सामान ओसार्न तुइनकै भर !

सल्यान, १८ भदौं ।
वि.सं. २०७२ असोजमा सरकारले देशभरका तुइन दुई वर्षभित्र पुलले विस्थापन गर्ने घोषणा ग¥यो। तोकिएको समयभित्रै काम सम्पन्न नभएपछि दर्जनौं स्थानका पुल यतिखेरसम्म विस्थापित गरिसकिएको छ। तर, सुर्खेत र सल्यानको सीमामा बस्ने नागरिकहरूले सामान ओसारपसार गर्न अझै तुइन प्रयोग गरिरहेका छन् । जीर्ण भइसकेको तुइन प्रयोग गर्न शुल्क समेत तिर्नुपर्छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ रैकरदेखि सुर्खेत सिम्ता गाउँपालिका ७ बैसपानीसम्म जोडिएको १ हजार १ सय मिटर लामो तुइन अझै प्रयोगमा रहेको सञ् चालक अम्बर खत्रीले जानकारी दिए । मानिस वारपार नगरेपनि शुल्क तिरेर नियमित रूपमा तुइनमार्फत सामान वारपार गराउने गरिएको उनी बताउँछन् ।
सामान वारपार गराए वापत प्रतिकिलो १ रूपैयाँ ५० पैसा लिने गरेको उनले जानकारी दिए । रैकरबाट उकालोमा ४० किलोसम्म र ओरालोमा ८० किलोसम्म सामान वारपार गराउन सकिने खत्रीले जानकारी दिए । उनले सामान वारपार गराएबापत प्राप्त हुने १ रूपैयाँ ५० पैसामध्ये ५० पैसा तुइन मर्मतका लागि जम्मा गरिने र बाँकी एक रूपैयाँ आफ्नो पारिश्रमिक वापत लिने गरेका छन् ।
वि.सं २०६८ भदौमा तत्कालिन जिल्ला विकास समिति सुर्खेतको ६५ हजार, साविक काप्रचौर गाविसको २५ हजार सहयोग र प्राक्टिकल एक्सन नेपाल, दलित सेवा संघ सुर्खेत र विश्व खाद्य संस्था सल्यानको सहयोग र जनताको श्रमदानबाट उक्त तुइन बनेको हो । झोलुंगे पुल भएपनि पुलबाट सामान वारपार गर्न अप्ठेरो भएकाले नगद तिरेर भएपनि तुइनबाट सामान वारपार गराउँदै आइरहेको शिक्षक नवीन केसीले बताए । तुइन मर्मत गर्न सुर्खेतको सिम्ता गाउँपालिकाले ९० हजार रुपैयाँ सहयोग गरेकोछ । सामान बोकेकै पैसाबाट तुइन मर्मत गरिने सामानबाहेक अरू व्यक्तिहरू झोलुङ्गे पुलबाट जाने केसीले जानकारी दिए ।






