वित्तिय पहुँचमा कर्णाली कमजोर : दुई लाख नागरिकको बैंक खातानै छैन

सुर्खेत, १६ चैत ।
संघीयतापछि गाउँगाउँमा स्थानीय सरकार छन् । दुर्गम क्षेत्रमा पनि बैंक तथा वित्तिय संस्थाहरु पुगेका छन् । तर बैंक तथा वित्तिय संस्थाहरु गाउँ पुगे पनि नागरिकको पहुँच भने वित्तिय क्षेत्रमा पुगेको छैन । विकासका अन्य सूचाङ्क जस्तै वित्तिय पहुँचमा पनि कर्णाली प्रदेश निकै कमजोर देखिएको हो ।
यहाँका अधिकांश नागरिक वित्तिय पहुँचभन्दा बाहिर छन् । प्रदेशका १६ लाख ९४ हजार नागरिक मध्ये १४ लाख ७४ हजार नागरिकको मात्र बैंक खाता छ । १४ लाख मध्ये पनि आर्थिक कारोबारका लागि बैंक खाता खोल्नेहरु न्यून छन् ।
सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि जेष्ठ नागरिकले खोलिएको खाता र एउटै व्यक्तिका पनि दुई थरी खाताका कारण संख्या बढेको हो । राष्ट्र बैंकले गरेको अध्ययनअनुसार अहिले पनि कर्णालीका दुई लाख २० हजार व्यक्तिले बैंक खाता नै खोलेका छैनन् ।
बैंक खाता नहुने नागरिकले अहिले पनि परम्परागत रूपमा कारोबार गर्दै आएका छन् । उसो त प्रदेशमा वित्तिय संस्थाहरुको न्यून रहेको छ । कर्णालीमा हाल ‘क’ वर्गका एकसय ९५ वटा, ‘ख’ वर्गका १९ वटा, ‘ग’ वर्गका तीन वटा र ‘घ’ वर्गका दुई सय २७ वटा वित्तिय संस्थाहरु रहेको नेपाल राष्ट्र बैङ्क सुर्खेतका सहायक निर्देशक पूर्णबहादुर नेपालीले जानकारी दिए ।
भएका संस्थाहरु पनि दुर्गमभन्दा सुगम क्षेत्रमै क्रियाशिल छन् । तथ्याङ्कअनुसार हुम्लामा १२ वित्तिय संस्थाहरु क्रियाशिल छन् । प्रदेश राजधानी सुर्खेतमा भने एक सय ३५ वटा वित्तिय संस्थाहरु छन् । त्यस्तै सल्यानमा ७४ वटा, दैलेखमा ५४ वटा र रुकुमपश्चिममा ४७ वटा वित्तिय संस्था रहेका छन् ।
त्यस्तै मुगुमा १३, डोल्पामा १५, कालीकोटमा २६ र जुम्लामा ३६ वटा वित्तिय संस्था छन् । त्यस्तै ७२ प्रतिशत अर्थात १२ लाख १९ हजार ६ सय ८० जना नागरिक कर्जाको पहुँच भन्दा बाहिर छन् ।
भौगोलिक विकटताका कारण सर्वसाधारण वित्तिय संस्थामा पुग्न समय र खर्च धेरै लाग्नु, वित्तिय साक्षरता नहुनु, आर्थिक गतिविधिहरु नहुनु, इन्टरनेटको अभाव, बैङ्किङ शिक्षाको कमी, प्रक्रियागत झन्झटले वित्तिय संस्थामा पहुँच पुग्न कठिनाइका कारण ७२ प्रतिशत नागरिक कर्जाको पहुँचभन्दा बाहिर रहेका हुन् । प्रदेशका हाल २७ प्रतिशत नागरिकले मात्र कर्जा लिएका छन् । उनीहरुले पनि घरजग्गा खरिदमा, कृषि तथा पशुपालन, शिक्षामा पनि कर्जा लिने गरेका हुन् ।
५५ अर्ब लगानी
कर्णालीमा सक्रिय वित्तिय संस्थाले ५५ अर्बभन्दा बढी रकम कर्जामा लगानी गरेका छन् । राष्ट्र बैंकको अध्ययन अनुसार वित्तिय संस्थाले ५५.४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् । त्यस्तै ४९.३१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् ।
निक्षेप सङ्कलन र कर्जा लगानीमा पनि प्रदेश राजधानी सुर्खेतमै बढी छ । सुर्खेतमा १९.०५ अर्ब निक्षेप सङ्कलन र ३३.५७ अर्ब रुपियाँ कर्जा लगानी भएको सहायक निर्देशक नेपालीले बताए । तथ्याङ्क अनुसार डोल्पामा सबैभन्दा कम निक्षेप अर्थात १.९० अर्ब रुपियाँ र कर्जा ०.४९ अर्ब रुपियाँ लगानी भएको पाइएको छ ।
इन्टरनेट बैङ्किङ प्रयोगकर्ता दश हजार
सूचना र प्रविधिको विकाससँगै विद्युतीय कारोबार बढ्दो छ । तर कर्णाली प्रदेशमा भने अहिलेसम्म मुस्किलले दश हजार नागरिक मात्र इन्टरनेट बैङ्किङ प्रयोगकर्ता रहेका पाइएको छ ।
अध्ययन अनुसार कर्णालीका नौ हजार नौसय ६८ जना मात्रै इन्टरनेट बैङ्किङ प्रयोगकर्ता छन् । त्यस्तै चार लाख ८३ हजार ८१ जना मोबाइल बैङ्किङ प्रयोगकर्ता छन् ।
डेबिटकार्ड प्रयोगकर्ता दुई लाख एकहजार तीन सय २८ र क्रेडिटकार्ड प्रयोगकर्ता एक हजार तीन सय ६६ रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रदेशभर ८२ वटा एटीएम सेवाहरु छन् ।
दश जिल्लामध्ये डोल्पामा अहिलेसम्म एटीएम सेवा छैन । मुगु र हुम्लामा दुइ/दुइवटा मात्रै एटीएम छन् । त्यस्तै जुम्लामा सात, कालीकोटमा चार, रुकुपश्चिममा आठ, जाजरकोटमा पाँच, दैलेखमा सात, सल्यानमा ११ र सुर्खेतमा ३६ वटा एटीएम सेवाहरु छन् ।
वित्तिय साक्षरता फैलाउँदै बैंकहरु
पछिल्लो समय केही बैंकहरुले भने कर्णालीमा वित्तिय साक्षरता फैलाउन थालेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले सर्वसाधारणलाई वित्तिय साक्षरता फैलाउन थालेका हुन् ।
एनएमवी बैंक कर्णाली प्रदेश कार्यालयको सुर्खेत र दैलेखमा सप्ताहब्यापी वित्तिय साक्षरता अभियान नै सञ्चालन गरेको छ । बैंकले सुर्खेतका पंञ्चपुरी नगरपालिका, लेकबेंसी नगरपालिका, बराहताल गाउँपालिका र दैलेखका नारायण नगरपालिका, गुराँस गाउँपालिका र नौमुले गाउँपालिका पुगेर वित्तिय साक्षरता फैलाएको छ ।
बैंकले सर्वसाधारणलाई आम्दानी, खर्च, बचत, ऋण, सापटी तथा बजेटको आधारभुत ज्ञान, बैंकिङ्ग तथा वित्तीय संस्थासंग कारोवार लगायतका विषयमा अभिमुखिकरण गरेको एनएमवी बैंकका कर्णाली प्रदेशका एरिया मेनेजर मित्रराज प्याकुरलेले जानकारी दिए ।






