कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई दम्भ नदेखाउन चेतावनी दिएका छन्।

बुधबार काठमाडौँमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको दुई दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै दाहालले संघ र प्रदेशको चुनाव आउनै लाग्दा कांग्रेसमा दम्भ देखिने आशंका बढेको बताएका हुन्।

स्थानीय तहको चुनावपछि एमालेसँग फेरि माओवादीको सहकार्य हुने चर्चा सुरु भएका बेला दाहालले कांग्रेसलाई अहंकार देखाए ठेगान लगाउने चेतावनी दिएका हुन्।

दाहालले प्रशिक्षण कार्यक्रममा भने, ‘अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौँ। मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो। हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ। हाम्रो अर्को केही छैन। तर हामी चिन्तित छौँ यतिबेला। फेरि कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन, अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरि एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ हामीलाई। त्यसकारण म कांग्रेसका नेता साथीहरुलाई र कांग्रेस पार्टीलाई पनि भन्न चाहन्छु अहंकार र दम्भले कसैको पनि हित गर्दैन।’

दाहालको यस्तो अभिव्यक्तिलाई आउँदो संघ र प्रदेशको चुनावका लागि बार्गेनिङका रुपमा लिइएको छ। उनले कांग्रेस एमालेको दम्भ बढाइदिन र घटाउने आरोप माओवादीमाथि लागेको उल्लेख गरे।

 

प्रचण्डले भने, ‘माओवादीले कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप छ। त्यस्तो गरेकोजस्तो देखिन्छ तर जसले दम्भ देखायो, त्यसविरुद्ध माओवादीले विद्रोह गर्दै आएको छ।’

माओवादीले आफ्नो फरक पहिचान गुमाउँदै गएको उल्लेख गर्दै उनले फरक देखिनका लागि संघर्ष जारी राख्नुपर्ने बताए।

उनले माओवादीको अनुहारका रुपमा पार्टीबाट निर्वाचित १२१ प्रमुख र १३० जना उपप्रमुख भएकाले त्यसलाई ध्यान दिएर काम गर्न निर्देशन दिए। ‘माओवादीको अनुहार भनेको हाम्रा जनप्रतिनिधि हुन्। पहिलाजस्तो हामीसँग जनसेना छैन, मिलेसिया पनि छैन, जन सरकार पनि छैन, जनताले माओवादी भनेर चिन्ने तपार्ईंहरुलाई नै हो,’ उनले भने।

उनले पहिला जितेको ठाउँमा अहिले हार्नु गम्भीर भएको टिप्पणी गरे। ‘केन्द्रमा चुनावी समीक्षा गर्दैछौँ, तपाईंहरुले आफ्नो पालिकामा पनि गम्भीर समीक्षा गर्नुहोस्, सामान्य होइन है,’ दाहालले भने।

 

कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

चौकुने कार्यपालिकाको चुनावमा गठबन्धन विजयी

कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

मुगुमा लेक लागेर प्रहरीको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *