अनुसन्धान समितिको भूमिकाप्रति आक्रोश

सुर्खेत, ३ जेठ ।
प्रहरी जवान मृत्यु घटनाको अनुसन्धान गर्ने समितिको भूमिकाप्रति स्थानीयबासीन्दा तथा आफ्न्तहरुले आक्रोश व्यक्त गरेका छन् । घटनाको प्रकृति, मृतकको अवस्था, घटनास्थल नजिकैका जान्ने, सुन्ने, देख्ने व्यक्तिहरुलाई नसोधेपछि प्रहरीको छानविन टोलीमाथीनै आशंका गरेका हुन । प्रहरी जवानको गोली लागि मृत्यु भएको घटनाको छानविनका लागि गठन भएको प्रहरी छानविन समिति वास्तविक अनुसन्धान गर्नुभन्दा पनि ढाकछोप गर्ने गरी लागेको आफ्न्तले आरोप लगाएका छन् ।

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का २०७७ बैशाख २९ गते सोमबारदेखि सम्पर्क विहीन भएका थिए । २०७७ बैशाख ३० गते मङ्गलबार बिहान चौकीदेखि अन्दाजी ५०० मिटर टाढा पेस्तोलसहित उनी मृत अवस्थामा भेटिएका थिए ।

मृतकका दाजु यामबहादुर खड्काले चौकी इञ्चार्जको पेस्तोल कसरी जवानको हातमा पुग्यो भनेर प्रश्न गरे । ‘ढाडमा निलडाम, बायाँ छातीमा सानो र दायाँ छातीमा ठूलो प्वाँल देखिन्छ’, उनले भने, ‘आत्महत्या गरेको व्यक्तिको हातमा पेस्तोल कसरी रहन सक्छ ? घटना शंकास्पद छ ।’ घटनापछि बनेको छानविन समितिको भूमिकाप्रति समेत उनले आक्रोश व्यक्त गरेका छन् । छानविन समिति बनेपछि प्रहरी चौकी इन्चार्जसहित सबै निलम्बित भएर अनुसन्धान बढ्नुपर्नेमा सबैलाई उही चौकीमा थमौति दिएर छानविन भएकोप्रति थप आशंका उत्पन्न भएको उनले बताएका छन् । छानविन समितिले निस्पक्ष रुपमा छानविन गर्न नसक्ने भन्दै मृतकका दाजु खड्काले सिआइवी, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक सबैलाई अनुसन्धानलाई निस्पक्ष रुपमा गरिदिन आग्रह गरेका छन् ।

घटनामा चौकी कमाण्डरको पेस्तोल प्रयोग हुनु, घटना स्थल नजिकै पेस्तोलका गोलीका खोका नभेटिनु, घटना स्थलमा मृतकको दाइने हातमा तीन औलाले पेस्तोल समाएकै अवस्थामा मृतक उत्तानो परेर सुतेको, दुवै खुट्टामा चप्पल लगाएको, हात दुवै सिधा बनाएको, दाइने कन्चटमा पेस्तोलको गोली लागेर बाँयाँबाट निस्केको, घटना स्थलमा मृतकले कुनै हलचल नगरेर सुताएको जस्तो देखिएकाले घटनामा थप आशंका उत्पन्न भएको मृतकका दाजु खड्ग बहादुर खड्काले जानकारी दिए । गोली लागेपछि उसको छटपटाहट नहुनु, खुट्टामै दुवै चप्पल देखिनु, मृतकको लास भएको स्थानमा एकदम थोरै मात्र व्लड देखिएपछि घरपरिवारसमेत सशंकित भएको उनको भनाई छ । मृतकको घटना स्थलमा उत्तानो परेर सुतेको, दायाँ हातमा पेस्तोत, दायाँ कन्चटमा गोली लागेको र बाँयाँ हाततिर मृत लासको टाउकोको अनुहार फर्किएको अवस्थामा रहेको प्रत्यक्षदर्शीको भनाई छ ।

‘छानविन समितिले गरेको भूमिकाप्रति आशंका छ ।’ प्रहरी चौकी नजिकैका स्थानीय युवाले (व्यक्तिगत सुरक्षा देखाएपछि नाम हटाइएकाे छ) भने ‘एक्लौटी रुपमा छानविन गरिएको छ । घटनास्थल नजिकका हामीसंग छानविन समितिले सोधपुच्छ गरेन । घटना स्थलभन्दा धेरै टाढाका असम्बन्धित मान्छेहरुलाई सोधिएको छ ।’ घटना भएको साँझ ४-५ बजेको समयमा सामान किन्न पसलमा आएका मृतक प्रहरी जवान नरेन्द्र खड्काले माथि कुर्ति र तल जिन्सको कपडा लगाएको स्थानीय सिंहले जानकारी दिए । उनले भने ‘घटना स्थलमा देखिँदा उनको कपडा परिवर्तन देखिएको छ ।’
घटनाका सम्बन्धमा राती १०/११ बजे चौकी नजिकै पट्कीएको आवाज सुनेको, लाइट बालेर होहल्ला गर्दै प्रहरी चौकीका अन्य प्रहरीहरु वरपर धौडधुप गरेको नजिकै रहेका अन्य स्थानीयले देखेको बताएका छन् तर उनीहरुसंग प्रहरीको छानविन टोलीले बयान नलिएरै केही व्यक्तिको मात्रै कुरा सुनेर फर्किएको छ । छानविन समितिले असम्बन्धित मान्छेहरुसंग वयन लिएर, सोधिखोजी गरेर उनीहरुबाट बनावटी टिपोट गरेको स्थानीयको आरोप छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान नरेन्द्र खड्काको मृत्यु भएका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । मृतकका आफन्तले घटना ‘शंकास्पद’ भन्दै छानबिनको माग गरेपछि प्रदेश प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेश बाँस्तोलाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।  प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाले समितिले छानविन समितिले अनुसन्धान गर्दैछ । घटनाको प्रारम्भिक र विस्तृत अनुसन्धान प्रतिवेदन, पोष्टमाटम रिपोर्ट आएपछि मात्रै वास्तविकता भन्न सकिने बताए । उनले घटनाको प्रकृति र प्रारम्भिक अनुसन्धाबाट प्रहरी जवानको आत्महत्या जस्तो देखिने बताए । गोलीको खोका घटनास्थल नजिकै नभेटिएको विषयमा उनले गोली पट्केको स्थानबाट उछिट्टीएर खोका १०/१५ मिटर टाढा पुग्ने भएकाले खोजी भैरहेको बताए ।

उक्त प्रहरी चौकीमा कार्यरत इन्चार्ज र अन्य जवानहरुलाई अन्यत्र खटाउने बारेमा लकडाउनका कारण नभएपनि छानविन समितिको प्रतिवेदनका आधारमा कारवाहीप्रक्रिया अगाडी बढ्ने प्रदेश प्रहरीका सूचना अधिकारी तिम्सिनाले बताए । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा प्रहरी टोली रहेको छ । मृतक प्रहरी जवान सुर्खेत जिल्ला लेकबेशी नगरपालिका वडा नं. ३ दशरथपुर घर भई हाल सिम्ता गाउँपालिका वडा नं. ३ स्थित आग्रीगाउँ प्रहरी चौकिमा कार्यरत रहेका थिए ।

याे पनि पढ्नुहाेस :

प्रहरी जवान मृत्युमा आफ्न्तको आशंका, अनुसन्धान जारी

 

तपाईको प्रतिक्रिया