सम्पादकीय : पर्यटन पूर्वाधार समृद्धिको भरपर्दो आधार

कैलालीको चिसापानी पुग्दा कर्णाली नदीको विशाल बहाव, नदीमाथि उभिएको आकर्षक झोलुङ्गे पुल र वरिपरिको हरियालीले जो–कोहीलाई रोकिएर हेर्न बाध्य बनाउँछ । प्रकृतिले सिंगारेको यो भूभाग वर्षौंदेखि यात्रुहरूलाई लोभ्याउँदै आएको छ । तर, प्राकृतिक सुन्दरताले मात्र समृद्धि ल्याउँदैन । त्यसलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने पूर्वाधार निर्माण हुनुपर्छ । अहिले निर्माणाधीन जालपादेवी केबलकार परियोजनाले यही अपेक्षालाई नयाँ आधार दिएको छ । नेपालमा पर्यटनको चर्चा धेरै हुने गरेको छ, तर पर्यटकलाई गन्तव्यमा पुगेर लामो समय बस्ने वातावरण बनाउने पूर्वाधार भने अझै अपर्याप्त छन् । सडक, होटल, मनोरञ्जनका संरचना, धार्मिक तथा साहसिक गतिविधि र स्थानीय उत्पादनसँग जोडिएको पर्यटन विकास हुन सके मात्र त्यसको लाभ आम नागरिकसम्म पुग्छ । चिसापानी–राजकाँडा क्षेत्रमा निर्माण भइरहेको केबलकार, होटल, स्काइवाक, पदमार्ग र अन्य संरचनाले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुनेमा आशा जगाएको छ ।
पर्यटन पूर्वाधारको सबैभन्दा ठूलो प्रभाव रोजगारीमा देखिन्छ । परियोजना निर्माणकै क्रममा सयौँले काम पाउँछन् भने सञ्चालनपछि होटल, यातायात, कृषि, हस्तकला, होमस्टे, रेष्टुरेन्ट र सेवा क्षेत्रमा हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने सम्भावना रहन्छ । स्थानीय किसानले उत्पादन गरेको तरकारी, फलफूल, दुग्धजन्य वस्तु र परम्परागत परिकारले बजार पाउँछन् । युवाले रोजगारी खोज्दै विदेशिनुपर्ने बाध्यता केही हदसम्म कम गर्न पनि यस्ता परियोजनाले सहयोग पुर्याउन सक्छन् । स्थानीय अर्थतन्त्र चलायमान बनाउन पर्यटकको बसाइँ लम्बिनु आवश्यक हुन्छ । अहिले चिसापानी पुग्ने धेरैजसो आन्तरिक पर्यटक केही घण्टामै फर्किन्छन् । तर, केबलकारसँगै धार्मिक, साहसिक र प्राकृतिक पर्यटनलाई एउटै परिपथमा जोड्न सकिए पर्यटकको बसाइ बढ्नेछ । त्यसले स्थानीय बजारमा खर्च बढाउनेछ र आर्थिक गतिविधि विस्तार हुनेछ । कर्णाली नदीमा जलपर्यटन, बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गल सफारी, राजकाँडाको शीतल वातावरण तथा जालपादेवी मन्दिरलाई एकीकृत पर्यटन प्याकेजका रूपमा विकास गर्न सके यस क्षेत्रले राष्ट्रिय मात्र होइन, भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सक्छ ।
नेपालको समृद्धि राजधानी वा केही सीमित सहरको विकासबाट मात्र सम्भव छैन । सम्भावना भएका क्षेत्रमै लगानी पुग्नुपर्छ । निजी क्षेत्रको यति ठूलो लगानीले अन्य लगानीकर्तालाई पनि नयाँ गन्तव्य खोज्न प्रेरित गर्नेछ । तर, पूर्वाधार निर्माणसँगै वातावरण संरक्षण, स्थानीय समुदायको सहभागिता, सेवा–सुविधाको गुणस्तर र प्रभावकारी प्रचारप्रसारमा पनि उत्तिकै ध्यान दिनुपर्छ । स्थानीयवासीले परियोजनालाई आफ्नै सम्पत्तिका रूपमा अपनाउन सके मात्र यसको दीर्घकालीन लाभ सुनिश्चित हुन्छ । प्राकृतिक सम्पदा नेपालको सबैभन्दा ठूलो पुँजी हो । त्यसलाई उपयोग गर्ने माध्यम पर्यटन पूर्वाधार हो । जालपादेवी केबलकार जस्ता योजनाले कर्णाली किनारको सौन्दर्यलाई आम्दानीमा रूपान्तरण गर्ने सम्भावना देखाएका छन् । जो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश धेरै क्षेत्रहरुमा विकास गर्न सकिन्छ । यस्ता परियोजनालाई सफल बनाउन राज्य, निजी क्षेत्र र स्थानीय समुदायबीच बलियो सहकार्य हुन सके पर्यटन रोजगारी सिर्जनाको माध्यम मात्र होइन, स्थानीय अर्थतन्त्रको पुनर्जागरण र समग्र राष्ट्रको समृद्धिको भरपर्दो आधार बन्न सक्छ ।






