वीरेन्द्रनगरमा विपद् जोखिम न्यूनीकरण तथा सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि “कृषिम घटना अभ्यास” सम्पन्न

सुर्खेत,९ जेठ।
विपद् जोखिम न्यूनीकरण तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वीरेन्द्रनगर नगरपालिका–११, पिपिरा चोक, सुर्खेतमा “कृषिम घटना अभ्यास” कार्यक्रम सम्पन्न गरिएको छ। युरोपेली संघ मानवीय सहायता (इको) को सहयोगमा युएनडीपीको नेतृत्वमा युएनडीपी, युनीसेफ, युएन वुमन, ह्यान्डीक्याप इन्टरनेशनल र सुन्दर नेपाल संस्था रहेको कन्सोर्टियमद्वारा सञ्चालन भइरहेको शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर–२) ले कृत्रिम घटना अभ्यास गरेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यलय,सुर्खेत र वीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गर्दै सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम अन्तर्गत सडक दुर्घटना, उद्धार तथा ट्राफिक प्रहरी, नगर प्रहरी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वयंसेवक तथा स्थानीय समुदायको सहभागिताको भूमिकाबारे घटना अभ्यास प्रस्तुत गरिएको थियो। सडक दुर्घटना घटनामा तत्काल उद्धार तथा प्रतिकार्य क्षमतालाई प्रभावकारी बनाउने उद्देश्यले अभ्यास गरिएको जनाएको छ ।

कार्यक्रममा युएनडीपी, युनीसेफ, युएन वुमन, ह्यान्डीक्याप इन्टरनेशनल र सुन्दर नेपाल संस्था,ट्राफिक प्रहरी, नगर प्रहरी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, विपद स्वयंसेवक तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। कार्यक्रममा सडक दुर्घटना पछिको अवस्थालाई कृत्रिम रूपमा प्रस्तुत गर्दै नमुना कृषिम घटना अभ्यास गरिएको थियो। अभ्यासका सडक दुर्घटना को दृश्य सिर्जना गरी लापरवाही तरिका र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटना, घाइतेको उद्धार, भीड व्यवस्थापन तथा कानुनी प्रक्रियाका विषयमा सचेतनामूलक सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा “सुरक्षित सडक, सुरक्षित जीवन”, “ट्राफिक नियम पालनागरौँ” तथा “मादक पदार्थ सेवन गरेर सवारी नचलाऔँ” भन्ने सन्देश दिइएको थियो।

सुन्दर नेपाल संस्थाका अध्यक्ष माया सापकोटाले कार्यक्रमले सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा दुर्घटना न्यूनीकरणमा समुदायको सहभागिता बढाउन सहयोग पुग्ने जानकारी दिइन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले भन्नुभयो “हालका जल्दाबल्दा विपद तथा समस्यामध्ये सडक दुर्घटना एक प्रमुख चुनौतीको रूपमा देखा परेको छ। नेपालमा हुने दुर्घटनाको तथ्यांक अनुसार हरेक दिन औसतमा ७ जनाले ज्यान गुमाइरहेका छन्। यसले सडक सुरक्षाको अवस्था निकै गम्भीर रहेको देखाउँछ। त्यसैले नागरिकमा अनुशासनको भावना विकास हुनु अत्यन्त आवश्यक छ, विशेषगरी सडक अनुशासन र ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने आवश्यकता अझ बढी महसुस भएको छ। सबैले जिम्मेवार भएर सवारी सञ्चालन गर्ने र ट्राफिक नियमको पालना गर्ने हो भने धेरै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।”







