हराउँदै थारु समुदायको संस्कृति


सुर्खेत : थारु समुदायमा आफ्नै विहे संस्कृति थियो । विहेमा वेहुला र बेहुलीको पहिरन आफ्नै किसिमको हुन्थ्यो । जन्तिहरु पनि थारु भेषभुषामै सजिएका हुन्थे । तर थारु समुदायमा अहिले त्यो संस्कृति हराउँदै गएको छ ।

अहिले थारु समुदायको विहेमा न आफ्नै पहिरन देख्न पाइन्छ, न त उनीहरुको पहिचान झल्कने गीतहरु नै घन्किन्छन् । बरु अहिले थारु समुदायमा पनि आधुनिक गीत र बाजाहरुको प्रयोग हुन थालेको छ । ‘हाम्रो पालामा विहेवारी गर्ने आफ्नै चलन थियो, आफ्नै संस्कार र संकृतिमा नाचगान हुन्थ्यो’ वीरेन्द्रनगर–२ कोलडाँडा निवासी ६८ बर्षिया टीका चौधरी भन्छिन्, ‘अहिलेका केटाकेटीले त हाम्रो संस्कृति नै भुलिसके, विहेको गीत त गाउनै जान्दैनन् ।

’ संस्कृति संरक्षणमा ध्यान नदिँदा विहेको लोकभाका नै हराएको उनको भनाइ छ । ‘पहिले विहेवारी हुँदा केटा पक्षबाट गीतगाएपछि मात्रै बेहुलालाई पगरी लगाइन्थ्यो’ उनी भन्छिन्, ‘अहिले त न विहेमा गीत गाउने चलन छ, न त युवाहरुले भाका नै जान्छन् ।’ कुनै समय थारु समुदायमा धेरै प्रकारका आफ्नै लोकसंस्कृति र पहिरन थिए ।

तर अहिले कहिलेकाँही मात्र यो समुदायले दशंैमा सखिया र माघीमा मघौटा भाकाहरु गाउँछन् । सखिया र मघौटा पनि नयाँ पुस्ताले गाउँदैनन् । आधुनिक प्रविधिका कारण थारु समुदायको लोकसंस्कृति र संस्कार हराउँदै गएको हो । ‘युवाहरुले हाम्रो भाका गाउन– बजाउन रुचि नै राख्दैनन्’ कोलडाँडाका ७३ बर्षिय महावीर थारू भन्छन्, ‘नाच्नु परे पनि डेग र उफरमै रमाउँछन्

।’ आधुनिक प्रविधिका कारण थारु समुदायको संस्कृति पुस्तान्तरण हुन नसकेको उनको बुझाइ छ । ‘सानैदेखि बालबच्चाहरु पढाइ लेखाईमा व्यस्त हुन्छन्, स्कुलकै वातावरणमा अन्य समुदायकै संस्कृति सिक्छन्’ उनी भन्छन्, ‘अहिलेका युवाहरु नयाँ जमाना अनुसार रमाउन खोज्दा हाम्रो संस्कार भुलिसके ।’ ५३ घरधुरी थारु समुदाय रहेको कोलडाँडामा अहिले ६८ बर्षिया टीका चौधरीले मात्रै थारु पहिरन लगाउँछिन् । ‘मैले बच्चैदेखि यही पहिरन लगाएँ’ टीकाले भनिन्, ‘हिजोआजको पुस्ता त पुरानो पहिरन लगाउनै मान्दैन।’ आधुनिक पहिरन लगाउन सहज भएकै कारण थारु पहिरन लगाउन छोडेको कोलडाँडाकै अर्का स्थानीय सुरतबहादुर चौधरी बताउँछन् ।

‘हाम्रो जातिको कपडा छोटा–हुन्छन्, यसले जाडो पनि राम्रोसँग छेक्दैन’ उनी भन्छन्, ‘किन्दा सस्तो र लगाउँदा सहज भएपछि हामी पनि आधुनिक पोशाक नै लगाउँछौँ ।’ आफ्नो मौलिक संस्कृति हराउन थालेपछि थारु समुदायका अगुवाहरुले पनि परम्परागत संस्कृति संरक्षणका लागि यसबारे विद्यालय तहको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने, नयाँ पुस्तालाई यसबारे जानकारी दिनुपर्ने, थारु संस्कृतिको संरक्षणमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताएका छन् ।

चाडपर्वमै सिमित थारु संस्कृति

पुस्तान्तरण नहुँदा थारु समुदायको संस्कृति र संस्कार चाडपर्वमै सिमित हुन थालेका छन् ।‘मेलापात गर्दा र अन्य समयमा थारु जातिका पहिरन लगाउँदैनौँ’ कोलडाँडाकै थारु अगुवा स्वस्ती चौधरी भन्छिन्, ‘ चाडपर्व र मेलामहोत्सवमा मात्रै थारु पहिरन लगाउँछौँ ।’ माघी र दशैं जस्ता ठूला चाडपर्वमा पनि औपचारिक कार्यक्रम हुँदा मात्रै थारु पहिरन लगाउने गरेको उनको भनाइ छ ।

कुनै समय अर्काको जग्गामा अधिंया लगाएर जीविकोपार्जन गर्ने थारु समुदायका युवाहरु अहिले पढाइ र रोजगारीमा लागेपछि थारु संस्कृति नै भुल्न थालेको स्थानीय नारायण चौधरी बताउँछन् । ‘म आफै पढ्नका लागि १५ बर्षजति काठमाडौँ बसँे, सानैदेखि पढाइमा व्यस्त हुँदा समुदायको चालचलन सबै भुलेँ’ उनले भने, ‘अन्य समुदायजस्तै पढाइ र रोजगारीमा लागेपछि नयाँ पुस्ताले थारु संस्कृति सिक्नै पाएनन् ।’

थारु समुदायको संस्कृति संरक्षणमा राज्यले पनि चासो नदिएको उनको तर्क छ ।

पेशा पनि बदलिया

कुनै समय थारु समुदायले अधिंया लगाउने र सुँगुर पालेरै जीविकोपार्जन गर्दथे । तर पछिल्लो समय थारु समुदायका नागरिकहरुको पेशा पनि बदलिएको छ । ‘राज्यले सरकारी जागिर खान सहज बनाएको छ’ स्थानीय सुरतबहादुर चौधरीले भने, ‘खेतिपाती र सुँगुरपालन भन्दा पनि अब अन्य पेशा गर्नेहरु धेरै छन् ।’

जीवनभर अर्काको अधिंया लगाएर जीवन गुजारेका सुरतका छोरा नरेशले भने नेपाली सेनामा जागिर खाए। सोही ठाउँका नारायण अहिले होटल व्यावसायमा आबद्ध भएका छन् । नरेश र नारायण मात्रै होइन, हिजोआज थारु समुदायका नागरिक अन्य पेशा÷व्यवसायमा आकर्षित हुन थालेका छन् ।

हराउँदै थारु समुदायको संस्कृति

YUGAAWHAN NATIONAL DAILY (2078-8-29)

Leave a comment

Your email address will not be published. Required fields are marked *