बिचौलियामुक्त राहदानी सेवा : बर्दियामा आधा घण्टामै सेवा

बर्दिया, ९ साउन ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले राहदानी सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र पूर्ण रूपमा बिचौलियामुक्त बनाउँदै सेवाग्राहीले सहज, छिटोछरितो र झन्झटरहित सेवा पाउन थालेको जनाएको छ । कार्यालयले अपनाएको शून्य सहनशीलता नीति, प्रविधिको प्रयोग तथा सेवामैत्री व्यवस्थापनका कारण सेवाग्राहीले प्रत्यक्ष रूपमा लाभ लिन थालेका छन् ।

कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ७ हजार ८ सय ८४ वटा राहदानी वितरण गरिएको छ । तीमध्ये ५ हजार ७ सय ३ जना पुरुष, २ हजार ८८ जना महिला तथा ९३ जना नाबालकलाई राहदानी सेवा प्रदान गरिएको हो ।  अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ७ सय ९७ र आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ५ सय ४५ वटा राहदानी वितरण गरिएको उनले जानकारी दिए ।

हाल कार्यालयमा दैनिक औसत ५० देखि ५५ जना सेवाग्राही राहदानीका लागि आवेदन दिन आउने गरेका छन् । केही दिनअघि राहदानी विभागले नयाँ प्रणाली अद्यावधिक गर्दा ५ देखि ७ दिन सेवा प्रभावित भएकाले केही भिड बढे पनि अहिले सेवा नियमित रूपमा सञ्चालन भइरहेको ढकालले बताए ।

उनका अनुसार अनलाइन फाराम र भौचर सही ढंगले तयार भएको अवस्थामा कुनै प्राविधिक समस्या नआए करिब ३० मिनेटभित्रै राहदानीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा हुने व्यवस्था गरिएको छ ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै अनलाइन फाराममा भएका सामान्य त्रुटि कार्यालयमै सच्याउन सकिने व्यवस्था गरिएको छ । साथै बैंकमा धाउनुपर्ने झन्झट हटाउन कार्यालय परिसरमै नेपाल रेडक्रस सोसाइटीमार्फत भौचर भर्ने सुविधा उपलब्ध गराइएको छ । राहदानी बनाउने क्रममा कुनै समस्या आएमा ह्वाट्सएप समूहमार्फत राहदानी विभागसँग तत्काल समन्वय गरी समाधान गर्ने व्यवस्था पनि मिलाइएको कार्यालयले जनाएको छ ।

त्यसैगरी सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत राहदानी बनाउन आउने सेवाग्राहीलाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श, ठगीबाट जोगिने उपाय तथा आधिकारिक माध्यमबाट मात्रै रकम भुक्तानी गर्नुपर्ने विषयमा नियमित रूपमा सचेतना प्रदान गरिँदै आएको छ ।

कार्यालयले बिचौलियाको प्रवेशमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ । कुनै समस्या परे सेवाग्राहीले सम्बन्धित कर्मचारी, सहायक प्रमुख जिल्ला अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष सम्पर्क गरी तत्काल समाधान पाउने व्यवस्था मिलाइएको छ ।

गुलरिया–६ का सेवाग्राही रामप्रसाद थारूले पहिले राहदानी बनाउन धेरै झन्झट हुने सुनिए पनि अहिले कार्यालयमै आवश्यक जानकारी पाएर छोटो समयमै काम सम्पन्न भएको बताए । “कुनै बिचौलियाको खोजी गर्नुपरेन, कर्मचारीले नै आवश्यक सहयोग गरे । छिटो सेवा पाएपछि निकै सहज महसुस भयो,” उनले भने ।

त्यस्तै बारबर्दिया नगरपालिका–४ की सरिता चौधरीले प्रविधिमैत्री सेवा र कर्मचारीको सहयोगी व्यवहारका कारण राहदानी बनाउन सजिलो भएको बताए । “अनलाइन फाराममा भएको सामान्य गल्ती पनि कार्यालयमै सच्याइदिए । बैंक धाउनुपरेन, सबै प्रक्रिया एउटै ठाउँबाट पूरा भयो। बिचौलियामुक्त वातावरण भएकाले ढुक्क भएर सेवा लिन पाइयो,” उनले बताए ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले सेवाप्रवाहलाई अझ सरल, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ प्रविधिको अधिकतम प्रयोग, बिचौलियामाथीको कडाइ र सेवाग्राही मैत्री व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ ।

बिचौलियामुक्त राहदानी सेवा : बर्दियामा आधा घण्टामै सेवा

विद्यार्थीलाई शैक्षिक सामग्री र स्कुल ब्याग वितरण

बिचौलियामुक्त राहदानी सेवा : बर्दियामा आधा घण्टामै सेवा

सुर्खेतमा खाद्य प्रविधि कार्यालयको समीक्षा 

Leave a comment

Your email address will not be published. Required fields are marked *