संगठन विस्तारसँगै जनसरोकारका माग उठाउँदै अनेमसंघ बाँके

बाँके ,१ असोज ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) बाँकेले संगठन विस्तारसँगै महिला नेतृत्व विकास र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर आफ्नो गतिविधि अघि बढाएको छ। नेकपा एमालेले सञ्चालन गरिरहेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत अनेमसंघले जिल्लाका आठवटै स्थानीय तह र ८१ वटै वडासम्म संगठन विस्तार गर्ने योजना अघि सारेको हो।
अनेमसंघ बाँके अध्यक्ष माया गौतमको नेतृत्वमा जिल्ला कमिटीले आठवटै स्थानीय तहमा पालिका कमिटी गठन तथा पुनर्गठन गर्ने र ८१ वटै वडामा वडा कमिटी गठन गर्ने लक्ष्य लिएको छ। अभियानमार्फत करिब ५०० महिलालाई संगठित सदस्यता वितरण गर्ने योजना रहेको अनेमसंघले जनाएको छ।

महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई समेत अभियानको प्राथमिकतामा राखिएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका ८१ वडामध्ये कम्तीमा १५ वडामा महिलालाई वडा अध्यक्षका रूपमा अघि बढाउने लक्ष्यसहित संगठनभित्र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
अनेमसंघले संगठन विस्तारलाई महिला अधिकार, सामाजिक न्याय, महिला सहभागिता र नेतृत्व विकासजस्ता सामाजिक सरोकारका विषयसँग पनि जोडेर अघि बढाउने जनाएको छ। स्थानीय तहसम्म पुगेर महिलाका समस्या तथा अधिकारका विषयमा आवाज उठाउने र संगठनलाई थप व्यवस्थित तथा सक्रिय बनाउने उद्देश्य रहेको जिल्ला कमिटीले जनाएको छ।
यसैबीच अनेमसंघ बाँके जिल्ला कमिटीले जनताका मौलिक हक तथा सीमावर्ती क्षेत्रका नागरिकका विभिन्न माग सम्बोधन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
अनेमसंघ जिल्ला अध्यक्ष माया गौतमले हस्ताक्षर गरेको ज्ञापनपत्रमा संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक तथा अधिकार व्यवहारमै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

ज्ञापनपत्रमा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउँदै प्रत्येक नागरिकले सहज रूपमा उपचार पाउने व्यवस्था गर्न माग गरिएको छ। स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरे पनि नागरिकले उपचारका क्रममा ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने अनेमसंघको माग छ।
त्यसैगरी आर्थिक अभावका कारण सुत्केरी महिलाले अस्पतालको गेट, सिँढी वा अस्पताल परिसरमै बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न माग गरिएको छ। सुत्केरी महिलाका लागि सरकारी तथा निजी अस्पतालमा पहिलो चरणमा कम्तीमा तीन हजार पाँच सय रुपैयाँ बराबरको औषधि तथा उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था तत्काल लागू गर्न सरकारसँग माग गरिएको छ।
सीमावर्ती क्षेत्रका नेपाली नागरिकको आवागमन सहज बनाउन पनि अनेमसंघले सरकारको ध्यानाकर्षण गराएको छ। नरैनापुर, डुडुवा, नेपालगञ्ज, जानकी र खजुरा क्षेत्रका नागरिकले सीमा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै भारतीय नम्बर प्लेट भएका मोटरसाइकल प्रयोग गर्ने नेपाली नागरिकलाई आवश्यक कागजातका आधारमा नेपालगञ्जस्थित भेरी अस्पताल तथा कोहलपुर मेडिकल कलेजसम्म सहज आवागमनको व्यवस्था गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा मोटरसाइकल आम नागरिकको दैनिक जीवन र रोजगारीसँग जोडिएको अत्यावश्यक यातायातको साधन बनिसकेको उल्लेख गर्दै नेपाली डिलरमार्फत खरिद गर्दा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने मागसमेत गरिएको छ। सम्बन्धित कम्पनीबाट उपभोक्ताले सिधै मोटरसाइकल खरिद गर्न सक्ने, कानुनबमोजिम आफैँ भन्सार प्रक्रिया पूरा गर्न सक्ने तथा आफ्नै प्रयोगमा ल्याउन पाउने गरी कानुनी व्यवस्था स्पष्ट गर्न सरकारसँग माग गरिएको छ।
अनेमसंघ बाँकेले संगठन विस्तारको अभियानलाई स्थानीय तहसम्म पुर्याउँदै महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकाससँगै नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या तथा अधिकारका विषयमा समेत निरन्तर आवाज उठाउने जनाएको छ।






