कर्णालीमा कैदी र थुनुवा पाल्न बर्सेनी साढे ६ करोड रुपैयाँ खर्च

सुर्खेत, १८ कार्तिक ।
अपराध आफैमा दण्डनीय कार्य हो । कानुनले सानो र ठूलो, जात वा धर्म पनि चिन्दैन । अर्थात अपराधिक क्रियाकलापमा संलग्न जोकोहीलाई पनि कानुनले कठघरामा उभ्याउँछ । भनिन्छ अपराधीले कानुनबाट कहिल्यै उन्मुक्ति पाउँदैनन् । देशको कानुन अनुसार अपराधीलाई दण्ड र सजाय दिइन्छ ।

कतिपय देशमा अपराधीलाई मृत्युदण्ड नै दिइन्छ । तर नेपालको सन्दर्भमा भने अपराध गर्नेलाई कैदमा राख्नेबाहेक अन्य विकल्प छैन । जसकाकारण नेपालमा अपराधिक क्रियाकलापामा संलग्नलाई कानुनअनुसार कारागारमा थुन्ने र दण्ड दिइन्छ । अपराध अनुसार एक÷दुईदिन देखी आजीवनसम्म कैदको व्यवस्था छ । तर त्यस्ता अपराधीलाई कारागारमा राख्दा भने राज्यले बर्सेनी अर्बाैं रकम खर्च हुने गरेको छ । कानुनअनुसार दोषी ठहर भएका र घटनामा संलग्न रहेको आशंका लागेका व्यक्तिलाई कारागारमा राखिन्छ ।
दोषी प्रमाणित भएपछि कैदी र छानबिनका लागि थुनुवाको रुपमा कारागारमा राख्ने गरिन्छ । तथ्याङ्क अनुसार कर्णालीका प्रदेशका थुनुवा र कैदी पाल्न राज्यको बार्षिक साढे ६ करोडभन्दा बढी रकम खर्च हुने गरेको छ । विभिन्न अपराधिक घटनामा मुछिएका थुनुवा र दोषी प्रमाणित भएका कैदीलाई पाल्न गत आर्थिक वर्षमा मात्र राज्यको साढे ६ करोड खर्च भएको हो । प्रदेशका विभिन्न कारागारको उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा कर्णालीमा कैदी र थुनुवा पाल्न ६ करोड ४६ लाख ९० हजार नौसय चार रुपैयाँ खर्च भएको हो ।
तथ्याङ्क डोल्पामा रहेका कैदी र थुनुवाको लागि सबैभन्दा बढी रकम खर्च भएको छ । डोल्पा कारागारका जेलर दिनेश राउतका अनुसार डोल्पामा एक करोड २५ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा सरकारले कारागारलाई एक करोड रुपैयाँ मात्रै उपलब्ध गराएको थियो । डोल्पा कारागारमा हाल १७ जना कैदी र २० जना थुनुवा छन् । त्यस्तै जुम्ला कारागारमा एक कारोड चार लाख रुपैयाँ खर्च भएको छ । जुम्लामा दुई महिलासहित एकसय सात जना कैदी र थुनुवा छन् । सल्यान कारागारमा ५८ लाख रुपैयाँ, सुर्खेत कारागारमा एक करोड १२ लाख रुपैयाँ र कालिकोट कारागारमा ८१ लाख रुपैयाँ कैदीको पालनपोषणमा खर्च भएको सम्बन्धित कारागारले जनाएका छन् ।
त्यस्तै जाजरकोट कारागारमा तीस लाख ५६ हजार तीनसय ६४ रुपैयाँ, रुकुमपश्चिम कारागारमा ६४ लाख र दैलेख कारागारमा ६३ लाख ३३ हजार पाँचसय ४० रुपैयाँ कैदी र थुनुवाको पालनपोषणमा खर्च भएको छ । कर्णाली प्रदेशका दश जिल्ला मध्ये मुगु र हुम्लामा कारागार छैनन् । कारागार नहुँदा दुबै जिल्लाका कैदीबन्दीहरुलाई जुम्ला कारागारमा राखिदै आएको छ । आठ जिल्लाका कारागारमध्ये सुर्खेतमा सबैभन्दा बढी कैदी र थुनुवा छन् । शहरमा अपराधिक घटनाहरु बढी हुने भएका कारण सुर्खेतमा कैदीबन्दीको चाप बढी भएको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेल बताउँछिन् ।
जुम्ला बाहेक कर्णालीका अन्य सबै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता छ । क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यताका कारण खाने बस्नेदेखि शौचालय गर्दासमेत सास्ती खेप्नु परेको छ । जुम्ला कारागारमा पनि बर्षाैदेखि खानेपानीको समस्या छ । जुम्लापछि दैलेख कारागारको अवस्था पनि सन्तोषजनक छैन । तर सुर्खेत, कालिकोट, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यान कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी छन् ।
कहाँ खर्च हुन्छ अर्बाै रुपैयाँ ?
कैदी र थुनुवाको लालनपालन र स्थानान्तरण जस्ता कार्यमा बर्सेनी लाखौँ खर्च हुन्छ । कैदी र थुनुवा कारागार बसेदेखि उनीहरुको गास, वास र कपाससम्मको व्यवस्था राज्यले गर्छ । राज्यले दैनिक भत्तादेखि चाडपर्व खर्चसमेत कैदी तथा थुनुवालाई उपलब्ध गराउँछ । लत्ताकपडाको सन्दर्भमा कैदी र थुनुवाले कट्टुदेखि पेटीकोटसम्म पाउँछन् ।
महिला, पुरुष र आश्रित नावाकलकले बर्षमा दुई पटक लत्ताकपडा पाउँछन् । पुरुषको सन्दर्भमा जाडो समयमा कुर्था र सुरुवाल तथा गर्भी समयमा कट्टु र बुसर्टसमेत गरी दुई पटक, महिलाको सन्दर्भमा घोती, चोलो, आश्रित बालबालिकाले कमिज, सुरुवाल वा घाँघर, सुति कपडाको कोट, गलबन्दी र टोपी लगायतका लत्ताकपडाहरु दिन्छ । सुत्नको लागि दुई वर्षमा एक पटक पाखी, काम्लो, शिरक डसना र तन्ना जस्ता कपडा र तीन वर्षामा एक पटक सुकुल पाउने व्यवस्था छ ।
त्यस्तै थुनुवा वा कैदीले प्रतिदिन सातसय ग्राम मोटो चालम र साठी रुपैयाँ र हरेक वर्ष तीन सय रुपैयाँ चाडपर्व खर्च पाउँछन् । त्यस्तै आश्रित नाबालकले उमेर अनुसार सिधा पाउँछन् भने थुनुवा कैदीले पाउने सिधाको अतिरित्तक सुत्केरीले सुत्केरी हुनुभन्दा तीन दिनअघिदेखि सुत्केरी भएको मितिले ६० दिनसम्म सातसय ग्राम मसिनो चावल, प्रतिदिन एकसय ग्राम घ्यूउ, प्रतिदिन एक सय मिलिलिटर खाने तेल, प्रतिदिन ५० ग्राम ज्वानो, सुत्केरी कपडा, पोष्टिक आहारदेखि अस्पतालमा सुत्केरी हुन पाउँछन् ।






