ते गर्ने समुहका अध्यक्षलाई मुलुकी अपराध संहिता बमोजिम ७ वर्ष कैद र ७० हजारसम्म जरिवाना कानुनी व्यवस्था रहेको छ ।






