सम्पादकीय : मानवमैत्री वन्यजन्तु संरक्षणको नीति लेऊ !

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जका नरभक्षी बाघले निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयको ज्यानै लिन थालेका छन् । गएको पुस अन्तिम साता सुर्खेत र सल्यान जिल्लाका निकुञ्जसँग जोडिएका बस्तीमा पसेर बाघले तीन जनाको ज्यान लिएको छ । लगातार घटेका यी घटनाले बाघको आक्रमण संयोग होइन, गम्भीर समस्या बनिसकेको संकेत गर्छ । जसले संरक्षणका नाममा बाघको संख्या बढ्दै जाने तर व्यवस्थापनमा राज्यले ध्यान नपुर्याउने हो भने निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव अस्तित्व संकटमा पर्ने खतरा बढाएको छ । घटनामा संलग्न हिंसक बाघ अझै नियन्त्रणमा नआएकाले स्थानीय नागरिकले विद्यालय जाने बालबालिका, घाँस–दाउरा संकलन, मेलापात तथा दैनिक आवतजावतमा समेत असहज अवस्था सिर्जना भएको गुनासो गर्दै आएका छन् ।
संरक्षणमा स्थानीय बाधक नभएपनि यसै गरी आतंक बढ्ने हो भने निकुञ्ज र मध्यवर्ती क्षेत्रका नागरिकबीको दुरी बढ्दै जाने चिन्ता थपिएको छ । कहिले गाईवस्तु, कहिले मानिस—यहाँ बाघको आक्रमण अनौठो घटना होइन, दोहोरिरहने पीडा हो ।
मान्छेमाथी जाइलाग्ने नरभक्षी बाघलाई नियन्त्रण्मा लिन निकुञ्जको टोली घटनास्थलमा परिचालन भएपनि हालसम्म नियन्त्रणमा आइसकेका छैन । बाघलाई डार्ट गरेर नियन्त्रणमा लिन घटनास्थल आसपास ड्रोन प्रविधिबाटसमेत निगरानी गरिएको भएपनि सफलता हात पर्न नसकेको दावी निकुञ्जको छ । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा अवस्थित सुर्खेतका दुई पालिकाका भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका सात वडा मध्यवर्ती क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा यसअघि बाघले तीन जनाको ज्यान लगिसकेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्यांकलाई केलाउने हो भने विगत ३० वर्षको अवधिमा बाघको आक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन् । बाघको आक्रमणबाट घाइते हुनेको कुनै लेखाजोखा छैन । सन् २०२२ को तथ्यांक अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ वटा बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गतको सुर्खेत मध्यवर्ती क्षेत्रको आर्थिक वर्ष २०७५–७६ को घरधुरी र जनसंख्या विवरण अनुसार भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाको दक्षिण क्षेत्रमा एक हजार आठ सय ३३ घर धुरीमा नौ हजार नौ सय २५ जनसंख्या छ ।
यो जनसंख्या कुनै न कुनै कारणबाट जंगली जनावरको आतंक व्यहोर्न बाध्य छ । बाघले मान्छे मार्ने मात्र होइन यी क्षेत्रमा पछिल्लो समय जंगली जनावरकै कारण प्रमुख खाद्यबालीहरु गहँु, मकै, धान, आलु, पिडालु, अदुवा खेती र पशुपालन झण्डै विस्थापनको संघारमा पुगेका छन् । यो आफैमा डर लाग्दो संकेत हो । बर्दिया राष्ट्रिय निकुञ्जले वास्तविकरुपमा कति बाघको संख्या थेग्न सक्छ भन्ने विषयमा हालसम्म पनि वैज्ञानिक अध्ययन हुन सकेको छैन । यसतर्फ राज्यले बेलैमा नीतिगत सुधार गरेर अघि बढ्न जरुरी छ । बाघ लगायत हिंस्रक जनावरको संख्या व्यवस्थापन वनको क्षमता अनुसार क्षेत्रफल, आहार र बस्तीको दुरीका आधारमा गुर्नपर्छ । निकुञ्ज सीमामा सुरक्षित तारवार, बलियो पूर्वाधारसहित नियमित गस्ती तथा चेतावनी प्रणाली (साइरन सूचना) तत्काल जडान गर्न निकुञ्जले बिलम्ब गर्नु हुँदैन । बालीनाली तथा अन्य क्षतिको हकमा राहत लिने प्रणालीलाई सरलिकृत गरिनु पर्दछ । मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट बालिनालीमा भइरहेको क्षति रोक्न स्थानीयलाई जनावरले मन नपराउने वैकल्पिक खेतीतर्फ अग्रसर गराउनु पर्दछ । अर्को महत्वपूर्ण विषय नेपालका निकुञ्ज तथा वन सम्बन्धीका कानुनहरू वातावरण र मानवमैत्री हुने गरी संशोधन हुनुपर्दछ ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सम्बन्धित निकाय गम्भीर नबने नागरिकहरु संरक्षण विरोधी गतिविधिमा संलग्न हुने खतराप्रति राज्यले एक रत्तिपनि नजरअन्दाज गर्न हुँदैन । निकुञ्ज आसपासका स्थानीयहरुले पनि घास दाउरा ल्याउन जंगल जाँदा विशेष सतर्कता अपनाउन जरुरी छ ।






