कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

डा‍‍. प्रदीप पौडेल
कर्णाली प्रदेश नेपालकै पिछडिएको ठाउँका रुपमा चिनिन्छ । कम्तीमा मैले कर्णाली प्रदेशलाई त्यसरी नै चिनेको छु । मेरो घर प्रदेश १ को सुनसरी जिल्लामा पर्छ । नेपाल सरकारको छात्रबृत्तिमा विशेषज्ञ डाक्टर पढेको ऋृण तिर्न प्रदेश अस्पताल सुर्खेत आएको पनि एक बर्ष भएछ । भर्खर विशेषज्ञ डाक्टर बनेको नयाँ जोस र साथीहरुको लहलहै, दुईवटै कारणले म पहिलो पटक कर्णालीको बेथितिको साक्षी बन्न आइपुगेछु ।

आउने बित्तिकै सुरु भयो बिरामीसँगको दिनचर्या ।
’डाक्टरसा’ब उपचार खर्च छैन, छुट्टि दिनूस् घर लान्छु ।’
’यहाँ हुन्छ भने उपचार गराउँछु, नभए अन्तै लान्छु ।’
’मेरो बाबु निको हुने भए उपचार गराउँछु नभए झार्नलाई धामीकोमा लान्छु ।’
यस्तै कुरा सुन्नु पर्थ्यो वार्ड राउन्ड लिँदा । यहाँको आर्थिकस्तर, चेतनाको स्तर अनि अस्पतालको सेवामा अविश्वासका यी प्रतिनिधि वाक्यांश थिए ।

तपाइँको बाबु अत्यन्त सिरियस छ, भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ , यहाँ सम्भव छैन ।
बाबुको रोग पत्ता लगाउन गर्नुपर्ने सम्पूर्ण ब्लडको जाँच यहाँ छैन, नेपालगन्ज लग्नूस् ।
औषधि यता पाइँदैन, लखनउ नभए काठमाडौं लग्नूस ।
शिशुको आन्द्रा साँघुरो छ, अपरेसन नगरे ज्यान बच्दैन, काठमाडौं लग्नूस ।
बाबु सिकिस्त छ, सेतो रगत आवश्यक छ, नेपालगन्ज लग्नूस ।

माथिका भनाइ मेरा हुन्। बल्ल पो बिरामीका आफन्तको अस्पतालको सेवाप्रतिको अविश्वास छर्लङ्ग हुन थाल्यो। गरिब हुनु र अज्ञानी हुनु त कसैको दोष हैन । त्यो राज्यको दोष हो र यहाँका जनतालाई सम्पूर्ण स्वास्थ्य सेवा पाउन अन्यत्र आफैंले जा भन्नु कसको दोष ? म टिचिङ अस्पतालमा अध्ययन गर्दाको कुरा सम्झें। बिरामी दूरदराजबाट आइपुग्थे । सामान्य रोगको पनि निदान गर्न किन नसकेको होला? हामी जत्तिकै ज्ञान लिएका डाक्टर त सबैतिर होलान् जस्तो लाग्थ्यो ।

रोगको उपचार तब गर्न सकिन्छ जब रोगको जडसम्म पुगेर कारणलाई उपचार गरिन्छ । अनि अपवाद बाहेकका रोग बाहेक अन्य धेरै रोगको उपचार दूरदराजमा पनि सम्भव हुनसक्छ । नेपालमा सन् २०१६ सम्ममा ३९ जनाले आफ्नो पाँचौ जन्मदिन नै देख्न पाउँदा रहेनछन् । कर्णालीमा त ५६ जना बालबालिकाले ५ वर्ष नपुग्दै संसार छाड्न बाध्य रहेछन् । राज्यको दायित्व त आफ्नै ठाउँमा होला। मैले के गर्न सक्छु त ? धेरै रात यो सोचमा म छट्पटाएको छु ।

मेरो विगत सम्झें ।
मेरो परिवार सामान्य नेपाली परिवार। बाबाले पढ्नुभएको छैन । आमाले प्राथमिक तहको शिक्षासम्म पाउनुभयो । बाबाले मजदूरीदेखि अरुको खेतमा हली–गोठालो सबै गर्नुभयो। अहिले पनि आफ्नो थोरै खेतमा कृषक नै पेसा गर्नु हुन्छ । म आफूलाई थोरै भाग्य अनि धेरै मिहिनेतको कारणले बनेको डाक्टरको रुपमा लिन्छु ।

मेरो बाल्यकाल अभावमै बित्यो। पढाइमा म सानैदेखि अब्बल । अहिलेसम्म जिन्दगीमा दोस्रो हुनु परेन । विसं २०६१ सालमा नजिककै सरकारी विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण भएपछि सबैको सल्लाहमा विज्ञान विषय नै पढ्ने र डाक्टर बन्ने सपना पलायो। पहिलो पटक एक जोर कपडा लिएर काठमाडौं अमृत साइन्स क्याम्पस पुगें ।

अमृत क्याम्पसमा पनि सर्बोत्कृष्ट भएपछि त डाक्टर बन्नु प्रतिष्ठाको विषय बन्यो । सामान्यतयाः डाक्टर पैसाले तयार हुन्छन् । एमबिबिएस गर्न चानचुन ६० लाख र विशेषज्ञ बन्न समान पैसा। मेरो लागि एउटा मात्र विकल्प नेपाल सरकारले दिने छात्रवृत्ति । एक वर्षको अथक मिहिनेतले नेपाल सरकारको छात्रवृत्तिमा डाक्टर पढ्ने मौका मिल्यो । र, करिब १० वर्षको अध्ययनपश्चात् बाल रोग विशेषज्ञको रुपमा कर्णालीमा पाइला राख्न पुगें ।

मलाई राज्यले ठूलो गुन लगाएको छ । म जे छु आज राज्यले उपलब्ध गराएको अवसरले गर्दा छु । उमेरले ३२ वसन्त पार गर्दैगर्दा एक बाल रोग विशेषज्ञको रुपमा बाल स्वास्थ्यमा योगदान गर्ने सामर्थ्य बटुलिसकेको छु । रोगको सही निदान, सिकिस्त नवजात शिशु तथा बालबालिकाको उपचार गर्न र ज्यान बचाउन सक्षम छु ।

म कर्णाली प्रदेश अस्पतालमा आएको पनि १ वर्ष बितिसकेछ । यो बीचमा भेरीगङ्गा नदिमा कयौं लिटर पानी बगिसक्यो । कयौं कोपिलाले मेरो हातमा प्राण छोडे । कयौं सिकिस्त कोपिलाले मैले रेफर गर्दा बाटोमै दम तोडे। कयौं आमाले दुःख गरेर आर्जेको सम्पत्तिको पोको बोकेर भेरीगङ्गाको पुलमा बिरामी सन्तान च्यापेर यात्रा गरे ।

कोरोनाको महमारी पनि आयो । अब त सुधारको सम्भावना पनि कोरोनाको अन्त्य जस्तै अनिश्चित भएको छ । म आउनुअघि नै तयार प्रदेश अस्पतालको नयाँ भवन पनि अहिले कोरोना विशेष अस्पताल भएको छ । सुविधासम्पन्न नवजात शिशु सघन कक्ष (एनआइसियु), बालबालिकको लागि सघन कक्ष (पिआइसियु) बन्ला र आफैंले भारी मनका साथ अन्त रिफर गर्न नपर्ने दिनको आस पनि अहिलेलाई आसमै सीमित छ। काठमाडौंमा हुने सरहकै गुणस्तरीय ल्याब र डाइग्नोस्टिक क्षमता पनि रहरमै छ । ब्लड बैंक जसमा भन्डारण क्षमता होस अनि मेसिनद्वारा रगतलाई रातो रक्तकोष, सेतो अनि प्लेटेलेट्स छुट्याउन पाइयोस् भन्ने पनि सपना छ ।

यहाँको बाल मृत्युदर घटाउन अनी गुणस्तरीय सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता हटाउन यी सबै आवश्यक छन् । अनि यो सबै र अन्य थुप्रै सुधार गर्छु भन्ने इच्छाशक्तिको पनि उत्तिकै खाँचो छ । नभए त कर्णाली पिछडिएको र स्वास्थ्य सूचकांकमा धेरै नै पिछडिराखेको भनेर नै आउने पिंढीले चिन्ने छन् ।  स्रोत–साधनको कमीले गर्दा आफ्नो ज्ञानको भरपुर सदुपयोग त गर्न पाइएन तर मेरो प्रयास अनवरत छ । आशा छ, कर्णालीमा परिवर्तन चाँडै देख्न पाइने छ ।
(डा. पौडेल बाल रोग विशेषज्ञ हुन् ।)

कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

संसद् भवन र सिंहदरबार गेटमा वामदेवको धक्का

कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

बाफिकोट ६ का कृषकलाई निःशुल्क बीउ वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *