हावाहुरीले ध्वस्त बनायो तिलाकाे ज्योति मावि राँसामालापानी

गाेल्डेन बुढा
जुम्ला,९ जेठ ।
शुक्रबार राति करिब ८ बजे जुम्लाको तिला गाउँपालिका–९ स्थित ज्योति माध्यमिक विद्यालय राँसामालापानीमा आएको भीषण हावाहुरीले एउटा विद्यालय मात्रै भत्काएन, त्यसले एउटा दुर्गम गाउँले वर्षौँदेखि बोकेको उज्यालो भविष्यको सपना नै चकनाचुर बनाइदियो।केही क्षणमै आएको आँधीले विद्यालय भवनका छाना उडायो, काठका संरचना ढाल्यो, कक्षाकोठा तहसनहस बनायो र पठनपाठनका सामग्री भग्नावशेषमा परिणत गरिदियो। विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्णरूपमा नष्ट भएपछि विद्यालय अहिले अन्धकारको बीचमा उभिएको छ।हिजोसम्म बालबालिकाको हाँसो, प्रार्थना र पढाइको आवाजले गुञ्जिने विद्यालय परिसर अहिले च्यातिएका जस्तापाता, ढलेका काठ र सन्नाटाले भरिएको छ। जहाँ शिक्षकले भविष्य देख्थे, अभिभावकले आशा देख्थे र विद्यार्थीले सपना देख्थे, त्यही ठाउँ अहिले विपत्तिको पीडादायी स्मृतिमा बदलिएको छ। स्थानीय हरिबहादुर थापाका अनुसार यो विद्यालय पढ्ने ठाउँ मात्रै थिएन, गाउँको आशा थियो। दुर्गम बस्तीमा अभावसँग संघर्ष गर्दै आफ्ना छोराछोरीलाई पढाउन खोज्ने अभिभावकका लागि ज्योति मावि उज्यालो भविष्यको भरोसा बनेको थियो। तर, प्राकृतिक विपत्तिले त्यो भरोसामाथि नै निर्मम प्रहार गरेको छ।प्रधानाध्यापक मोतिराम बुढाका अनुसार हावाहुरीपछि विद्यालय परिसर हेर्न सकिने अवस्थामा छैन। “केही दिनअघिसम्म यही आँगनमा बालबालिका हाँसिरहेका थिए, पढिरहेका थिए।
आज त्यही ठाउँमा पीडाको सन्नाटा छ,” उनले भावुक हुँदै भने।झन्डै ८ देखि १० लाखसम्म क्षति भएको छ।विद्यालयका शिक्षकहरूका अनुसार विपत्तिले भवन मात्रै ढालेको छैन, यसले सयौँ विद्यार्थीको मनोबलसमेत भत्काइदिएको छ। कतिपय विद्यार्थी घटनापछि विद्यालयको अवस्था देखेर रोएका छन्। अभिभावकहरू आफ्ना बालबालिकाको पढाइ अब कसरी अघि बढ्ने भन्ने चिन्तामा छन्।विद्यालयमा रहेको सौर्य ऊर्जा प्रणाली पूर्णरूपमा नष्ट भएपछि पठनपाठन सञ्चालन झन् कठिन बनेको छ। विद्युत पहुँच कमजोर रहेको दुर्गम क्षेत्रमा सौर्य ऊर्जा नै विद्यालयको मुख्य आधार थियो। अहिले त्यो आधार पनि समाप्त भएको छ। अभिभावकहरु भन्छन्, “हामीसँग धेरै स्रोत छैन। तर यही विद्यालयमार्फत छोराछोरीको भविष्य बदलिन्छ भन्ने आशा थियो। आज त्यो आशामाथि नै आँधी चलेको छ।”वर्षौँको संघर्ष, स्थानीयको श्रमदान, अभिभावकको पसिना र समुदायको सहयोगबाट निर्माण गरिएको विद्यालय केही मिनेटको हावाहुरीले भग्नावशेषमा परिणत भएपछि गाउँ नै शोकमा डुबेको छ।घटनापछि विद्यालय व्यवस्थापनले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, विभिन्न संघसंस्था, समाजसेवी तथा देश–विदेशमा रहेका सहयोगी नेपालीहरूसँग विद्यालय पुनर्निर्माण, छाना व्यवस्थापन, फर्निचर तथा सौर्य ऊर्जा पुनःस्थापनाका लागि सहयोगको अपिल गरेको छ।“विद्यालय ढल्नु भनेको एउटा भवन ढल्नु मात्रै होइन, भोलिको पुस्ताको सपनामाथि आँधी चल्नु हो,” विद्यालयले जारी गरेको अपिलमा उल्लेख छ।विद्यालय परिवारले यो कठिन घडीमा सबैको साथ, सहयोग, सहानुभूति र ऐक्यबद्धताले भग्नावशेषबाट फेरि उज्यालो उठ्ने विश्वास व्यक्त गरेको छ।






