शैक्षिक गुणस्तर सुधार्न कार्यान्वयनमूखि नीति चाहिन्छ

झण्डै दुई दशकदेखि शिक्षण पेशामा सक्रिय गणेशकुमार ढकाल सुर्खेतमा कार्यरत छन् । २०६० सालदेखि सामुदायिक विद्यालयको स्थायी शिक्षक उनी पछिल्लो दुई बर्षदेखि सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेको नेतृत्व सम्हालेका छन् ।
अभिभावको प्रेरणाका कारण शिक्षण पेशामा आएका हुन् । उनका दाजुहरु शिक्षक भएकै कारण शिक्षक बन्ने रहर सानैदेखिको पलाएको हो । स्नातकोत्तर तहको पढाइ सकेपछि बाल्यकालको रहर पुरा गर्ने अवसर पाए । तर शिक्षण पेशामा आउन आठ बर्षको प्रतिक्षा गर्नुपरयो ।
कारण, २०५२ सालको शिक्षक सेवा आयोगको रिजल्ट २०६० सालमा मात्रै आएको थियो । प्रस्तुत छ, १८ बर्षदेखि शिक्षण पेशामा संलग्न उनै ढकालको जीवन भोगाइ र शिक्षण पेशाको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :
बाल्यकालमा गोठालो जान्थे
२०३३ साल मंसिर १२ गते गणेशकुमार ढकालको जन्म भएको हो । आमा स्व. लक्ष्मीकुमारी र बुवा भक्तीप्रसाद ढकालका कान्छा छोरा हुन् । सुर्खेतको साविक साटाखानी गाविस ९ खेकछेडा (हाल लेखवेशी नगरपालिका–८ मा उनको जन्म भएको हो । बाल्यकाल गाउँमै विताए । सानोमा घाँसदाउरा र गाई गोठालो गरे । उनले सानै उमेरमा संघर्षहरु सिके ।
कृषि पेशाबाट नै आमाबुवाले घरखर्च चलाउँथे । खसीबाख्रा र घ्यूउ बिक्रीबाट नै आम्दानीले स्रोत थियो । गणेशले सानैदेखि मेलापातमा आमाबुवालाई सघाउँथे । फुर्सदमा साथीभाइसँग गुच्छा खेलेर रमाउँथे । केही बर्षअघि जन्मस्थान छोडेका उनी हाल वीरेन्द्रनगरमा स्थायी बसोबास गर्छन् ।
पढाइका लागि संघर्ष
गणेशले गाउँकै विद्यालयबाट औपचारिक पढाइ सुरु गरे । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लामिडाँडामा कखरादेखि कक्षा ५ सम्म अध्ययन गरे । त्यसपछिको पढाइ पुरा गर्न गर्पन पुगे । कक्षा ६ देखि १० सम्मको पढाइ आर्दश माध्यमिक विद्यालय मेहेली गर्पनबाट पुरा गरे ।
२०४९ सालमा एसएलसी पास गरेका उनी उच्च शिक्षा अध्ययन गर्न वीरेन्द्रनगर झरे । तत्कालीन सुर्खेत क्याम्पस शिक्षा (हाल सुर्खेत बहुमुखी क्याम्पस) बाट आईएड र वीएडको पढाइ पुरा गरे । एमएड गर्न काठमाडौँ पुगे । काठमाडौं पुगेपछि भने उनले निकै कष्टका क्षणहरु पार गर्नुप¥यो । आर्थिक अभावले सतायो ।
परिवारकै साथ पाउने वातावरण भएन । निकै संघर्ष गरेर त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट एमएड पुरा गरे । एमएड सकिए पनि पढाइको रहर भने पुरा भएन । तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट ग्रामीण विकास विषयमा एमए गरे । शिक्षण पेशामा व्यस्त भए पनि पढ्ने रहर अझै बाँकी छ । ‘फुसर्द किन बस्नु भन्ने लाग्छ’ उनी भन्छन्, ‘म अहिले पनि क्याम्पस पढ्छु ।’
हाल उनी महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा कानून विषय (एलएलवी) पढिरहेका छन् । पढाइमा उनी मध्यम स्तरिय विद्यार्थी हुन् । विद्यार्थी जीवनमा कवर्डी, बादविवाद र हाजिरीजवाफ प्रतियोगितामा विशेष रुचि राख्थे । अहिले पनि गीत र संगीत सुन्न रुचाउँछन् ।
दाजुहरुको प्रेरणाले शिक्षक भए
गणेशका दुई दाजुहरु शिक्षक भए । ऊबेला शिक्षण पेशमा निकै आकर्षण थियो । गाउँमा शिक्षकको मानसम्मान थियो । दाजुहरु शिक्षक भएपछि गणेश पनि त्यही बाटोमा लागे । ‘अगाडिका दाइहरु शिक्षक हुनुहुन्थ्यो, उहाँहरुले शिक्षक बन्दा राम्रो हुन्छ भन्नुहुन्थ्यो’ गणेश भन्छन्, ‘दाइकै प्रेरणाका कारण म पनि शिक्षण पेशामा लागँे ।’ शिक्षण पेशामा आउन भने लामो प्रतिक्षा गर्नुपरयो ।
२०५२ सालमा शिक्षक बन्नका लागि शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गरे । तर रिजल्ट आउन झण्डै आठ बर्ष कुर्नुप¥यो । २०६० सालमा मात्र रिजल्ट आयो । पास भएपछि शिक्षक बन्ने रहर पुरा भयो । शिक्षक सेवा पास गरेपछि जीवनमा उनी सबैभन्दा धेरै खुशी भए । त्यसपछि शिक्षण गर्न जाजरकोटको शंकरभवन माध्यमिक विद्यालयमा पुगे ।
करिव एक बर्षपछि सरुवा भएर आफैले खकरा सिकेको (आदर्श मावि मेहली) मा फर्किए । करिव तीन बर्षपछि मेहलीबाट पनि सरुवा भएर सूर्यप्रकाश माध्यमिक विद्यालय मेहलकुना पुगे ।
त्यहाँ करिव चार बर्ष शिक्षण गरे । त्यसपछि शिव माध्यमिक विद्यालय धुलियाबिटमा करिव ६ बर्ष शिक्षण गरे । २०७२ सालदेखि सूर्यप्रकाश माध्यमिक विद्यालयमा कार्यरत उनले साढे दुइ बर्षदेखि विद्यालयको नेतृत्व गर्दै आएका छन् ।
विद्यालयमा राजनीति हस्तक्षण नगरौंँ
सामुदायिक (सरकारी) विद्यालयमा राज्यले अर्बाैं रकम खर्चिएको छ । पाठ्यपुस्तकदेखि शिक्षक कर्मचारीको खर्चमा मात्रै बार्षिक करोडौं रकम खर्च हुन्छ ।
भौतिक संरचनाको निर्माण र अतिरिक्त क्रियाकलापमा पनि उतिकै खर्च छ । तर शैक्षिक गुणस्तरमा भने अपेक्षित उपलब्धि भेटाउन सकेको छैन । जसमध्येको एउटा कारण विद्यालयमा हुने राजनीतिक हस्तक्षेप हो । ‘शैक्षिक गुणस्तर सुधार्न सबैभन्दा पहिले शिक्षक जिम्मेवार हुनुपर्छ’ गणेश भन्छन्, ‘अभिभावक पनि जागरुक हुनुप¥यो, विद्यालयमा राजनीतिक हस्तक्षेप हुनुभएन ।’
विद्यालयमा राजनीति हस्तक्षेप नभए शिक्षक गुणस्तर धेरै सुध्रिने उनको बुझाइ छ । शैक्षिक गुणस्तर सुधार्न चुस्त विद्यालय प्रशासन, आगरुक अभिभावक र कार्यान्वयनमूखि नीति बनाउनुपर्ने बताउँछन् । समयानुकुल शिक्षकलाई तालिम, विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी, शिक्षा समन्वय इकाइबाट नियमित अनुगमन र अभिभावकको रेखदेख भए गुणस्तर धुसारमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।







