दिनेश विश्वकर्मा/सुनचाँदी व्यवसायी
बाध्यताले अधिकांश मानिसलाई सँधै आफ्नो जन्मभूमिमा बस्ने मौका मिल्दैन । जीवन संघर्ष र जीविकोपार्जनका लागि घर छोड्नुपर्ने अवस्था आउँछ । आज पनि मानिसहरु पैंसा कमाउनका लागि रोजगारी खोज्दै विश्वका कुनाकुना धाइरहेका छन् । तर संघर्षशील युवा दिनेश विश्वकर्माले भने आफ्नै पुख्र्याैली पेशालाई आत्मसात गरेर स्वदेशमै गरीखान सकिन्छ भन्ने गतिलो उदारण दिएका छन् । तनहुँमा जन्मिएका उनी कर्मको सिलशिलामा विगत लामो समयदेखि वीरेन्द्रनगरको बिच बजारमा सुनचाँदी पसल संचालन गर्दै आएका छन् । सुनचाँदी व्यवसायी संघ सुर्खेतका उपाध्यक्षसमेत रहेका उनी व्यवसायमा अब्वल बन्दै गएका छन् । प्रस्तुत छ, आजको जम्काभेटमा उनको जीवन संघर्ष र अनुभवको सारांश :-
काम सकेर स्कुल
मेरो जन्म २०३६ साल भदौ २५ गते तनहुँ जिल्लाको रतनपुरमा भएको हो । बाल्यकाल सहजै बित्यो । गाउँले जीवन घरायसी काम सकेर स्कुल जानुपथ्र्यो । परिवारमा आमा बाबासँगै हामी सात भाई र एक बहिनी थियौं । बाबा स्वर्गीय बलभद्र र आमा देवीकलाको कोखबाट मेरो जन्म भयो ।
बाबाले पनि हाम्रो पुख्र्यौली पेशा सुनचाँदीको व्यवसाय गर्नुहुन्थ्यो । त्यही व्यवसायबाटै हामी सबैलाई पढाउनुभयो । घरमा खान लगाउनको खासै समस्या थिएन । सबै भाई, बहिनी बिहान, बेलुका घरको कामसँगै दिउँसो स्कुल जान्थ्यौं । अहिले हामी सबै आत्मनिर्भर छांै । कसैले रोजगारी त कसैले आआफ्नो व्यवसाय गरी आत्मनिर्भर छौं ।
बिचमै रोकियो पढाइ
म कक्षा १ देखि १० सम्म गाउँकै सरस्वती माध्यामिक विद्यालय घलेछापमा पढेँ । सोही विद्यालयबाट एसएलसी पास गरिसकेपछि सुर्खेत आएर वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा भर्ना भएँ । तर मैले पढाइलाई अघि बढाउनु सकिँन । अहिले धेरै नपढेकोमा पछुतो लागेको छ । तर पनि पढाइ त ज्ञान लिनका लागि मात्रै रहेछ । धेरै पढेर धेरै पैंसा कमाउन सकिन्छ भन्ने सोचाइ थियो । तर ज्ञान, सिपसँगै व्यवसायमै मेहनत गरे पनि धेरै पैंसा कमाउन सकिन्छ । कर्मप्रतिको विश्वास र भाग्यको साथले आज म आफ्नो व्यवसायप्रति निकै खुसी छु । सानोमा म खेलकुदका गतिविधिप्रति खुबै चासो राख्थेँ । खेल क्षेत्रको रुचीकै कारण घरदेखि विद्यालयसम्म दैनिक खेलकुदका क्रियाकलापमा सहभागी हुन्थेँ ।
त्योबेला उमेर पुगेपछि लाहुरे (सेना) बन्ने सपना थियो । विस्तारै उमेर पुगेपछि लाहुरे हुनका लागि एक पटक प्रयास पनि गरँे । तर असफल हुदाँ फेरी लाहुरेमा प्रयास गरिन । जिन्दगी भने जस्तो र सोचे जस्तो कहाँ हुन्छ र ? सानोमा मेरा धेरै ठुला सपना थिएनन् । परिस्थीति अनुसार संघर्ष गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अहिले लाहुरे नभए पनि एक कुशल सुन व्यवसायी बन्न सफल भएको छु । पोखरा आभुषण केन्द्र खोलेर सुन व्यवसायबाटै सेवा गर्न पाएकोमा मलाई आत्म सन्तुष्टि पनि मिलेको छ ।
यसरी भयो सुर्खेत प्रवेश
२०५२ सालमा म एसएलसी पास भएपछि सुर्खेत आएको हुँ । मेरो दाजु कृष्णबहादुर विश्वकर्मा सुर्खेत सिचाइँ कार्यालयमा काम गर्नुहुन्थ्यो । म दाजुसँगै आएर पहिलो पटक सुर्खेतमा पाइला टेकेँ । त्योबेला म क्याम्पस पढ्ने भनेर आएको हँु । म दाजुसँगै बसेँ । सुर्खेत बसाइँ पनि मलाइ खासै अप्ठ्यारो भएन । त्योबेला झण्डै तीनवर्ष जति उस्सु गेम पनि खेलेँ ।
पछि दाजुले भाई खाली भयो भनेर कोठा नजिकै किराना पसल खोली दिनुभयो । करिब तीन वर्षजति किराना पसल चलाएँ । पछि कोठा नजिकै स्वर्गीय आदरणीय दाजु रिमलाल विश्वकर्माले खोलेको सुन पसलमा काम गर्ने कारखाना अर्थात भैरहवा टेडर्समा झण्डै सात वर्ष काम गरेँ । त्यहाँ काम गर्दा मलाइ सुन व्यवसायमा राम्रो अनुभव लिने र सीप सिक्ने मौका मिल्यो । हुन त सुन व्यवसाय हाम्रो पुर्खौली पेशा हो । तर मलाइ रिमलाल दाईसँग काम गरेपछि मात्रै सुन व्यवसायमा सीप सिक्ने र अनुभव लिने मौका मिलेको हो । त्यही सीप र अनुभवका कारण आज मलाइ यो व्यवसाय सञ्चालनमा सहज भएको छ ।
व्यवसायिक यात्रा
भैरहवा टेडर्समा झण्डै सातवर्ष काम गरिसकेपछि मलाइ विदेश जाने सोच आयो । वैदेशिक यात्राको तयारीमा मैले पासपोर्ट पनि बनाएँ । भिसा आउने तयारीमा थियो । तर आमाले मलाइ विदेश जान दिनु भएन । म कलिलै उमेरमा विदेशीने कुरा भएपछि आमा निकै निराश हुनुभयो । मेरी आमाले मलाइ विदेशीनुभन्दा यतै पसिना बगाएर काम गर्न अनुरोध गरेपछि मैले विदेश नजाने निर्णय गरेँ । अनी मैले सिकेको सीपका आधारमा सुन पसल खोल्ने निधो भयो । व्यवसायका लागि बजारमा तीन ठाउँमा पसल हेरेँ । पछि सबैभन्दा जो अहिले सञ्चालन गरेको बिच बजारको पसल उत्तम लागेपछि व्यवसाय सुरु गरेँ । २०६१ तिरको कुरा हो ।
मैले पसल सञ्चालन गर्नुअघि सुन तोलाको १३ हजार थियो । तर मैले पसल सञ्चालन गरे लगत्तै सुन तोलाको २५ देखि ३० हजारसम्म पुग्यो । मलाइ व्यवसाय डुब्ने निकै चिन्ता लाग्न थाल्यो । मन आत्तिएको थियो । व्यवसाय चल्ला जस्तो लाग्दैन थियो । म निकै सोच्न थाले । तर मनमा आटँ बढाउँदै कर्मप्रति विश्वास गर्दै निरन्तर काममा लागँे । र अहिले सफल पनि भएको छु ।
अन्तरजातीय विवाह
मैले सुन व्यवसायबाटै सुर्खेतमा घरघडेरी जोडेको छु । यही व्यवसायबाट आफुलाई चढ्ने सवारी साधन किनेको छु । १२ जनालाई रोजगारी दिन सफल भएको छु । हुन त ऋण र लगानी दुबै उस्ताउस्तै छन् । तर व्यवसायबाट म र मेरो परिवारमात्रै होइन, मसँग काम गर्नेहरु पनि खुसी छन् । मैले अन्तरजातीय विवाह गरेको हँु । समाजमा अहिले पनि अन्तरजातीय विवाह नस्विकार्ने दस्ता छ ।
तर मेरो विवाहमा कुनै रोकावट भएन । हामी दुवैको परिवारले सहजै स्विकारेको हो । मेरो श्रीमती मिरा पुन सुर्खेत गुमीकी हुन् । हामी एक अर्काको मन मिलेपछि विवाह बन्धनमा बाँधियांै । जो हाम्रो खुसीमा दुवैको परिवार आफन्तबाट कुनै अवरोध भएन । अहिले हामीबाट जन्मेकी छोरी १४ वर्ष र छोरो ८ वर्षका भइसके । हामी आत्म सन्तुष्टिसँगै खुसीका साथ बसेका छौ । मान्छेको सोच, विचार, मन र व्यवहार सफा हुनु पर्छ, जातले कुनै फरक पर्दैन ।
अबको बाटो
मैले सुनचाँदी व्यवसायको माध्ययमबाट जीवन संघर्षको लामो समय बिताइसके । मसँग यही व्यवसायको सीप र ज्ञान छ । बाँकी दिनमा पनि यही व्यवसायमै टिक्न चाहान्छु । तर सुनको मुल्य बुद्धि र व्यवसायमा हुने जोखिमका कारण कहिलेकाँही अन्य व्यवसायको विकल्प खोज्नुपर्छ की जस्तो लाग्छ । तर अन्य व्यवसायमा मेरो ज्ञान पनि छैन नी । यसै व्यवसायलाई अघि बढाउने सोच छ । (२०७७ साउन २३ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)
युग संवाददाता । । २४ श्रावण २०७७, शनिबार ०८:१०