न्याउरीगाड पुल तीन वर्षमा एउटा पिल्लर मात्रै
काली बहादुर परियार
जुम्ला ,१६ चैत ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित न्याउरीगाडमा निर्माणाधीन पक्की सुस्त गतिमा अल्झिएको छ । २०८१ जेठ १३ मा धूमधामका साथ सम्झौता गरिएको यो पुल अहिले तीन वर्ष नपुग्दै अलपत्र आयोजना बन्ने बाटोमा पुगेको छ ।
निर्धारित म्याद २०८३ असार ३० भित्र सक्ने लक्ष्य राखिए पनि हाल सम्मको अवस्था हेर्दा त्यो लक्ष्य केवल कागजीमा देखिएको छ । यत्रो समय बित्दा पनि पुलको दक्षिण तर्फ एउटा मात्र पिल्लर ठडिएको छ भने उत्तरतर्फको पिल्लर अझै फाउन्डेसनमै थन्किएको छ ।
निर्माणको गति यस्तो छ कि स्थानीयले अब यो पुल कहिले बन्छ ? भन्ने प्रश्न सोध्नै छाडेका छन् ।
यो पुल जुम्ला बाट मुगुको राराताल जाने छोटो र महत्वपूर्ण मार्गमा पर्ने भएकाले यसको रणनीतिक महत्व अत्यन्त उच्च छ ।
तर निर्माणमा भएको लापरबाहीका कारण स्थानीयवासी मात्रै होइन, राराताल जाने पर्यटक समेत जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । वर्षायाममा त अवस्था झनै भयावह हुने गरेको स्थानीयको गुनासो छ ।
करिब सात करोड १८ लाख ५४ हजार रुपैयाँ लागत अनुमान गरिएको यो पुल पाँच करोड ५४ लाख ८६ हजार रुपैयाँमा ठेक्का लगाइएको हो । योजना पूर्वाधार विकास कार्यालय जुम्ला मार्फत कार्यान्वयन भइरहेको छ ।
तर जिम्मेवार निकायको कमजोर निगरानीका कारण ठेकेदार कम्पनीले मनपरी ढंगले काम ढिला गरिरहेको आरोप उठ्न थालेको छ । पुल निर्माणको जिम्मा लिएको एमएस/एनसी एमएनएसजेएनएस जेभी काठमाडौँ र स्थानीय निर्माण व्यवसायी तुल्सी रावतमाथि पनि प्रश्न उठ्न थालेका छन् ।
कामको प्रगति हेर्दा निर्माण पक्ष गम्भीर नभएको स्पष्ट देखिन्छ । कार्यालयका सिनियर डिभिजनल अधिकृत रूपक रावल स्वयंले पनि ढिलाइ भएको स्वीकार गरेका छन् ।
उनले जाडो मौसम, बरफ जम्ने समस्या र वर्षायाममा नदीमा पानी बढ्ने जस्ता कारण देखाउँदै ढिलाइ भएको बताएका छन् । तर यस्ता बहाना वर्षेनि दोहोरिँदा स्थानीयले अब विश्वास गर्न छाडेका छन् ।
हिउँदमा चिसो, वर्षामा पानी अनि काम कहिले गर्ने ? भन्ने प्रश्न स्थानीयको छ । उनीहरूका अनुसार प्राकृतिक कारण देखाएर वर्षौं सम्म काम लम्ब्याउनु जिम्मेवारीबाट पन्छिनु मात्र हो ।
यदि यस्तै सुस्त र गैरजिम्मेवार शैली कायम रहने हो भने न्याउरीगाड पुल अर्को अधूरो सपना बन्ने निश्चितजस्तै देखिएको छ । सम्बन्धित निकायले अब कडा कदम चालेर निर्माण कार्यलाई गति नदिए, विकासको नाममा जनतालाई फेरि पनि ठगिने जोखिम उच्च छ ।






