सुर्खेतमा खाद्य प्रविधि कार्यालयको समीक्षा 

सुर्खेत, ९ साउन ।⁠

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगरस्थित कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यहरू, बजेट खर्च तथा भावी रणनीतिका बारेमा विस्तृत समीक्षा गरिएको हो ।

गोष्ठीमा कार्यालयले भोग्नुपरेको चरम जनशक्ति अभाव र भौगोलिक कार्यक्षेत्रको चुनौतीका विषयमा समेत गम्भीर छलफल भएको छ । कार्यालयका अनुसार २१ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको भए तापनि हाल स्थायी तर्फ केवल १२ जना मात्र कार्यरत रहेका छन् । 

कार्यालयमा करारका १ कर्मचारी सहित बल्लतल्ल १३ जनाको जनशक्ति जुटाइएको भए पनि दरबन्दी अनुसारका प्राविधिक कर्मचारी नहुँदा दैनिक कार्यसम्पादन र बजार अनुगमनमा ठूलो कठिनाइ भइरहेको कार्यालयले जनाएको छ। त्यति मात्र नभएर, सीमित स्रोत साधन र थोरै जनशक्तिका बाबजुद यस सुर्खेत कार्यालयले कर्णाली प्रदेशका ७ वटा जिल्लाहरू हेर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख श्रीराम न्यौपानेको भनाई छ ।

विस्तृत भौगोलिक क्षेत्र र विकटताका कारण सबै क्षेत्रमा सघन रूपमा पुग्न निकै चुनौतीपूर्ण बनेको कुरा समीक्षामा उठाइएको छ । चुनौतीका बीच पनि कार्यालयले बजार अनुगमनका क्रममा बरामद गरी नष्ट गरेका अखाद्य वस्तुहरूको विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षमा बजारबाट मापदण्ड विपरीतका कुल ७ लाख ८८ हजार ४८ रुपैयाँ बराबरको अखाद्य पदार्थ जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ । नष्ट गरिएका वस्तुहरूमध्ये सबैभन्दा बढी ४ लाख १२ हजार ८९ रुपैयाँ बराबरको खाद्यान्न, दलहन र सोबाट बनेका पदार्थहरू रहेका छन् । यसैगरी १ लाख ६७ हजार ३०३ रुपैयाँ बराबरका अन्य विविध विधाका सामग्री, १ लाख ५ हजार ४५१ रुपैयाँको कन्फेक्सनरी सामान, ४६ हजार २९५ रुपैयाँको फलफूल तथा सागपात र २६ हजार ३६५ रुपैयाँ बराबरको विभिन्न मसलाजन्य वस्तु नष्ट गरिएको छ । 

अनुगमनका क्रममा १४ हजार ७३५ रुपैयाँको चिया तथा कफी, ७ हजार ८६० रुपैयाँको गुलियो पदार्थ, ४ हजार २८० रुपैयाँको तेल तथा घ्यूजन्य पदार्थ र ३ हजार ४०० रुपैयाँको मासुजन्य पदार्थ समेत नष्ट गरिएको छ भने दुग्धजन्य पदार्थ ३०० रुपैयाँ बराबरको नष्ट गरिएको छ । प्रशोधित पिउने पानी, नुन र दाना समूहमा भने कुनै पनि पदार्थ नष्ट गर्नु नपरेको कार्यालयका कर्मचारी सन्तोष दाहालले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै कार्यालयले सो अवधिमा हाँसिल गरेको वित्तीय प्रगति विवरण समेत सार्वजनिक गरेको छ । गत आर्थिक वर्षका लागि कुल २५२.८६ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म १७५.०७ लाख रुपैयाँ खर्च भएको छ । यस अनुसार कार्यालयको कुल वित्तीय प्रगति ६९.२४ प्रतिशत र कुल भारित प्रगति ७१.९७ प्रतिशत कायम भएको देखिन्छ ।

त्यसैगरी समीक्षा अवधिमा कार्यालयले खाद्य तथा दाना उद्योग, बजार, होटल, रेस्टुरेन्ट र मिठाई पसलहरूको नियमित निरीक्षण गर्नुका साथै गुणस्तरसम्बन्धी गुनासोको तत्काल सम्बोधन गरेको जनाएको छ । उद्योग स्थापनाका लागि सिफारिस, नयाँ अनुज्ञापत्र जारी तथा नवीकरण र खाद्य पदार्थको प्रयोगशाला विश्लेषण सेवा जस्ता मुख्य कार्यहरू चुस्त रूपमा प्रवाह गरिएको विवरण गोष्ठीमा प्रस्तुत गरियो । 

कार्यक्रमका प्रमुख अतिथि एवं सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जनशक्ति र कार्यक्षेत्रको अभाव र दबाबका बीच पनि कार्यालयले गरेको कार्यप्रगति प्रशंसनीय रहेको बताए । उनले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने मिसावट र कालोबजारी रोक्न बजार अनुगमनलाई अझै तीव्र र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

उनले बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा र अखाद्य वस्तुको बिक्री वितरण नियन्त्रणका लागि स्थानीय प्रशासनले खाद्य प्रविधि कार्यालयसँग पूर्ण सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, खाद्य निरीक्षक र सरोकारवाला कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सुर्खेतमा खाद्य प्रविधि कार्यालयको समीक्षा 

बिचौलियामुक्त राहदानी सेवा : बर्दियामा आधा घण्टामै

सुर्खेतमा खाद्य प्रविधि कार्यालयको समीक्षा 

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

Leave a comment

Your email address will not be published. Required fields are marked *