एचआईभी संक्रमित माथिको फाञ्छना अन्त्य गर्न जुम्लामा सरोकारवालाको साझा प्रतिबद्धता

काली बहादुर परियार
जुम्ला ,९ जेठ ।
समाजमा अझै पनि एचआईभी संक्रमित व्यक्तिमाथि हुने फाञ्छना, विभेदपुर्ण व्यवहार अन्त्य गर्न जुम्लामा जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी तथा विभिन्न सरोकारवाला निकाय बीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले एचआईभी संक्रमितलाई रोग भन्दा पनि समाजको व्यवहारले बढी पीडा दिएको उल्लेख गर्दै मानवता र सम्मान सहितको व्यवहार गर्न सबैलाई आग्रह गरेका छन् ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले एचआईभी संक्रमित व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको बताए । उनका अनुसार, रोग लाग्नु अपराध होइन, तर समाजले गर्ने अपमान र विभेदले संक्रमितहरू भित्रभित्रै मर्न बाध्य भएकाे बताए ।
प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले एचआईभी संक्रमित व्यक्तिको गोपनीयता र मानवअधिकारको संरक्षण राज्यको दायित्व भएको बताए ।
उनले संक्रमितहरूलाई सामाजिक रूपमा बहिष्कृत गर्ने, अपमान गर्ने वा सेवाबाट वञ्चित गर्ने कार्य कानुनी रूपमा समेत गलत भएको स्पष्ट पारे । हामीले संक्रमितलाई टाढा होइन, साथ दिनुपर्ने बताए ।
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज जैशीले एचआईभी बारे अझै गाउँबस्तीमा गलत धारणा रहेको उल्लेख गर्दै जनस्तरमा सही सूचना प्रवाह आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले सचेतनामूलक र बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले एचआईभी संक्रमित व्यक्ति माथि हुने कुनै पनि प्रकारको दुर्व्यवहार सह्य नहुने बताए ।
उनले सुरक्षाकर्मीहरूलाई समेत मानवअधिकार र संवेदनशील व्यवहारबारे प्रशिक्षण आवश्यक रहेको उल्लेख गर्दै प्रहरी संगठन पीडितको पक्षमा उभिने बताए ।
त्यसैगरी जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले जुम्लामा एचआईभी संक्रमितहरूको उपचार तथा परामर्श सेवामा अझै चुनौती रहेको बताए ।
उनले जुम्ला संघीय अस्पतालमा रहेको ईआरटी सेन्टरलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे । संक्रमितहरूले सहज रूपमा परीक्षण, औषधि र परामर्श सेवा पाउनुपर्ने बताए ।
उपचारभन्दा पनि उनीहरूलाई आत्मबल दिने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेकाे प्रमुख शर्माको भनाइ छ ।
कार्यक्रममा सहभागी पत्रकारहरूले सञ्चारमाध्यमले एचआईभी संक्रमितको पहिचान गोप्य राख्दै जिम्मेवार समाचार सम्प्रेषण गर्नुपर्ने बताएका थिए । साथै जनप्रतिनिधिहरूले गाउँगाउँमा सचेतना अभियान सञ्चालन गरी समाजमा रहेको भ्रम र डर हटाउनुपर्नेमा जोड दिएका छन् ।






