कोरोनालाई जितेकाहरु भन्छन् : हल्ला गरेजस्तो रहेनछ

सुर्खेत, १६ भदौ ।
गत जेठ ५ गते । दैलेखको आठबीसकोट नगरपालिकाका–३५ डम्मर नेपालीको जीवनमा सबैभन्दा ठूलो संकट प¥यो । जिन्दगी यतिकै रहेछ जस्तो लाग्यो । सुरुमा उनी निकै आत्तिए । घरपरिवार र दौतरीहरु सबैसँग टाढा हुनुपर्ने जस्तो भयो । यसरी आत्तिनु पछाडिको कारण उनलाई कोरोना संक्रमण भएको थियो ।

नआत्तिउन पनि कसरी । उनी कोरोनाबाट बच्नकै लागि भारतबाट फर्किएर गाउँ पुगेका थिए । कोरोनाबाट बच्नकै लागि भारतको गुजरातबाट दश दिन हिँडेर नेपालको सिमानमा आइ पुग्नुको कष्ट, ४३ दिन नाकामै थुनिएका पीडा । सबै खेप्न तयार भएका थिए । तर अन्तत गाउँ पुगेको पाँच दिनमै उनी कोरोनाबाट टाढा हुन सकेनन् ।उनी नै कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमितको रुपमा दर्ज भए ।

‘सुरुमा त बाँचिदैन कि जस्तो गालेको थियो’ संक्रमित हुँदाको पहिलो क्षण सुनाउँदै उनी भन्छन्, ‘कोरोना संक्रमणको खबर सुन्नेवित्तिकै छाँगाबाट खसे जस्तो भयो, केही सोच्न पनि सकिन ।’ तर त्यसको झण्डै तीन हप्तापछि उनले कोरोनालाई सहजै जिते । ‘तातोपानी खाएँ, व्यायाम पनि गरे’ उनले भने, ‘आत्मवल भए बाँचिदो रहेछ ।’ संक्रमित भएपछि परिवारको पनि हौसला पाए रोगलाई सजिलै जित्न सकिने उनको अनूभव छ । ‘सुरुसुरुमा त अब के हुने होला ? आजसम्म मात्र बाँच्न लेखेको रहेछ भन्ने लाग्यो’ उनले भने, ‘डाक्टरले नै चेकजाँच नगरेपछि अस्पताल पुग्दा पनि बाँच्छु जस्तो लागेको थिएन ।’

अन्य रोग जस्तो पटक–पटक चेकजाँच र औषधि उपचार नभएकै कारण दैलेखको आइसोलेसनमा हुँदा आत्तिएका थिए उनी । उपचारको अभावमा मरिन्छ कि भन्ने लागेर उनी दैलेख आइसोलेसनबाट प्रदेश अस्पतालको आइसोलेसनमा आएका थिए । दैलेखको महाँवु गाउँपालिका– १ निवासी ८६ वर्षीया इन्द्रादेवी थापालाई पनि उस्तै कठिनाइ आइप¥यो । प्यारालाइसिस समस्याबाट ग्रस्त उनलाई दैलेखबाट प्रदेश अस्पताल रिफर गर्दा नै आफूलाई ठूलै रोग लागेको हो कि भन्ने लागेको थियो ।

साउन दोस्रो हप्ता प्रदेश अस्पतालमा उपचार गर्न आउँदा कोरोना संक्रमण पुष्टि भयो । जीवनको आठ दशक पार गरिसकेकी उनलाई जिन्दगीको अन्तिम अवस्था आएको जस्तो अनुभव भयो । तर उनेले १४ दिनपछि नै कोरोनालाई जितिन् । स्वास्वप्रश्वास र प्यारालाइसीस जस्ता रोगले च्याप्दै गएकी थापालाई उपचारमा संलग्न डाक्टरलाई पनि कोरोना संक्रमणबाट उनी मुक्त होलिन् भनेर ढुक्क थिएनन् । अन्ततः भदौ २ गते ८६ वर्षीया इन्द्रादेवी पनि कोरोनामुक्त भइन । ‘मनलाई बलियो बनायो भने कोरोनालाई जित्न सकिने रहेछ’ उनले भनिन्, ‘बाँच्नु लेखेको रहेछ, कोरानालाई सजिलै जितेँ । खुसी लागेको छ ।’

विक र थापा मात्रै होइन, अन्य कोरोनालाई जितेकाहरुको अनूभव पनि उस्तै छ । संक्रमित हुँदा पनि आवश्यक सुरक्षा सावधानी अपनाउँदा र आत्मबल बलियो बनाउँदा कोरोनालाई जित्न सकिने बताउँछन् । दरिलो आत्मविश्वासले कोरोना पराजित गरेको बताउनेहरु अन्यलाई पनि आत्मबल बलियो बनाउन सुझाव दिन्छन् । बरु समाजबाट हुने छोइछिटो र असमान व्यवहारका कारण मानसिक तनाव खेप्नु परेको उनीहरुको भनाइ छ । संक्रमणमुक्त भएर घर जाँदा पनि समाज र परिवारको व्यवहारका कारण तनावमा पर्ने गरेका छन् ।

दुई हजारले कोरोना जिते
कर्णाली प्रदेशमा हालसम्म दुई हजारभन्दा बढीले कोरोना जितेका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये दुई हजार ८६ जना कोरोनामुक्त भएका छन् । आइतबार मात्रै कर्णालीका विभिन्न आइसोलेसन र अस्पतालबाट गरी १५ जनाले कोरोनामुक्त भएर घर फर्किएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले जानकारी दिए ।

कर्णालीमा अझै तीनसय पाँच जना विभिन्न्न आइसोलेसन र अस्पतालमा उपचाररत छन् । मन्त्रालयको तथ्याङ्क अनुसार सुर्खेतमा ६५ जना, दैलेखमा ५३ जना, जाजरकोटमा २४ जना र सल्यानमा ४१ जना संक्रमितहरु आइसोलेसनमा छन् । त्यस्तै रुकुमपश्चिममा ३४ जना, जुम्लामा ७८ जना र कालिकोटमा १० जना संक्रमित पनि आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, मुगु र डोल्पामा संक्रमित शुन्य छ ।

चार जना होटलमा २१ जना होम आइसोलेसनमा
कर्णालीका कुल संक्रमितमध्ये २१ जना होम आइसोलेसनमा बसेका छन् । जसमध्ये होम आइसोलेसनमा बस्नेको संख्या सुर्खेतमा सबैभन्दा बढी रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतमा मात्रै १३ जना होम आइसोलेसनमा बसेका छन् । ज समध्ये वीरेन्द्रनगरमा आठ जना र चौकुने गाउँपालिकामा पाँचजना होम आइसोलेसनमा बसेका छन् ।

त्यस्तै रुकुमपश्चिको मुसिकोट गाउँपालिकामा पाँच जना र त्रिवेणी गाउँपालिकामा दुई जना र कनकासुन्दरी गाउँपालिका जुम्लामा एकजना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै सुर्खेत वीरेन्द्रनगरका चार संक्रमित भने होटलको आइसोलेसनमा बसेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यकर्मीसहित ४० जना संक्रमित थपिए
यस्तै कर्णालीमा आइतबार स्वास्थ्यकर्मीसहित ४० जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सुर्खेतका मात्रै ३७ र जुम्ला, बाँके र बैतडीका एक/एक जना रहेका छन् । संक्रमितहरु उद्योगी व्यवसायी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सर्वसाधारणहरु हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार संक्रमितमध्ये प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक जना स्वास्थ्यकर्मी, क्वारेन्टिनमा सुरक्षार्थ खटिएका चार जना सुरक्षाकर्मी छन् ।

प्रदेश अस्पतालमा उपचाररत एक विरामी, तीन जना भारतबाट आएका सर्वसाधारणहरु हुन् । जसमध्ये सुर्खेतको वीरेन्द्रनगरका २८ जना, गुर्भाकोट नगरपालिकाका आठ जना र चौकुने गाउँपालिकाका एक र जुम्ला, बाँके र बैतडीका एक/एक जना रहेका छन् ।  प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । कन्ट्रायाक ट्रेसिङको क्रममा उनीहरुमा संक्रमण देखिएको हो । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार चार सय ४२ पुगेको छ ।

कोरोनालाई जितेकाहरु भन्छन् : हल्ला गरेजस्तो रहेनछ

सम्पादकीय : बस्ती स्थानान्तरण गर

कोरोनालाई जितेकाहरु भन्छन् : हल्ला गरेजस्तो रहेनछ

बनगाड–गर्चे–भेरी नदीमा गुरु योजना बनाइने : सांसद

Leave a comment

Your email address will not be published. Required fields are marked *