रिसाए उपप्रधानमन्त्री खड्का

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तीन दिन देखि ३४ औं राष्ट्रिय भलिवल प्रतियोगिता जारी छ । खेलकुद ईतिहासमा सुर्खेतमा दोस्रो पटक आयोजना भएको यो प्रतियोगितामा सात प्रदेशका सात वटा र विभागिय तीन ओटा गरी दश वटा टिमको सहभागिता रहेको छ ।
भलिबल खेल सौहाद्ररुपमा भइरहेपनि खेलकुद प्रतियोगिता उद्घाटन सत्रका कारण कर्णालीको राजनीति तरंगित बनेको छ । आयोजक भलिबल संघप्रति कर्णालीका नेताहरु विभाजित बन्न पुगेका छन् भने भलिबल प्रतियोगिता विहानै सुरु गरिएको र औपचारिक भाषण गर्न मात्र दिईएको भन्दै उपप्रधानमन्त्री एवम रक्षा मन्त्री पूर्णबहादुर खड्कासमेत आक्रोशित बनेका थिए । उनी मात्रै होईन, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा समेत आयोजकको व्यवहारबाट सन्तुष्ट छैनन् ।
कर्णाली प्रदेश सरकारले यो प्रतियोगिता आयोजना गर्नका लागि ४४ लाख रुपैंया आर्थिक सहयोग गरेका छ, तर आयोजकले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु भन्दा पनि बढी प्राथमिकता उपप्रधानमन्त्री खड्कालाई दिइएपछि काँग्रेसको संस्थापन इतरसमूह मात्रै होईन, नेकपा एमाले, नेकपा माओवादीसमेत चिढिएको छ ।
उद्घाटन सत्रको अतिथिको विवरण समेत कर्णाली खेलकुद विकास परिषदलाई जानकारी दिएन आयोजकले, तर प्रतियोगितामा हुने सबै खर्चको भुक्तानी गर्ने कार्य यहि परिषदले गर्नेछ । परिषदका पदाधिकारीलाई अतिथि बनाइएपनि परिषदका तर्फबाट सम्वोधन समेत गर्न नदिइएको भन्दै परिषद पनि रुष्ट बनेको छ आयोजकसँग ।
यी वाहेक प्रतियोगितामा विभिन्न खालका राजनीतिक तरंगहरु छरपस्ट बनेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न तयार कर्णाली प्रदेश कतै यो राजनीतिक रुष्टताले कुनै अवरोध सिर्जना हुने त होईन भन्नेमा शंका गर्ने वातावरण बन्न थालेको छ ।
को सहभागि भए उद्घाटन सत्रमा ?
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कंडेल, नेपाली काँग्रेसबाट सरकारमा सहभागि सामाजिक विकास मन्त्री खड्क पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णबहादुर बिसि उद्घाटन सत्रमा सहभागि भएका थिए ।
देशभरीकै खेलाडीहरु सुर्खेतमा जम्मा भइरहेको समयमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा मात्रै होइनन, सरकारमा माओवादी केन्द्रबाट सहभागी भएका कुनैपनि मन्त्रीहरु उपस्थित भएनन् ।
माओवादीबाट सरकारमा सहभागि मुख्यमन्त्री तथा मन्त्रीहरु सहभागि नभएपछि उपप्रधानमन्त्री खड्कालाई भने कतै माओवादीले आफू सहभागि कार्यक्रम बहिष्कार गरेका हुन कि भन्ने पर्न गएको थियो । ‘उहाँले माओवादीबाट सकेसम्म मुख्यमन्त्री नभए अन्य मन्त्रीहरु सहभागि हुनुहुन्छ होला भन्ने अपेक्षा गर्नुभएको थियो तर कार्यक्रम सकिउन्जेल माओवादीबाट सरकारमा सहभागि कोही पनि मन्त्रीहरु कार्यक्रममा सहभागि नभएपछि उहाँले प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई वीनपा–७ इत्रामस्थित आफ्नो निवासबाट फोन गर्नुभएको हो ।’ काँग्रेसका एक नेताले युगआव्हानसँग भने, ‘फोनमा आफू प्रमूख अतिथि रहेको कार्यक्रममा गठबन्धन दलकै मन्त्रीहरु सहभागि नहुनु अच्चमलाग्दो भएको बताउँदै यस्तो किन भएको हो भनेर प्रश्न गर्नुभएको हो ।’
मुख्यमन्त्री सुर्खेत आएपनि भएनन् सहभागि
यता, मुख्यमन्त्री राजकुमार शर्मा काठमाडौंबाट सोही विहान सुर्खेत आइपुगेका थिए । मुख्यमन्त्री शर्मा नआएको खण्डमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल शाही कार्यक्रममा सहभागि हुने तयारी थियो । तर मुख्यमन्त्री आइसकेपछि उनी कार्यक्रममा गएनन् ।
‘कार्यक्रममा विभागिय मन्त्री सहभागि हुने, अन्य मन्त्रीहरु लाईन लागेर नजाने अनौपचारीक सहमति भइसकेका कारण मन्त्रीज्यू त्यहाँ जानु भएन ।’ मन्त्री शाही स्रोतले भन्यो, ‘तर आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण विसी, सामाजिक विकास मन्त्री खड्क पोखरेलसँगै उपस्थित भइदिँदा त्यसले राजनीतिक रंग पाएको हो ।’
मञ्चमा माओवादी मन्त्री सहभागि नहुनु भन्दा पनि आयोजकले मुख्यमन्त्री शर्मालाई जानकारी नै नदिएर प्रमूख अतिथिका रुपमा उपप्रधानमन्त्रीलाई निम्तो दिएको थियो । उक्त निम्तो दिएसँगै मुख्यमन्त्री शर्मालाई आयोजकले वेवास्ता ‘गरेको महसुस’ मुख्यमन्त्री शर्मालाई भयो ।
‘उहाँहरुले कर्णाली प्रदेश सरकारले झण्डै आधा करोड लगानी गरेको थाहै थियो । प्रमूख अतिथि कसलाई बनाउने भन्ने कुराको पहिले छलपल गर्न आवश्यक थियो । उपप्रधानमन्त्रीलाई प्रमूख अतिथि बनाएको रिस मुख्यमन्त्रीज्यूलाई होइन, कम्तिमा सल्लाह त हुनुप¥यो नि ?’ मुख्यमन्त्री स्रोत भन्छ, ‘तर यहाँ उद्घाटन खेललाई राजनीतिकीकरण गरियो ।
उपप्रधानमन्त्री आउने भनेपछि विमानस्थलमा स्वागत गर्नुपर्ने कुरा होला, पदको मर्यादा कायम गर्ने कुरा होला, सरकारका पनि केहि प्राथमिकता हुन्छन होला नि, आयोजक नै हावी भइदिने ? सल्लाह त गर्नप¥यो नि ?’
आयोजकले अतिथिका रुपमा सहभागि भईदिन उद्घाटन सत्रको अघिल्लो दिन फोनबाट मुख्यमन्त्री शर्मालाई जानकारी दिएको थियो ।
‘त्यत्रो प्रतियोगिता आयोजना हुनु र प्रदेशकै लगानी हुने कार्यक्रमका लागि मुख्यमन्त्री ज्यूलाई फोनबाट अतिथि बनिदिन आग्रह गर्नु भनेको के हो ? यो भनेको त सरासर अपमान नै हुनु हो नि होइन ?’ स्रोत भन्छ ।
उसो त पर्यटन मन्त्रीसमेत कार्यक्रममा नजाने तयारीमा थिए । ‘विभागिय मन्त्री, मुख्यमन्त्री तथा उपप्रधानमन्त्री नै सहभागि हुने भएपछि कार्यक्रममा नजाने तयारी मन्त्री ज्यूको थियो । लाईन लागेर कार्यक्रममा मन्त्रीहरु नजाने निर्देशन भएको समयमा सोही निर्देशन अनुसार मन्त्री ज्यू मन्त्रालयमा जाने तयारीमा हुनुहुन्थ्यो ।’ मन्त्री स्रोत भन्छ, ‘तर बारम्बार सामाजिक विकास मन्त्री र अर्थमन्त्रीले फोन गरेपछि उहाँ कार्यक्रममा जानु भएको हो ।’
को मन्त्री कहाँ थिए ?
काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्रीहरु सहभागि छन् । ती तीनै जना मन्त्रीहरु कार्यक्रममा सहभागि भइसकेका थिए । सोही दिन आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी कार्यक्रम सञ्चालन भइरहेको समयमा काठमाडौंबाट सुर्खेत आइपुगेका थिए ।
त्यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल शाही सुर्खेतमै थिए भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा वीरेन्द्रनगरमै आयोजित च्याउ खेतिसम्वन्धी एक कार्यक्रममा सहभागि भएका थिए । उर्जा मन्त्री उर्मिला विश्वकर्मा पनि सुर्खेतमै भएकी भएपनि उनिसमेत कार्यक्रममा उपस्थित भइनन् ।
आचारसंहिता पालना गरेका हौंः मन्त्री जिसी
बहुप्रतिक्षित प्रतियोगितामा माओवादीका तर्फबाट सरकारमा सहभागि तपाईहरुबाट कोहीपनि सहभागि नहुनुको अर्थ बहिष्कार गर्नु भएको हो ? भन्ने प्रश्नमा सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री जिसिले भने, ‘हामीले सबै मन्त्रीहरु एकै कार्यक्रममा नजाने भन्ने आचारसंहिता बनाएका छौं, सोही अनुसार विभागिय मन्त्री ज्यू कार्यक्रममा सहभागि हुनु भएको हो । उनले भने, सरकार भनेको सरकार नै हो, त्यहाँ माओवादी र काँग्रेस भन्ने नै हुन्छ र ?’
उनले कुनैपनि कार्यक्रममा विभागिय मन्त्री सहभागि हुने भन्ने निर्णय गरिएका कारण सोही आचारसंहिता पालना गर्न आफूहरु नगाएको प्रतिक्रिया दिए । उनले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सरकार निरन्तर लागिपरेको बताउँदै माओवादी निकटका मन्त्रीहरु सहभागि नभएको वा बहिष्कार गरेको भन्ने अर्थमा बुझ्न गलत हुने तर्क गरे ।
कसलाई निम्तो दिइएको हो थाहा थिएनः सदस्य सचिव सञ्जेल
यता, प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र सञ्जेलले आफूहरु आयोजक नभएका कारण उदघाटन सत्रमा कसलाई कसले बोलाए भन्ने कुराको जानकारी नभएको बताए ।
‘उहाँहरु आयोजकलाई नै थाहा होला, हामीलाई उहाँहरुले कसलाई बोलाइएको छ भन्ने बारेमा कुनैपनि जानकारी दिनु भएको थिएन ।’ उनि भन्छन, ‘हामीलाई दिइएको निम्तोका आधारमा हामी कार्यक्रममा सहभागि भएका थियौं, अन्य कुराको बारेमा जानकारी भएन ।’
यसकारण रिसाए उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री खड्का रिसाउनुको कारण धेरै छन् । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु कार्यक्रममा सहभागि नहुनु मात्रै होइन, एमाले नेता यामलाल कंडेलको भाषणले समेत उनलाई रिसाउन मलजल गरेको थियो ।
कंडेलले रक्षा मन्त्रालय नै सुर्खेतमा भएको जस्तो गरि सामान्य कार्यक्रम उद्घाटन गर्न आउने गरेको व्यंग्य गरेपछि उनी रातो पिरो बनेका थिए । सुर्खेतमा सामान्य कार्यक्रम उद्घाटन गर्न आउने र जाने गरेको आरोप लागिरहेको समयमा प्रतियोगिताको उद्घाटन हुनु र औपचारिक रुपमा भलिबल खेल आफू आएपछि सुरु गर्न दिएको निर्देशन आयोजकले नमान्दा उनी थप रिसाएका थिए ।
त्यसपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर सिधै काठमाडौं फर्किए ।
सबै जिम्मा प्रदेशकै होः अध्यक्ष चन्द
यता नेपाल भलिवल संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चन्दले पनि आफूलाई को आए को आएनन भन्ने बारेमा कुनै जानकारी नभएको बताए । ‘यो सबै कुरा प्रदेशले हेरिरहेको छ । प्रदेशले नै लगानी गरेको हुँदा उहाँहरुलाई बढी थाहा होला ।’ उनले भने, ‘हामीले निमन्त्रणा सबैलाई दिएको हो त्यो बारेमा धेरै कुरा जानकारी भएन ।’





