कर्णालीको अर्थतन्त्र दुई  खर्ब ७७ अर्ब पुग्ने प्रक्षेपण

ओम शाही

सुर्खेत, ९ जेठ ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेशको कुल अर्थतन्त्रको आकार दुई खर्ब पुग्ने प्रक्षेपण गरेको छ । यो अन्य प्रदेशको तुलनामा निकै आर्थिक वृद्धिदर हो । तथ्यांक अनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा दुई खर्ब ७७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा दुई खर्ब ६३ अर्ब रहने संशोधित अनुमान कार्यालयको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ६६ खर्ब हुने अनुमान गरिएको छ । जसमा बागमती प्रदेशको २४ खर्ब २३ अर्ब (३६.७ प्रतिशत), कोशी प्रदेशको १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनी प्रदेशको नौ खर्ब ३७ अर्ब (१४.२ प्रतिशत), मधेश प्रदेशको आठ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको पाँच खर्ब ९३ अर्ब (९.० प्रतिशत), सुदुरपश्चिम प्रदेशको चार खर्ब ६४ अर्ब (७.० प्रतिशत) र कर्णाली प्रदेशको दुई खर्ब ७७ अर्ब (४.२ प्रतिशत) रहने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । राष्ट्रिय तथ्यांक कार्यालय सुर्खेतले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा अनुमान अनुसार चालु वर्षमा कर्णालीको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा २.९४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ४.२ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा घटेको तथ्यांक हो । आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीले ४.३ प्रतिशत योगदान पुर्‍याउने संशोधित अनुमान थियो । यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा कर्णालीको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर २.९४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो वृद्धिदर ५.२५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः ३१.७ प्रतिशत, ९.९ प्रतिशत र ५८.४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेरसमेत अध्ययन गर्ने गरिन्छ ।

जसअनुसार, आर्थिक वर्ष २०८२/०८३ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वार्षिक वृद्धिदर क्रमशः ३.३ प्रतिशत, २.९ प्रतिशत र २.३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको तथ्यांक कार्यालय सुर्खेतका तथ्यांक समन्वय अधिकारी विनोद आचार्यले बताए ।

उनकाअनुसार आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्रको (३१.५२ प्रतिशत) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन् क्षेत्रको (०.१५ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थानमा (३१.३ प्रतिशत) हुने र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थानमा (०.१६ प्रतिशत) रहने संशोधित अनुमान गरिएको थियो ।

यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेशका औद्योगिक वर्गिकरण अनुसारका सबै आर्थिक क्रियाकलापहरूको कुल मुल्य अभिवृद्धिको वार्षिक वृद्धिदर धनात्मक रहने अनुमान गरिएको छ । कर्णाली प्रदेशमा औद्योगिक वर्गिकरण अनुसार आर्थिक वर्ष २०८२/०८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै वित्तीय तथा बीमाको (६.५ प्रतिशत) र सबैभन्दा थोरै सार्वजनिक प्रशासन तथा रक्षाको (०.०५ प्रतिशत) हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/०८२ मा पनि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै वित्तीय तथा बीमाको (८.४० प्रतिशत) र सबैभन्दा थोरै खानी तथा उत्खननको (१.२६ प्रतिशत) रहने संशोधित अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ ।

कार्यालयका अनुसार राष्ट्रिय स्तरमा धान उत्पादन घट्ने अनुमान गरिएको भएतापनि कर्णाली प्रदेशमा धानको उत्पादन बृद्धि हुने अनुमान गरिएकाले कर्णाली प्रदेशमा कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर राष्ट्रिय औसतभन्दा बढी रहेको देखिन्छ । विद्युतको उपभोग (औद्यिगिक तथा घरायसी) मा भएको वृद्धिले गर्दा विद्युत तथा ग्याँसको बार्षिक वृद्धि हुने अनुमान गरिएको छ ।

त्यस्तै, बैंक तथा वित्तिय संस्थामा निक्षेप संकलन तथा ऋण प्रवाहमा भएको वृद्धिले गर्दा बैंक तथा बीमामा वृद्धि हुने अनुमान गरिएको छ भने, यातायात क्षेत्रको विस्तारका कारण यातायात तथा भण्डारणमा वृद्धि हुने अनुमान तथ्यांक कार्यालयको छ । यस्तै, सरकारी खर्च न्यून रहनाले सार्वजनिक प्रशासन तथा रक्षामा न्युन वृद्धि हुने अनुमान गरिएको छ ।

प्रतिव्यक्ति आय ११ सय डलर पुग्ने अनुमान

तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५ सय १३ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरेको छ भने कर्णाली प्रदेशको ११ सय आठ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरेको छ । यो अघिल्लो वर्षको तुलनामा घटेको तथ्यांक हो ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५ सय १६ अमेरिकी डलर हुने संशोधित अनुमान गरिएको थियो । यस वर्ष कर्णाली प्रदेशको प्रतिव्यक्ति आय ११ सय २१ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको थियो । डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रियस्तरमा आर्थिक वर्ष २०८१/०८२ मा भन्दा आर्थिक वर्ष २०८२/०८३ मा कम हुन गएको जनाइएको छ ।

कर्णालीको अर्थतन्त्र दुई   खर्ब ७७ अर्ब पुग्ने प्रक्षेपण

खुला सीमाको असर :  बर्दियामा वैशाखमै दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *