“कालिकोट नक्साबाट होइन, जीवनबाट चिन्छु” — एमाले उम्मेदवार नगेन्द्र शाही (नेश्नल)

हस्त चाैलागाँई

कालिकोट ,१३ माघ।
नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगेन्द्र शाही (नेश्नल) ले कालिकोटवासीसँग मत माग्दै आफ्नो राजनीतिक प्रतिबद्धता, अनुभव र दृष्टिकोण सार्वजनिक गरेका छन्। उनले आफूलाई केवल चुनावी उम्मेदवार होइन, कालिकोटको दुःख–सुखसँग जोडिएको सहयात्रीका रूपमा प्रस्तुत गरेका छन्।
शाहीले कालिकोटलाई कागजी तथ्यांक वा नक्साबाट होइन, जीवनका भोगाइबाट चिनेको दाबी गरेका छन्। “यस जिल्लाका दुःख, अभाव, संघर्ष र सम्भावना मेरा अध्ययनका विषय होइनन्—यी सबै मेरा आफ्नै अनुभव हुन्,” उनले भनेका छन्, “त्यसैले मेरो राजनीति आवेगबाट होइन, जिम्मेवारीबाट निर्देशित छ।”
उनले चुनावी समयमा मात्र देखिने नेताभन्दा निरन्तर साथ दिने नेतृत्वमा विश्वास रहेको बताएका छन्। आफूले अहिलेसम्म गरेका कामहरू मत प्राप्तिका लागि नभई कालिकोटको हक, सम्मान र पहिचानका लागि भएको स्पष्ट पारेका छन्। “मतका लागि होइन, अधिकारका लागि उभिएको छु,” उनको भनाइ छ।
शाहीले समस्या प्रस्तुत गरेर मात्र सीमित नहुने, समाधान कार्यान्वयनमा केन्द्रित नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्। सडक, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषय भावनात्मक नारा नभई स्पष्ट योजना, इमानदार कार्यान्वयन र निरन्तर अनुगमनबाट मात्र सम्भव हुने उनको तर्क छ।
आफू आश्वासन बाँड्ने नेता नभई उत्तरदायित्व लिने सहयात्री भएको उल्लेख गर्दै उनले भनेका छन्, “मत लिएर टाढा हुने होइन, मत दिएपछि अझ नजिक हुने—जनतासँगै जिम्मेवारी बोक्ने अभ्यास नै मेरो राजनीति हो।” आज यहाँसम्म आइपुग्नुमा जिल्लाबासीको विश्वास नै मुख्य कारण भएको उनको विश्वास छ।
२७ वर्ष लामो राजनीतिक यात्रामा कुनै पनि नैतिक, आर्थिक वा सांस्कृतिक आरोप नलाग्नु नै आफ्नो प्रतिबद्धताको प्रमाण भएको शाहीको दाबी छ। “मेरो उद्देश्य पद होइन, कालिकोटको सुरक्षित भोलि हो,” उनले स्पष्ट पारेका छन्।
कालिकोटको समग्र विकास, पहिचान र भविष्यका लागि इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै शाहीले आगामी निर्वाचनमा आफूलाई विश्वास गर्न जिल्लाबासीसँग आग्रह गरेका छन्।

“कालिकोट नक्साबाट होइन, जीवनबाट चिन्छु” — एमाले उम्मेदवार नगेन्द्र शाही (नेश्नल)

सम्पादकीय : मानवमैत्री वन्यजन्तु संरक्षणको नीति लेऊ

This will close in 0 seconds