भेरीगंगा उपत्यका नमुना नयाँ शहरको विस्तृत गुरुयोजना तथा डीपीआरबारे नगरस्तरीय दोस्रो छलफल सम्पन्न
सुर्खेत ,२४ माघ।
भेरीगंगा उपत्यकालाई नमुना नयाँ शहरका रूपमा विकास गर्ने लक्ष्यसहित तयार हुँदै गरेको विस्तृत गुरुयोजना (मास्टर प्लान) तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तर्जुमा प्रक्रियाअन्तर्गत नगरस्तरीय दोस्रो चरणको समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वडास्तरमा संकलन गरिएका सूचना, तथ्यांक तथा सम्भावनाको समग्र समीक्षा गर्दै योजनाहरूको छनोट, तहगत वर्गीकरण र समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो। यसैगरी, भेरीगंगा उपत्यकाको भौतिक, आर्थिक र सामाजिक अवस्थालाई आधार मानेर नमुना शहर विकासका प्राथमिकता निर्धारण गर्ने विषयमा सहभागीहरूबीच विचार–विमर्श भएको छ।
कार्यक्रममा नगरप्रमुख र उपप्रमुखसहित नगरपालिकाका १४ वटै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुख, सरोकारवाला निकायका प्रतिनिधि तथा कन्सल्टेन्सी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै यातायातविज्ञ र अर्थविज्ञहरूको समेत सहभागिता रहेको कार्यक्रममा उनीहरूले गुरुयोजना तथा डीपीआर निर्माणमा अपनाउनुपर्ने प्राविधिक, आर्थिक र दीर्घकालीन दृष्टिकोणबारे सुझाव प्रस्तुत गरेका थिए।

वक्ताहरूले वडास्तरबाट आएका तथ्यांक र स्थानीय आवश्यकतालाई आधार बनाएर योजनाको प्राथमिकता तय गर्नुपर्ने, दिगो शहरी विकास, व्यवस्थित यातायात, आर्थिक गतिविधि प्रवर्द्धन र वातावरणीय सन्तुलनलाई ध्यानमा राखी गुरुयोजना तथा डीपीआर तयार गर्नुपर्नेमा जोड दिएका थिए।
नगरपालिकाले यस नगरस्तरीय दोस्रो चरणको छलफलबाट प्राप्त सुझाव र निष्कर्षलाई समेटेर भेरीगंगा उपत्यका नमुना नयाँ शहरको गुरुयोजना तथा डीपीआरलाई अन्तिम रूप दिने तयारी गरेको जनाएको छ।






