जीर्ण बन्दै सर्राको बाल अस्पताल, संरक्षण र पुनः सञ्चालनका लागि ‘घोराही बनाऔं अभियान’को माग
दाङ,३० फाल्गुन ।
घोराही–१६ सर्रामा रहेको उमा शंकर बाल अस्पताल संरक्षण गरी पुनः सञ्चालनमा ल्याउन ‘घोराही बनाऔं अभियान’ले माग गरेको छ। अभियानको टोलीले अस्पतालको स्थलगत अनुगमनपछि जिल्ला प्रशासन कार्यालय दाङ तथा सम्बन्धित सरोकारवालासँग भेटघाट गर्दै अस्पताल पुनः सञ्चालनका लागि पहल गर्न आग्रह गरेको हो।
अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा पुगेको टोलीले अस्पताल लामो समयदेखि बन्द रहँदा भवन जीर्ण बन्दै गएको, परिसर झारजंगलले ढाकिएको र बालबालिकाहरू आवश्यक स्वास्थ्य सेवाबाट वञ्चित भएको भन्दै चिन्ता व्यक्त गरेको छ। सोही विषयलाई ध्यानाकर्षण गराउँदै अभियानले शुक्रबार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्रसमेत बुझाएको छ।
ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय दाङकी निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले अस्पताल सञ्चालन र संरक्षणको विषयमा चाँडै नै सरोकारवाला निकायसँग विशेष छलफल गरिने बताउनुभयो। उहाँका अनुसार बाल अस्पताल पुनः सञ्चालनको सम्भावना र आवश्यक प्रक्रिया अगाडि बढाउन प्रशासनले पहल गर्नेछ।
यसैबीच, घोराही बनाऔं अभियानको टोलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप योगीसहित अन्य सरोकारवालासँग पनि भेटघाट गरेको छ। अस्पतालको भवन संरक्षण गर्ने तथा बन्द अवस्थामा रहेको अस्पताललाई पुनः सञ्चालनमा ल्याउने विषयमा अस्पताल व्यवस्थापन समिति, स्थानीय सरकार र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छलफल अघि बढाइने प्रशासनले जनाएको छ।
घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको उक्त बाल अस्पताल २०६६ सालमा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको थियो। भारतीय दूतावास, नेपाल सरकार तथा विभिन्न दातृ संस्थाहरूको सहयोगमा करोडौँ रुपैयाँ लगानी गरेर अस्पतालको दुईतले सुविधासम्पन्न पक्की भवन निर्माण गरिएको छ। अस्पताल परिसरमा पर्याप्त जमिनसमेत रहेको छ।
स्थानीयका अनुसार केही समय सेवा प्रवाह गरेपछि अस्पताल विभिन्न कारणले बन्द भएको हो। त्यसपछि नियमित सञ्चालन नहुँदा भवनको अवस्था दिनानुदिन जीर्ण बन्दै गएको छ भने झ्याल–ढोकाका सिसा र पल्लासमेत फुटेका छन्।
अभियानले प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा दाङ लुम्बिनी प्रदेशको महत्वपूर्ण जिल्ला तथा घोराही देशकै ठूलो उपमहानगरपालिकामध्ये एक भएकाले यहाँ गुणस्तरीय स्वास्थ्य सेवाको आवश्यकता अझ बढी रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा बालबालिकालाई लक्षित गरी स्थापना गरिएको अस्पताल बन्द हुनु दुःखद भएको अभियानको भनाइ छ।
ज्ञापनपत्रमार्फत अस्पतालको भवन संरक्षण गर्न, आवश्यक मर्मतसम्भार गर्न तथा सर्वपक्षीय भेला बोलाई अस्पताल पुनः सञ्चालनको स्पष्ट योजना बनाउन प्रशासनसँग माग गरिएको छ। साथै अस्पताल सञ्चालनका लागि आफूहरू सहयोगी भूमिकामा रहने प्रतिबद्धता पनि अभियानले व्यक्त गरेको छ।
स्थानीय बासिन्दाले पनि सुविधासम्पन्न भवन र पर्याप्त पूर्वाधार हुँदाहुँदै अस्पताल सञ्चालनमा नआउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। अस्पताल पुनः सञ्चालन भए दाङसहित आसपासका जिल्लाका बालबालिकाले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास स्थानीयको छ।





