बालबिवाह न्युनिकरण गर्न हुरेन्डेककाे फट्काे प्रभाकारी बन्दै

हस्त चाैलागाँई
कालिकाेट,९ जेठ।
कालिकाेटका स्थानीय तहमा बालबिवाह लगायत अन्य हानिकारक अभ्यास न्युनिकरण तथा अन्त्य गर्नका लागि मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालकाे पाईलाहरु अग्रसर छन् । विगत लामाे समयदेखी विकास निर्माणका काम देखि कुरीति कुसंस्कारका बिरुद्ध हुरेन्डेक नेपाल लागि परेकाे छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोग, रास्कोट नगरपालिका को समन्वय र मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक-नेपाल) को सहजीकरणमा सञ्चालित “सशक्त बालिका परियोजना (GSS)” अन्तर्गत रास्कोट नगरपालिका वडा नं. ८ मा बालविवाह न्यूनीकरण सम्बन्धी वडा स्तरीय कार्यक्रम सम्पन्न गरिएको छ ।

समाजमा अझै पनि विद्यमान बालविवाहजस्ता कुप्रथालाई अन्त्य गर्दै किशोरीहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, महिला समूह, युवा तथा बालबालिकाको उल्लेख्य सहभागिता रहेको संस्थामा उपाध्यक्ष खडानन्द अधिकारीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धर्मराज शाहीले बालविवाह समाज विकासको प्रमुख बाधकका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनले बालविवाहले किशोरीहरूको शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता र भविष्यमा गम्भीर असर पार्ने भएकाले अभिभावक तथा समुदाय अझै सचेत बन्न आवश्यक रहेको बताएका थिए ।
नगर उप–प्रमुख मनिराज बरालले बालिका सशक्तीकरण नै समुन्नत समाज निर्माणको आधार भएको धारणा राख्दै स्थानीय तहले बालअधिकार संरक्षण र बालविवाह न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए ।
त्यसैगरी हुरेन्डेक–नेपालका अध्यक्ष गौरी कुमारी शाहीले समुदायस्तरमै चेतना अभिवृद्धि नभएसम्म बालविवाह पूर्ण रूपमा अन्त्य गर्न कठिन हुने बताउँदै यस्ता कार्यक्रमले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा स्थानीय कलाकार तथा किशोरी समूहहरूले बालविवाहविरुद्ध सन्देशमूलक देउडा, गीत तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका गीत तथा देउडाले बालविवाहका कारण हुने सामाजिक, मानसिक तथा शैक्षिक समस्यालाई मार्मिक ढंगले उजागर गरेका थिए । कार्यक्रममा सहभागीहरूले सांस्कृतिक माध्यमबाट दिइएको सन्देश प्रभावकारी भएको बताए ।
बालविवाहका कारण किशोरीहरू समयअघि नै जिम्मेवारीको बोझ बोक्न बाध्य हुने, शिक्षा अधुरै छोड्नुपर्ने, स्वास्थ्यमा जटिल समस्या निम्तिने तथा घरेलु हिंसाको जोखिम बढ्ने विषयमा कार्यक्रममा व्यापक छलफल गरिएको थियो । साथै बालबालिकाको हकअधिकार संरक्षण, गुणस्तरीय शिक्षा, लैंगिक समानता तथा सुरक्षित भविष्य निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।
वडा स्तरबाटै बालविवाह न्यूनीकरणका लागि निरन्तर जनचेतना फैलाउने, विद्यालय तथा समुदायमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा किशोरीहरूलाई सशक्त बनाउने अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाइएको थियो ।






